फिफा विश्वकपको इतिहासमै पहिलो पटक फाइनल खेलको मध्यान्तरमा साङ्गीतिक प्रस्तुति समावेश गरिने भएको छ।
स्पेन र अर्जेन्टिनाबीच अमेरिकाको न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा हुने फाइनल खेलको हाफ-टाइममा मडोना, साकिरा, बीटीएस र जस्टिन बिबर जस्ता विश्वप्रसिद्ध कलाकारहरूले प्रस्तुति दिने तय भएको छ।
यस नयाँ शैलीले खेल जगत्मा भने विवाद निम्त्याएको छ। साङ्गीतिक प्रस्तुतिका कारण मध्यान्तरको समय २५ मिनेटसम्म लम्बिनेछ। जबकी अन्तर्राष्ट्रिय फुटबल एसोसिएसन बोर्ड (आईएफएबी) को नियमअनुसार खेलाडीहरूले बढीमा १५ मिनेट मात्र विश्राम पाउनुपर्ने व्यवस्था छ।
लामो विश्रामले खेलाडीहरूको शारीरिक निष्क्रियता बढाउने र चोटपटकको जोखिम निम्त्याउने भन्दै चिन्ता व्यक्त गरिएको छ।
फिफाले यसलाई खेलकुद र सङ्गीतको ऐतिहासिक सङ्गम भनेको छ। लाइभ नेसनका जेम्स म्यासिङले खेलकुदलाई चलचित्र, नाटक वा म्युजियम जस्ता अन्य मनोरञ्जनका विधासँग प्रतिस्पर्धा गर्न साङ्गीतिक प्रस्तुति आवश्यक रहेको तर्क गरेका छन्।
तर, खेल विश्लेषक र फुटबल प्रशंसकहरूले भने फुटबलको मौलिकता हराउने र खेलाडीको सुरक्षा खतरामा पर्ने भन्दै यसको विरोध गरेका छन्।
ब्रिटिश फुटबल सामग्री निर्माता एलिस प्लेटनले भने, ‘विश्वकप फाइनल आफैंमा ऐतिहासिक र सबैभन्दा बढी हेरिने खेल हो, यसलाई थप आकर्षक बनाउन यस्ता कृत्रिम शोहरूको आवश्यकता पर्दैन।’
अमेरिकी खेलकुदमा हाफ-टाइम शो निकै लोकप्रिय रहे पनि युरोप र अन्य क्षेत्रमा यसको स्वीकार्यता सुस्त छ। यसअघि क्लब विश्वकपमा पनि २४ मिनेटको मध्यान्तर गरी कोल्डप्ले जस्ता ब्यान्डले प्रस्तुति दिएका थिए।
आलोचकहरूले भने फिफाको यस व्यावसायिक कदमले आगामी दिनमा घरेलु लिगहरूमा पनि खेलाडीको हित विपरीत यस्ता लामो शोहरू भित्रिन सक्ने डर व्यक्त गरेका छन्।
प्रकाशित: ३ श्रावण २०८३ १९:०९ आइतबार





