पर्यटकको सहजताका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंहचोकसम्म सञ्चालनमा ल्याइएको निःशुल्क सटल बस सेवा बन्द भएको छ। पोखरा महानगरपालिकाले नेपाली नयाँ वर्षको अवसरमा गत वैशाख १ गतेदेखि हवाई यात्रुको सहजताका लागि सञ्चालनमा ल्याएको निःशुल्क सटल बस सेवा तीन महिनामै असार मसान्तबाट बन्द भएको हो।
निःशुल्क सटल बस सेवा बन्द भएपछि पोखरा बस सञ्चालक कम्पनी यातायात प्रालिले सशुल्क ननस्टप बस सेवा सञ्चालनमा ल्याएको छ। तर यो सेवा पनि लामो समय सञ्चालन हुने–नहुने अनिश्चित देखिएको छ।
पोखरा महानगरपालिकाले काठमाडौं महानगर यातायात प्रालिसँगको सहकार्यमा तीन महिनाका लागि सम्झौता गरी निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको थियो। कृषि विकास बैंक र कामना सेवा विकास बैंकसँगको सहकार्यमा तामझामका साथ सुरु गरिएको निःशुल्क बस सेवा असार मसान्तबाट बन्द भएको हो। सम्झौता सकिएसँगै सेवा बन्द गरी बसहरू काठमाडौं फिर्ता गरिएको काठमाडौं महानगर यातायात प्रालिले जनाएको छ।
निःशुल्क बस सेवा सञ्चालन गरेको उक्त प्रालिले तीन महिनामा सञ्चालन खर्चबापत ८ लाख ५० हजार रुपैयाँ बुझेको छ। बसका लागि दुई बैंक तथा आवश्यक तेल र चार्जिङ खर्च महानगरपालिकाले छुट्टै बेहोरेको बुझिएको छ।
निःशुल्क बस सेवा बन्द भएसँगै सोही रुटमा पोखरा बस सञ्चालक कम्पनीका दुई वटा बस सशुल्क सञ्चालनमा आएका छन्। एउटा डेढ करोड रुपैयाँ मूल्य पर्ने विद्युतीय बस र अर्को आधा करोड रुपैयाँ मूल्य पर्ने डिजेल बस सशुल्क रूपमा सञ्चालनमा आएको पोखरा महानगरपालिकाले जनाएको छ।
ती बसमध्ये एउटा विमानस्थलबाट पृथ्वीचोक, बिरौटाहुँदै लेकसाइडको वाराहीघाटसम्म र अर्को विमानस्थलबाट पृथ्वीचोक, जिरोकिलोमिटर चोक हुँदै लेकसाइडस्थित हल्लनचोकसम्म सञ्चालन भइरहेको छ। दुवै रुटमा एकतर्फी एक सय रुपैयाँ भाडादर कायम गरिएको कम्पनीका अध्यक्ष देउप्रसाद गुरुङले जानकारी दिए।
सुरुवातमा परीक्षणका रूपमा तीन महिना निःशुल्क बस सञ्चालनमा ल्याइएको र सम्झौताअनुसार नै ती बस फिर्ता गरिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताएका छन्। “सुरुवातमै हामीले तीन महिनाका लागि निःशुल्क बस सेवा सञ्चालन गर्ने भनेका थियौँ,” उनले भने, “निःशुल्क बस सेवा सशुल्कमा परिणत भएको हो, सेवा स्थगित भएको छैन।” यो सेवा दीर्घकालीन रूपमा सञ्चालन हुने मेयर आचार्यको दाबी छ।
तर पोखरा बस सञ्चालक कम्पनी यातायात प्रालिले भने सशुल्क बस सेवा पनि अनिश्चित हुन सक्ने जनाएको छ। विमानस्थल आवतजावत गर्ने यात्रुको संख्या न्यून रहेकाले सेवा लामो समय सञ्चालन गर्न कठिन हुने कम्पनीका अध्यक्ष गुरुङले बताए।
“हामीले महानगरको आग्रहअनुसार सेवा सुरु गरेका छौँ,” उनले भने, “तर विमानस्थलबाट आउजाउ गर्ने यात्रु नै न्यून छन्। महँगो गाडी र तेल खर्चिएर यति न्यून संख्याका यात्रु बोकेर लामो समय चलाउन सकिँदैन।”
अध्यक्ष गुरुङका अनुसार विमानस्थलबाट वाराहीघाट र हल्लनचोक दुवै रुटमा एकतर्फी एक सय रुपैयाँ भाडादर कायम भए पनि यात्रु संख्या दिनभरिमा १५–२० जना पनि पुग्दैन। यात्रु अभावका कारण सो रुटमा चल्ने बसले दैनिक १ हजारदेखि १ हजार ५ सय रुपैयाँसम्म मात्र भाडा संकलन गर्ने गरेको उनले बताए।
प्रति बस मासिक झण्डै डेढ लाख रुपैयाँ खर्च हुने भए पनि हाल ५० हजार रुपैयाँसम्म आम्दानी नहुँदा बाँकी खर्च समितिले व्यहोर्ने गरी बस सञ्चालन भइरहेको उनले जानकारी दिए।
यात्रु अभाव भइरहे दीर्घकालीन रूपमा बस सञ्चालन गर्न कठिन हुने उनले बताए। अहिले ३२ सिटे महँगा गाडीको सट्टा १६ सिटे सस्ता गाडी सञ्चालन गरेर भए पनि सेवा निरन्तरता दिने विषयमा छलफल भइरहेको उनको भनाइ छ।
“घाटा खाएर चलाइराख्ने कुरा भएन। कसरी सञ्चालन गर्न सकिन्छ भन्नेबारे विभिन्न विकल्पमा छलफल भइरहेको छ,” उनले भने।
प्रकाशित: ५ श्रावण २०८३ २०:४५ मंगलबार





