२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

ताप्लेजुङमा अन्तरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड माघ २३ बाट हुने

मापदण्ड र निर्देशिकाभन्दा बाहिरका खेलाडीलाई सहभागी गराउन नपाइने

ताप्लेजुङमा १६ औँ अन्तरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ २३ गतेदेखि २६ गतेसम्म सिदिङ्वा गाउँपालिकामा सञ्चालन हुने भएको छ। आयोजक जिल्ला खेलकुद विकास समितिले सोमबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताका सञ्चालनका बारेमा जानकारी गराएको हो। 

प्रतियोगिताको संयोजन गरिरहेको सिदिङ्वा गाउँपालिका अध्यक्ष मानबहादुर राई र उपाध्यक्ष कृष्णकुमारी कडरियाको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला खेलकुद विकास समिति अध्यक्ष नरेन्द्रकुमार मावोले माघ २३ देखि २६ गतेसम्म सिदिङ्वा गाउँपालिकाको खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने जानकारी दिए। 

उनका अनुसार ६ विधाका खेल खेलाइने छ। प्रतियोगितातर्फ ६६ स्वर्ण, ६६ रजत र ७० कांस्य गरी कुल २ सय २ पदकका लागि खेल हुने छ। भलिबल र कबड्डीतर्फ महिला र पुरुष दुवैमा सेमिफाइनल पुग्ने थप २–२ टोलीलाई समेत कांस्य पदक दिइने भएकोले कांस्य पदकको संख्या स्वर्ण र रजतभन्दा बढी हुने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख यज्ञनिधि पौडेलले जानकारी दिए। 

जिल्ला खेलकुद विकास समितिका अनुसार भलिबल र कबड्डीतर्फ छात्र र छात्रा दुवैमा गरी २–२ स्वर्ण, २–२ रजत र ४–४ कांस्य पदकका लागि खेल हुने छ। यस्तै एथलेटिक्स छात्र छात्रातर्फ २६ स्वर्ण, २६ रजत र २६ कांस्य पदकका लागि खेल हुने भएको छ। सितोरियो कराँते र तेक्वान्दोतर्फ छात्रछात्राका लागि १२–१२ स्वर्ण, १२–१२ रजत र १२–१२ कांस्य पदकका लागि खेल हुने छ। 

उसुतर्फ समेत १२ स्वर्ण, १२ रजत र १२ कांस्यका लागि खेल हुने जिल्ला खेलकुद समितिले जनाएको छ। जिल्ला खेलकुद विकास समितिले निर्देशिका र मापदण्ड बाहिरका खेलाडीलाई प्रतियोगितामा समावेश नगर्ने प्रस्ट पारेको छ। अध्यक्ष मावोले निर्देशिका र मापदण्ड अनुसारका खेलाडी मात्र प्रतियोगितामा समावेश गराउने भएकोले यसलाई सबै पालिकाले बुझिदिने विश्वास लिए। 

प्रतियोगिताको संयोजन गरिरहेको सिदिङ्वा गाउँपालिकाले समेत प्रतियोगिता विद्यालय स्तरमा लुकेका खेल प्रतिभाको स्वतन्त्र पहिचान र खेल क्षमता प्रवर्द्धनमा आधारित हुने भएकोले मापदण्ड र निर्देशिका विपरीतका खेलाडीलाई प्रतियोगितामा नपठाउन आग्रह गरेको छ। 

पालिका अध्यक्ष राईले निर्देशिका र मापदण्ड अनुसारका मात्र खेलाडी पठाइ प्रतियोगिताको मर्म र उद्देश्य पूरा हुने गरी सबै पालिकाबाट सहयोग मिल्ने अपेक्षा व्यक्त गरे। पालिका अध्यक्ष राईले सिदिङ्वा गाउँपालिकामा आयोजना हुने प्रतियोगिता निष्पक्ष, स्वतन्त्र र खेलकुदका मार्गदर्शन अनुरूपमा केन्द्रित हुने विषयमा अहिलेबाट नै गम्भीर हुन जिल्ला खेलकुद विकास समितिलाई आग्रह गरेका छन्। 

जिल्ला खेलकुद विकास समिति अध्यक्ष मावोले खेल निर्देशिका र मापदण्ड विपरीत हुनसक्ने सम्भावित अवाञ्छित गतिविधि प्रति खेलकुद विकास समिति संवेदनशील र सतर्क रहेको बताए। प्रतियोगिताका क्रममा आफूहरू सबै पालिका र पालिकाका खेलाडीलाई मैवाखोलामा स्वागत गर्न आतुर रहेको बताउँदै पालिका उपाध्यक्ष कडरियाले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको संयोजन गर्ने मौका दिएकोमा जिल्ला खेलकुद विकास समितिप्रति आभार व्यक्त गरिन्। सिदिङ्वा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिवेन्द्र अधिकारीले पालिकाले खेलाडी व्यवस्थापन, प्रतियोगिता व्यवस्थापन सहितका सबै तयारीलाई अन्तिम चरणमा पुर्‍याएको जानकारी दिए। 

उनका अनुसार पालिकाले प्रतियोगिताका लागि २८ लाख ७९ हजार रुपैयाँ खर्च हुने अनुमान सहित व्यवस्थापनका सबै तयारी पूरा गर्दै लगेको छ। जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मावोले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड जिल्लाका सबै स्थानीय तहमा हुनेगरी सदरमुकामबाट बाहिर विकेन्द्रित गर्दै आएको जानकारी दिए। 

जिल्ला खेलकुद विकास समितिका अनुसार सदरमुकाम बाहिर १३ औँ राष्ट्रपति रनिङ शिल्ड अन्तरपालिका स्तरीय प्रतियोगिता सिरिजङ्गाको तेल्लोकमा गरिएको थियो। यस्तै १४ औँ आठराई त्रिवेणी गाउँपालिकामा सञ्चालन भएको थियो। अघिल्लो वर्ष १५ औँ राष्ट्रपति रनिङ शिल्डको अन्तरपालिका स्तरीय प्रतियोगिता मैवाखोलास्थित नारायण मावि साँघुको खेलमैदानमा सम्पन्न भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ।

प्रकाशित: २१ पुस २०८२ १२:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App