१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
खेल

गोल्फुटारमा इन्डोर बास्केटबल हल

बुढानीलकण्ठ नगरपालिका वडा-८ स्थित गोल्फुटारमा गोल्फुटार सेमी इन्डोर बास्केटबल हल सञ्चालनमा आएको छ।

बुढानीलकण्ठ नगरपालिका मेयर मिठाराम अधिकारीले शनिबार एक कार्यक्रमबीच उक्त हलको उद्घाटन गरे। करिब दुई रोपनी क्षेत्रफल हातामा नवनिर्मित हलका लागि दुई करोड बजेट विनियोजन गरिएको थियो। त्यसमध्ये एक करोड ४४ लाखमा निर्माण सम्पन्न भएको नगरपालिकाले जनाएको छ।

उक्त हलमा सावर, बाथरुम, कमन रुम, चेन्जिङ रुम, शौचालय र करिब एक सय दर्शक क्षमताको प्यारापिट पनि बनाइएको छ। हलसँगै रहेको खाली जग्गामा पनि फुटसल पूर्वाधारको निर्माण भइरहेको छ।

सो अवसरमा मेयर अधिकारीले नगर गौरवको योजनाअन्तर्गत हल निर्माण गरिएको उल्लेख गर्दै यसले कुनै पनि समयमा प्रशिक्षण र प्रतियोगिता सञ्चालन गर्न सहज हुने बताए। उपमेयर अनिता लामाले बूढानीलकण्ठ नगरपालिकामा थुप्रै राष्ट्रिय खेलाडी रहेको र उनीहरूले सुविधा सम्पन्न पूर्वाधारमा प्रशिक्षण गर्न पाउँन् भन्ने उद्देश्यले खेलकुद गतिविधिसँगै पूर्वाधार निर्माणलाई विशेष महत्त्वका साथ अगाडि बढाइरहेको बताइन्। नगरवासी राष्ट्रिय महिला बास्केटबल टोलीकी कप्तान अनुषा मल्लले पूर्वाधारले पनि बालवालिकालाई खेलप्रति आकर्षित गर्ने धारणा व्यक्त गरिन्।

आफूले सानैदेखि खेल्दै आएको आउटडोर कोर्टले हलको स्वरूप पाएकोमा उनले खुसी व्यक्त गरिन्। बूढानीलकण्ठ नगरपालिका खेलकुद बोर्डका संयोजक एवं वडा ८ का अध्यक्ष सुमन तामाङले बेलुकीको समयमा बालवालिकाका लागि एक महिनाको प्रशिक्षण सञ्चालन गर्ने बताए।

उद्घाटनका अवसरमा राष्ट्रिय महिला बास्केटबल टोलीकी कप्तान अनुषा मल्लको नेतृत्वमा महिला टोली र भेट्रान पुरुष टोलीबीच मैत्रीपूर्ण बास्केटबल पनि खेलाइएको थियो।

उक्त अवसरमा नगरवासी पूर्व बास्केटबल खेलाडी सोहन थापा मगर, फुटबल खेलाडी सिद्धान्त खड्का र इन्डियन आइडलको शीर्ष–१२ मा पुग्न सफल उज्ज्वल भट्टराईलाई प्रशंसापत्र र नगदसहित सम्मान गरिएको थियो।

प्रकाशित: १५ भाद्र २०८२ ०६:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App