समृद्धि स्कुलको आयोजनामा इन्डो- नेपाल कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ।
प्रतियोगिताको काता र कुमुतेमा ४५ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक रवि शाहीले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। नेपालका २५ तथा भारतका ५ विद्यालयबाट २ सय ८३ खेलाडीको सहभागिता रहने इसिएस निर्देशक विकास शाहीले जानकारी दिए।
प्रतियोगितामा १ सय ६२ पुरुष तथा १ सय २१ महिला खेलाडी सहभागी हुनेछन्। भारतबाट २० खेलाडी आउनेछन्। टिम च्याम्पियन र उपविजेतालाई ट्रफी प्रदान गरिनेछ। कुमुतेमा उत्कृष्ट पुरुष/महिला तथा कातामा १ उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिनेछ। उत्कृष्ट प्रशिक्षक र निर्णायक पनि पुरस्कृत हुनेछन्। दुईदिने प्रतियोगिताका खेलहरू वनस्थलीस्थित आयोजक स्कुलकै हातामा खेलाइनेछ।
पत्रकार सम्मेलनमा समृद्धिका एडमिनिस्ट्रेटिभ डाइरेक्टर दीपेन्द्र उप्रेती र अपरेसन डाइरेक्टर दिनेश महर्जनको पनि उपस्थिति रहेको थियो।
प्रकाशित: १९ भाद्र २०८२ ०७:२७ बिहीबार





