१० चैत्र २०८२ मंगलबार
image/svg+xml
खेल

रोहितको शतक र कोहलीको कीर्तिमानमा भारतको सान्त्वना जित

रोहित शर्माको अविजित शतक र विराट कोहलीको कीर्तिमानी अर्धशतकको मद्दतले भारतले तेस्रो एकदिवसीय खेलमा अष्ट्रेलियालाई ९ विकेटले पराजित गरेको छ।

यो जितका बाबजुद तीन खेलको शृंखला भने अष्ट्रेलियाले २-१ ले आफ्नो नाममा पारेको छ।

सिड्नीमा भएको खेलमा अष्ट्रेलियाले दिएको २३७ रनको लक्ष्य भारतले ३८.३ ओभरमा मात्र एक विकेट गुमाएर पूरा गर्‍यो। भारतको सानदार जितमा कप्तान रोहित शर्माले अविजित १२१ रनको शतकीय पारी खेले भने विराट कोहलीले अविजित ७४ रन बनाए।

रोहितको ३३औँ शतक, कोहली बने दोस्रो सर्वाधिक रनकर्ता

१२५ बलको सामना गरेका रोहितले १३ चौका र ३ छक्का प्रहार गर्दै आफ्नो एकदिवसीय करियरको ३३औँ शतक पूरा गरे।

त्यस्तै, विराट कोहलीले आफ्नो पारीमा ५४ रन बनाउँदा एकदिवसीय क्रिकेट इतिहासमा सर्वाधिक रन बनाउने दोस्रो ब्याट्सम्यान बनेका छन्। उनले श्रीलंकाका कुमार संगाकारा (१४,२३४ रन) को कीर्तिमान तोडेका हुन्। अब कोहलीभन्दा अगाडि भारतकै सचिन तेन्दुलकर (१८,४२६ रन) मात्र छन्।

लक्ष्य पछ्याउने क्रममा भारतले एकमात्र विकेट शुभमन गिलको रूपमा गुमाएको थियो। उनी २४ रन बनाएर जोश हेजलवुडको बलमा आउट भए।

यसअघि, टस जितेर पहिले ब्याटिङ रोजेको अष्ट्रेलिया ४६.४ ओभरमा २३६ रन बनाउँदै अलआउट भएको थियो। अष्ट्रेलियाका लागि म्याट रेनशले सर्वाधिक ५६ रन बनाए भने कप्तान मिचेल मार्शले ४१ रनको योगदान दिए।

अष्ट्रेलियालाई सस्तैमा समेट्न भारतका लागि हर्षित राणाले घातक बलिङ गरे। उनले ८.४ ओभरमा ३९ रन खर्चेर सर्वाधिक ४ विकेट लिए।

त्यस्तै, वाशिङ्टन सुन्दरले २ विकेट हात पारे भने मोहम्मद सिराज, प्रसिद्ध कृष्ण, कुलदीप यादव र अक्षर पटेलले एक-एक विकेट लिए।

शृंखलाका पहिलो दुई खेल जित्दै अष्ट्रेलियाले उपाधि पहिले नै सुनिश्चित गरिसकेको थियो।

प्रकाशित: ८ कार्तिक २०८२ १६:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App