१० चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

रविको अभियोग संशोधनविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्ध परेको रिट सर्वोच्च अदालतले आज पनि ‘हेर्दाहेर्दै’ मा राखेको छ।

न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा मंगलबार पनि सुनुवाइ नसकिएपछि मुद्दा बिहीबारका लागि सारिएको हो।

मंगलबार निवेदकतर्फका कानुन व्यवसायीहरूको बहस सकिएको छ।

निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरू दिनेश त्रिपाठी, सुरेन्द्र भण्डारी, टीकाराम भट्टराई तथा अधिवक्ताहरू टीका कुँवर, उपेन्द्र राउत र अनुपम भट्टराईले बहस गरेका थिए।

अब बिहीबारदेखि सरकारी वकिल र लामिछानेका तर्फबाट बहस हुनेछ।

महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते लामिछाने जोडिएका कास्की, काठमाडौं, रूपन्देही र पर्साका मुद्दाहरूमा संगठित अपराध र सम्पत्ति शुद्धीकरणको दाबी हटाउने गरी अभियोगपत्र सच्याउने निर्णय गरेकी थिइन्।

महान्यायाधिवक्ताको उक्त निर्णय कानुनविपरीत रहेको दाबी गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र अभियन्ता युवराज पौडेल ‘सफल’ ले सर्वोच्चमा रिट दायर गरेका हुन्।

यसअघि न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले महान्यायाधिवक्ताको निर्णयसँग सम्बन्धित सम्पूर्ण सक्कल कागजातहरू झिकाउन आदेश दिएको थियो।

बिहीबार हुने बहसपछि अदालतले सो निर्णय बदर गर्ने वा नगर्ने सम्बन्धमा प्रारम्भिक आदेश वा फैसला सुनाउन सक्ने सम्भावना छ।

प्रकाशित: १० चैत्र २०८२ १७:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App