श्रम संस्कृति पार्टीका अध्यक्ष एवं नव-निर्वाचित प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले आफ्नो चुनावी दाबीभन्दा जनताको अभिमत सर्वोपरि रहेको बताएका छन्।
मंगलबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले निर्वाचनअघि आफू प्रधानमन्त्री बन्ने दाबी गरे पनि जनताले दिएको निर्णय नै अन्तिम सत्य हुने बताएका हुन्।
निर्वाचनअघि आफैँ प्रधानमन्त्री बन्छु भन्दै ठोकुवा गरेको विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा साम्पाङले निर्वाचनका बेला सबैले त्यस्तै दाबी गर्ने गरेको प्रस्टीकरण दिए।
‘चुनावमा सबैले त्यही भनेका थिए, तर जनताले जसलाई चुन्छन् त्यही हुने हो,’ साम्पाङले भने, ‘जनताको निर्णयभन्दा ठूलो मेरो बोली होइन।’
यसका साथै, साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री बन्न योग्य रहेको समेत बताए।
लामिछानेलाई प्रधानमन्त्रीका रूपमा किन उपयुक्त देख्नुभयो भन्ने जिज्ञासामा उनले लामिछानेको वाककला र स्पष्टीकरण दिन सक्ने क्षमता राम्रो भएकाे सुनाए।
‘संसदमा प्रतिपक्षले धेरै प्रश्नहरू गर्छन्, त्यसको उत्तर दिन र बोल्न सक्ने मान्छे प्रधानमन्त्री हुँदा बेस हुन्छ,’ उनले भने, ‘जनताका प्रश्नको उत्तर बिस्तारमा बुझाउन र समय दिन सक्ने मान्छे चाहिएको छ।’
आफ्नो पहिचान बनेको श्रम संस्कृति अभियानलाई सिंहदरबार र संसदभित्र कसरी लैजानुहुन्छ भन्ने सञ्चारकर्मीको अर्को प्रश्नमा उनले भने, ‘काम गर्ने औजार अर्कै पार्टीलाई दिइएको छ, औजारविना हामीले काम कसरी गर्ने ? तर पनि सिंहदरबारभित्र श्रम संस्कृति भने चलाउनैपर्छ।’
प्रकाशित: १० चैत्र २०८२ १७:२७ मंगलबार





