३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

भारत-पाकिस्तान डब्ल्यूसीएल खेल रद्द : धवन र अफ्रिदीबिच ‘वाकयुद्ध’

विश्व च्याम्पियनसिप अफ लेजेन्ड्स (डब्ल्यूसीएल) २०२५ मा आइतबारका लागि तय भएको भारत र पाकिस्तानबिचको बहुप्रतिक्षित खेल रद्द भएको छ। यो निर्णय पहलगाममा भएको आतंककारी हमलापछि उत्पन्न भारत–पाकिस्तानबिचको भूराजनैतिक तनावका कारण भारतीय खेलाडीले खेल्न अस्वीकार गरेका हुन्। 

आइतबार बिहान डब्ल्यूसीएलले आफ्नो एक्समार्फत् भारत–पाकिस्तान खेल रद्द गरिएको जानकारी दिएको हो । विज्ञप्तिमा लिगले भनेको छ, ‘हामीले सधैं क्रिकेटलाई माया गरेका छौं। हाम्रो एकमात्र उद्देश्य प्रशंसकका लागि खुशीका पल सिर्जना गर्नु थियो। पाकिस्तान हक्की टोली यो वर्ष भारत आउने समाचार र हालैको भारत–पाकिस्तान भलिबल खेललगायत अन्य खेलमा दुई राष्ट्रबिचको भेट देखेर हामीले डब्ल्यूसीएलमा भारत–पाकिस्तान खेल आयोजना गर्ने सोचेका थियौं। तर, यस प्रक्रियामा हामीले धेरैको भावनामा चोट पुर्‍यायौं र भारतीय क्रिकेट दिग्गजलाई असहज बनायौं। लिगले यसबाट प्रभावित सबैसँग माफी मागेको छ।’

पहलगाममा भएको आतंककारी हमलामा २६ पर्यटकको ज्यान गएको थियो। त्यसपछिको भारत–पाकिस्तान द्वन्द्वका कारण शिखर धवन, हरभजन सिंह, सुरेश रैना, इरफान पठान र युसुफ पठानजस्ता भारतीय खेलाडीले पाकिस्तानविरुद्ध खेल्न अस्वीकार गरेका थिए।

डब्ल्यूसीएलको यो बयानअघि शनिबार राति पूर्व भारतीय क्रिकेटर शिखर धवनले आफ्नो एक्स खातामा एक पोस्ट साझा गरेका थिए। त्यसमा उनले डब्ल्यूसीएल आयोजकलाई पठाएको इमेलको स्क्रिनसट राखेका थिए। उक्त इमेलमा उनले स्पष्ट रूपमा पाकिस्तानविरुद्ध खेल्न नसक्ने बताएका थिए। धवनले क्याप्सनमा लेखे, ‘म अझै पनि मे ११ मा चालेको कदममा अडिग छु। मेरो देश मेरो लागि सबैथोक हो र मेरो देशभन्दा ठूलो केही छैन।’

यस घटनाले पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदीले पनि प्रतिक्रिया दिएका छन्। अफ्रिदीले क्रिकेटलाई राजनीतिबाट टाढा राख्नुपर्ने आफ्नो पुरानो अडान दोहोर्‍याएका छन्। उनले भने, ‘केही गर्न चाहने समुदाय अगाडि बढ्छ। तिनीहरू साना कुरामा अल्झिंदैनन्। देशका लागि राम्रो राजदूत बन्नुपर्छ, लज्जास्पद कारण होइन।’ उनले थपे, ‘तिमीले यहाँ आउनुअघि नै पाकिस्तानविरुद्ध खेल्न नचाहने कुरा बताउनुपर्थ्यो। तिमी (भारतीय खेलाडी) यहाँ आएर अभ्यास गर्‍यौँ र एक दिनभित्रै खेल्न अस्वीकार गर्‍यौँ।’

२०२५ को विश्व च्याम्पियनशिप अफ लेजेन्ड्सको सिजन शुक्रबार बर्मिंघमको प्रतिष्ठित एजबास्टन रंगशालामा इङ्ग्ल्याण्ड च्याम्पियन र पाकिस्तान च्याम्पियन बिचको भिडन्तबाट सुरु हुनेछ।

यो टुर्नामेन्टमा भारत, पाकिस्तान, अस्ट्रेलिया, इङ्ग्ल्याण्ड, वेस्ट इन्डिज र दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर सहभागी छन्। यो जुलाई १८ देखि अगस्ट २ सम्म बेलायतका चार स्थानहरूमा आयोजना हुनेछ।

प्रतियोगिताको लिग चरणमा १५ खेल हुनेछन्, जसमा प्रत्येक टोलीले अर्को टोलीसँग एक पटक खेल्नेछ। लिग चरण समाप्त भएपछि, शीर्ष चार टोलीहरू सेमिफाइनलमा प्रवेश गर्नेछन्। फाइनल अगस्ट २ मा हुने तालिका छ।भारतले गत वर्षको पहिलो संस्करणको फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराएर उपाधि जितेको थियो।

प्रकाशित: ५ श्रावण २०८२ १३:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App