१६ आश्विन २०८२ बिहीबार
image/svg+xml ८:११ पूर्वाह्न
खेल

जोखिम लिएको भए जित सम्भव हुन्थ्यो: सुनील गावस्कर

भारतीय पूर्वक्रिकेटरले मंगलबार लड्र्समा भएको टेस्टमा भारतलाई असम्भव जिततर्पm लैजाने प्रयासका लागि रवीन्द्र जडेजाको प्रशंसा गरेका छन् । तर, ती पूर्वक्रिकेटरले ब्याटिङमा अलिकति जोखिम लिएको भए उनले टोलीलाई जिताउन सम्भव हुने पनि विश्वास व्यक्त गरेका छन् ।

सात नम्बरमा ब्याटिङ गर्न आएका जडेजाले ६१ रन बनाएका थिए । तेस्रो टेस्टमा भारतले इङ्ल्यान्डविरुद्ध १९३ रनको लक्ष्य पछ्याइरहेको थियो । नाटकीय बनेको अन्तिम दिन दिउँसोको खानापछि भारत ११२/८ को स्थिति हुँदा जडेजाले पुछारका खेलाडीबीच नेतृत्व गर्दै जिततर्पm अग्रसर गराए । यस क्रममा उनी क्रिजमा चार घन्टाभन्दा बढी समय बसे ।

तर, अर्को छेउबाट विकेट पतन भएपछि जित भने सम्भव भएन । चिया सत्रपछि भारत १७० रनमा अलआउट हुन पुग्यो र इङ्ल्यान्डले रोमाञ्चक जित निकाल्यो । भारत ७१/५ को स्थिति हुँदा उनी क्रिजमा आएका थिए । त्यसपछि दिउँसोको खानासम्म भारत ११२/८ को अवस्थामा पुग्यो । जसप्रीत बुमराह र मोहम्मद सिराजलाई इङ्ल्यान्डको अट्याकबाट बचाउन उनले सकेसम्म स्ट्राइक आफूसँग राख्ने प्रयास गरे ।

साथै रवीन्द्रले आफ्नो आक्रामक शैलीलाई पनि नियन्त्रण गर्ने रणनीति अपनाए । तर, टेस्ट क्रिकेटका उत्कृष्ट पूर्वब्याट्सम्यान सुनील गावस्करले छिटो छिटो रन बनाएको भए इङ्लिस बलरमाथि दबाब बनाउन सक्ने टिप्पणी गरेका छन् । ‘छिटो रन बनाएर इङ्ल्यान्डका बलरहरूमा दबाब पार्न सकिन्थ्यो । यसले गर्दा ६०–७० को साझेदारीले फरक हुन्थ्यो । तर, भारतले त्यो (साझेदारी) पाएन ।’ जो रुट र सोएब बसिरले बलिङ गरेको समय जडेजाले ठूला सट नखेले पनि केही आक्रामक गतिमा रन बटुल्नुपर्ने उनको भनाइ छ । ‘जो रूट र सोएस बसिरले बलिङ गर्दा ठूलो सट नखेले पनि जडेजाले अलिकति जोखिम लिन सक्थे, त्यसो भएन । तर पनि उनलाई पूर्ण श्रेय (जडेजा) दिन चाहन्छु,’उनले भनेका छन् ।

जडेजाले १८१ बलमा मात्र चार चौका र एक छक्का हिर्काए । तर, बसिरले ११ नम्बर ब्याट्सम्यान सिराजलाई बोल्ड गर्दै इङ्ल्यान्डको विजय उत्सव मनाए । पूर्वब्याट्सम्यान सञ्जय माञ्जरेकरले एउटा सट मात्र छक्काको लागि प्रयास गरिएको तर अन्य ठूलो सटको प्रयान नएको उल्लेख गरेका छन् । साथै जडेजाले अर्धशतक पूरा गर्दा सहकर्मी ताली बजाएर खुसी मनाए पनि उनले जिताउँछन् भन्ने विश्वास भने टोलीमा नरहेको माञ्जरेकरको भनाइ छ । ‘त्यो इनिङ गहिरोसँग हेरेँ । एउटा मात्र प्रयास छक्काका लागि थियो । आक्रामक सट खेल्ने धेरै प्रयास पनि थिएन,’माञ्जरेकरले भने । जडेजाले राम्रो खेलिरहँदा टोलीमा जितको आत्मविश्वास नरहेको उनले उल्लेख गरेका छन् ।

‘जडेजाले आफ्नो अर्धशतक पूरा गरे र भारत अझै केही रन पछि थियो । ड्रेसिङ रूमको प्रतिक्रिया देख्यौं र सबैले ताली पनि बजाए । तर मलाई लाग्दैन कि त्यहाँ उत्साह र विश्वास थियो कि जडेजाले जिताउनेछन्,’ माञ्जरेकरको दाबी छ । भारतका महान् ब्याट्सम्यान सचिन तेन्दुलकरले जितका लागि धेरै नजिक तर पनि टाढा भन्दै दुःख व्यक्त गरे । ‘जितनजिक थियो र तर धेरै टाढा पनि । जडेजा, बुमराह, र सिराज अन्त्यसम्म लडे । भारतको राम्रो प्रयास रह्यो । इङ्ल्यान्डले दबाब राख्न राम्रो खेले र उनीहरूले चाहेको नतिजा पनि पाए । संघर्षपूर्ण जितको लागि बधाई,’उनले एक्समा पोस्ट गरे । यो जितपछि इङ्ल्यान्ड शृंखलामा २–१ ले अगाडि छ । अब दुई टेस्ट बाँकी छन् । चौथो टेस्ट जुलाई २३ मा म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा सुरु हुनेछ । (एएफपी)

प्रकाशित: ३१ असार २०८२ १४:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App