२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

आइसिसी टी-२० विश्वकप: नेपाल इङ्ल्यान्डसँग जितनजिक पुगेर पनि असफल

दोस्रो खेल फेब्रुअरी १२ मा इटालीसँग

निडरतापूर्वक ब्याटिङ गरे पनि नेपालले आइसिसी टी ट्वान्टी विश्वकपको पहिलो खेलमा इङ्ल्यान्डसँग साँघुरो हार सामना गरेको छ ।

समूह ‘सी’ को आफ्नो पहिलो खेलमा नेपालले दुईपल्टको विश्वविजेता इ्ङल्यान्डसँग ४ रनको साँघुरो हार सामना गरेको हो । मुम्बईस्थित वाङ्खडे स्टेडियममा इङ्ल्यान्डले एक सय ८५ रनको चुनौतीपूर्ण लक्ष्य दिएको थियो । पूरै ओभर खेल्दै नेपालले ६ विकेटको क्षतिमा एक सय ८० रन मात्र जोड्न सक्यो । नेपाल फेरि पनि विश्वकपमा टेस्ट राष्ट्रसँग जितनजिक पुगेर असफल भयो । यसअघि गत विश्वकपमा पनि दक्षिण अफ्रिकासँग नेपाल १ रनले पराजित भएको थियो । यसपल्ट फेरि नेपालले यादगार ब्याटिङ प्रेरणामा  इनिङको अन्तिम बलसम्म लड्यो । यद्यपि, निडरतापूर्वक ब्याटिङ गरे पनि नेपाल असफल भयो । नेपालले अब फेब्रुअरी १२ मा इटालीसँग खेल्नेछ ।

अन्तिम बलमा ६ रन आवश्यक हुँदा लोकेश बमले सफलता पाउन सकेनन् । उनले नै १८औं र १९औं ओभरमा ठूला सट खेल्दै टोलीलाई जितनजिक पु¥याएका थिए । लोकेशको आक्रामक ब्याटिङसँगै अन्तिम ओभरमा नेपाललाई १० रन आवश्यक बन्यो । तर, साम करणको बलमा नेपालले पाँच रन मात्र बनाउन सक्यो । लोकेश ३९ रनमा अविजित रहे । उनले २० बलमा चार चौका र दुई छक्का हिर्काए । अनुभवी सामले नायकी बलिङ गरे । उनले १५औं र डेथ ओभरमा किफायती बलिङ गरेपछि नेपाल ऐतिहासिक जितबाट चुक्यो । सामले खेलको सर्वाधिक ठूलो साझेदारी पनि तोडेका थिए । कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीले ‘रनिङ बिटविन विकेट’ मा राम्रो गर्दै इनिङ समाले ।

यी दुईले तेस्रो विकेटका लागि ८२ रनको साझेदारी गरे । चौथो नम्बरमा ब्याटिङ गर्न आएका दीपेन्द्रले ४४ रन बनाए । उनले २९ बलमा ६ चौका र एक छक्का प्रहार गरे । यो नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । दुई ब्याटर क्रिजमा रहँदासम्म नेपाल बलियो स्थितिमा थियो । तर, १५औं ओभरमा टर्निङ पोइन्ट बन्यो ।  सामले यस ओभरमा आफ्ना अनुभवको पूर्ण सदुपयोग गरे । सामले दीपेन्द्रलाई टम ब्यान्टनबाट क्याच लिँदै ठूलो सफलता लिए । साथै दबाब नेपाली ब्याटरमाथि थपे ।  यस ओभरमा सामले तीन रन मात्र दिए । लगत्तै १६औं ओभरमा रोहित ३९ रनमा पभेलियन फर्किए । यससँगै इङ्ल्यान्डले खेलमा पकड जमायो ।

लोकेशले अन्तिम दुई ओभरमा प्रयास गरे पनि सफलता पाउन सकेनन् । उनले जोफ्रा आर्चरको १८औं ओभरमा लगातार दुई छक्का हिर्काएका थिए । आरिफ शेखले १० रन जोडे । त्यसअघि नेपालले पावर प्लेमा ४७ रन जोड्दा दुई विकेट गुमाएको थियो । जहाँ ओपनर कुशल भुर्तेलले १७ बलमा २९ रन जोड्दै राम्रो सुरुआत दिलाए । अर्का ओपनर आसिफ ७ रनमा आउट भए । नेपालले सय रनको आँकडा पूरा गर्न ११.५ ओभर लगायो । इङ्ल्यान्डको बलिङमा लियाम डासनले दुई तथा लुक वुड, जोफ्रा, विल ज्याक्स र सामले समान एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले पूरै ओभरमा सात विकेट गुमाउँदै एक सय ८५ रन जोडेको हो ।

ज्याकबले ५५ रन र कप्तान ह्यारी ब्रुकले ५३ रनको इनिङ खेल्दै बलियो लक्ष्य दिएका हुन् । जस बटलरले २६ रनमा आउट हुँदा विल ज्याक्सले ३० रन जोडे । त्यसअघि डेब्यु खेलको पहिलो बलमा नै शेर मल्लले ओपनर फिल साल्टलाई १ रनमा आउट गर्दै राम्रो सुरुआत दिए । इनिङको दोस्रो ओभरमा उनले साल्टलाई सन्दीप लामिछानेबाट क्याच गराएका हुन् । छिटै विकेट भए पनि इङ्ल्यान्डले आक्रामक ब्याटिङ ग¥यो । तर, पावर प्लेमा इङ्ल्यान्डले अर्का ओपनर जस बटलरलाई २६ रनमा गुमायो । पाँचौं ओभरमा नन्दन यावदले विकेटकिपर बटलरलाई विकेटकिपर आसिफ शेखबाट क्याच गराएका हुन् । तर, इङ्ल्यान्डले पावर प्लेमा नै ५७ रन जोड्यो । सातौं ओभरमा स्पिनर सन्दीपले टम ब्यान्टनलाई १ रनमा नै एलबिडब्लु आउट गरे ।

यससँगै इङ्ल्यान्डको तीव्र रन गतिमा अंकुश लगाउने आशा गरिएको थियो । तर, ज्याकब बेथल र कप्तान ह्यारी ब्रुकले आक्रामक ब्याटिङ गर्दै नेपाली बलरमाथि दबाब बनाए । चौथो विकेटका लागि यी दुई बीच ७१ रनको साझेदारी बन्यो । त्यसअघि इङ्ल्यान्डले ११.१ ओभरमै सय रनको आँकडा पार ग¥यो । दीपेन्द्रले ज्याकबलाई ५५ रनमा लोकेश बमद्वारा क्याच गराउँदै साझेदारी तोडेका हुन् । उनले ३५ बलमा समान चार चौका र चार छक्का प्रहार गरेका थिए । १३.४ ओभरमा इङ्ल्यान्ड १२८÷४ को अवस्थामा थियो । दीपेन्द्रले साम करनलाई २ रनमा नै बोल्ड गरे । यसपछि इङ्लिस टोली समालिएर खेल्ने प्रयास ग¥यो । यद्यपि, अर्को छेउबाट कप्तान ब्रुकले इनिङ अगाडि बढाए ।

१९औं ओभरदेखि इङ्ल्यान्डले आक्रामक ब्याटिङलाई निरन्तरता दियो । तर, नन्दन यादवले दोस्रो बलमा नै कप्तान ब्रुकलाई शेर मल्लबाट क्याच गराउँदै संकट कम गर्ने प्रयास गरे । डेथ ओभर भने नेपालका लागि महँगो साबित भयो । करण केसीले यो ओभरमा २१ रन बेहोरे । यो नै सबैभन्दा महँगो ओभर हो । नेपालको बलिङमा नन्दन र दीपेन्द्रसिंहले समान दुई तथा शेर र सन्दीपले समान एक विकेट लिए । 

प्रकाशित: २५ माघ २०८२ २१:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App