आयोजक राष्ट्र भारत र इङ्ल्यान्ड तेस्रोपल्ट आइसिसी ट्वान्टी विश्वकपको उपाधि उचाल्न दुई कदम मात्र पछाडि छन्। यी दुई राष्ट्र बिहीबार मुम्बई शहरमा हुने सेमिफाइनलमा जित निकाल्ने लक्ष्यसहित एकअर्काविरुद्ध चुनौती प्रस्तुत गर्दैछन्।
समान दुईपल्ट च्याम्पियन भारत र इङ्ल्यान्ड तेस्रोपटक छोटो फरम्याटको विश्वकप उपाधि उचाल्ने दाउमा छन्। दुवै टोली समान एकपल्ट हार बेहोर्दै सेमिफाइनलसम्म आइपुगेका हुन्। भारतले सुपर आठमा र इङ्ल्यान्डले समूहचरणमा हार बेहोरेका थिए। बिहीबार दोस्रो हार हुँदा एक टोलीको उपाधि यात्रामा टुङ्गो लाग्नेछ।
भारतका बलिङ प्रशिक्षक मोर्ने मोर्केलले इङ्ल्यान्डलाई हराउन विशेष प्रदर्शन आवश्यक पर्ने बताए। साथै उनले इङ्ल्यान्डलाई ‘स्ट्रिट स्मार्ट’ टोलीको संज्ञा दिए। भारतले आइतबार कोलकातामा वेस्ट इन्डिजविरुद्ध १९६ रनको लक्ष्य पछ्याउँदै जित निकालेका थियो। त्यही जितसँगै भारत सेमिफाइनलमा पुगेको हो। यस क्रममा सन्जु सामसनले अविजित ९७ रनको सानदार इनिङ खेले।
बिहीबार राति मुम्बईमा हुने सेमिफाइनलमा पनि कसैले जिम्मेवारी लिँदै उत्कृष्ट प्रदर्शन गर्नुपर्ने मोर्केलको भनाइ छ। तब मात्र ह्यारी ब्रुकको टोलीलाई हराउँदै घरेलु टोलीको विश्वकप जित्ने आशा जीवन्त रहने उनले उल्लेख गरे। ‘हामीले अहिलेसम्म पूर्ण खेल खेलेका छैनौं भन्ने कुरा गरेका छैनौं,’मुम्बईको वानखेडे स्टेडियममा अभ्यासपछि पत्रकारसँग कुरा गर्दै मोर्केलले भने, ‘सेमिफाइनलसम्म कसरी पुग्यौं भन्नेभन्दा पनि अबका दुई खेल कसरी खेल्छौं भन्ने महत्त्वपूर्ण छ। आवश्यक पर्दा कोही न कोही अगाडि आउने क्षमता भारतीय टोलीमा छ।’
भारतले इङ्ल्यान्डसँग टी ट्वान्टी विश्वकपको सेमिफाइनलमा प्रतिस्पर्धा गरेको यो लगातार तेस्रो पटक हो। अघिल्ला दुवै सेमिफाइनमा विजेता टोलीले नै उपाधि उचाले।
सन् २०२२ मा इङ्ल्यान्डले एडिलेडमा भारतलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो। उपाधि भिडन्तमा पनि इङ्ल्यान्डले पाकिस्तानलाई हराएको हो। दुई वर्षअघि भने भारतले इङ्ल्यान्डलाई ६८ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो।
भारतले उपाधि भिडन्तमा दक्षिण अफ्रिकालाई पराजित गरी उपाधि जितेको थियो। यसपटक भने भारतलाई घरेलु मैदानमा करिब ३५ हजार समर्थकको साथ रहनेछ। ‘बिहीबार ठूलो अवसर हो। उत्कृष्ट मैदानमा उत्कृष्ट खेल हुने आशा छ,’मोर्केलले भने, ‘खेलाडीहरूले शान्त रहँदै आफ्नो क्षमता कार्यान्वयन गर्नुपर्छ।’
भारतले तयारीमा कुनै कसर बाँकी राखेको छैन। मंगलबारको अभ्यास सत्र चन्द्रग्रहणका कारण एक घण्टा ढिला सारिएको थियो, किनकि भारतमा यसलाई अशुभ मानिन्छ।
‘मलाई चन्द्रग्रहणबारे जानकारी दिइयो र प्रशिक्षण पछाडि सारिएको हो,’मोर्केलले स्वीकारे, ‘तर सबैभन्दा महत्त्वपूर्ण कुरा प्रशिक्षणमा देखिएको गुणस्तर हो। जुन निकै सन्तोषजनक थियो।’
सन् २०१६ मा भारतमै आयोजना भएको टी ट्वान्टी विश्वकपको मुम्बई सेमिफाइनलमा भारत वेस्ट इन्डिजसँग पराजित भएको थियो। ‘उनीहरू निकै चलाख टोली हुन्। ब्याटिङ क्रम तलसम्म छ, जसले उनीहरूलाई खतरनाक बनाउँछ। बलिङमा पनि आक्रामक विकल्प छन्। टी ट्वान्टीमा उनीहरूको निडर शैलीले अवसर दिन सक्छ। दुई आक्रामक टोलीबीच रोमाञ्चक भिडन्त हुनेछ,’ मोर्केलले इङ्ल्यान्डलाई बलियो प्रतिद्वन्द्वी मान्दै भने। यसअघि बुधबार पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिका र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुनेछ।
प्रकाशित: २१ फाल्गुन २०८२ ०८:१९ बिहीबार





