लोभलाग्दो प्रदर्शन गरे पनि पहिलो खेलमा नतिजा आफ्नो पक्षमा पार्न नसकेको नेपालले आइसिसी टी ट्वान्टी विश्वकपको दोस्रो खेलमा इटालीविरुद्ध प्रतिस्पर्धा गर्दै छ।
भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा समूह ‘सी’ को नेपाल दोस्रो खेलमा बिहीबार एसोसिएट राष्ट्र इटालीविरुद्ध जित निकाल्ने लक्ष्यसहित मैदान उत्रँदै छ। पहिलो खेलमा लोभलाग्दो प्रदर्शन गरे पनि नेपाली टोलीले दुईपल्टको च्याम्पियन इङ्ल्यान्डविरुद्ध जित निकाल्न असफल भएको थियो।
एक सय ८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले इनिङको अन्तिम बलसम्म पुगेर पनि जित आत्मसात् गर्न नसकेको हो तर एसोसिएट राष्ट्र इटालीसँग भने नेपाली टोली जित निकाल्ने अपेक्षामा छ तर विश्वकपमा डेब्यु गरिरहेको इटाली कमजोर टोली भने होइन। उसले अभ्यास खेलमा संयुक्त अरब इमिरेट्स (युएई) जस्तो उत्कृष्ट एसोसिएट टोलीलाई हराउँदै विश्वकपको संघारमा आफू कमजोर नरहेको स्पष्ट संकेत दिइसकेको छ। जुन संकेतप्रति इटालीका प्रशिक्षक जोन डेभिनसनले पनि युएईजस्तो टोलीलाई हराएकाले नेपाली टोलीसँग नडराएको प्रतिक्रिया दिएका थिए।
‘हामीले युएईलाई नै हराएको थियौं। नेपाल र युएई उस्तै टोली हुन्। टी ट्वान्टी क्रिकेट २/३ ओभरमा नै म्याचको मुमेन्टम परिवर्तन हुन्छ। ठूलो टोलीले पनि अप्रत्याशित नतिजा सामना गर्नुपर्ने हुन्छ,’ अस्ट्रेलियाका टेस्ट पूर्वक्रिकेटर डेभिनसनले भने।
इटालीले स्कटल्यान्डजस्तो उत्कृष्ट एसोसिएट टोलीलाई हराउँदै पहिलोपल्ट विश्वकप खेलेको हो। त्यो हारले स्कटल्यान्ड विश्वकपमा छनोट हुन सकेन। तर, बंगलादेशको अप्रत्याशित बहिगर्मनले स्कटल्यान्डले विश्वकप खेल्न पायो। इटालीको नै समूह ‘सी’ मा पर्यो। साथै विश्वकपको पहिलो खेलमा नै इटालीमाथि बदला लिन सफल भयो। त्यसैले नेपालजस्तै इटालीले पनि हारबाट नै विश्वकपको यात्रा सुरु गर्यो।
यद्यपि, इटालीले नेपाललाई हराउँदै विश्वकपमा पहिलो जित निकाल्ने महत्त्वाकांक्षा राखेको छ। जुन जित नेपालले सन् २०१४ को विश्वकपमा निकालेको थियो। नेपालले हङकङलाई हराउँदै विश्वकपको डेब्युमा नै जितको स्वाद चाखेको थियो। सोही विश्वकपमा नै अफगानिस्तानलाई हराएको थियो। वेस्ट इन्डिज र अमेरिकामा संयुक्त रूपमा आयोजना भएको विश्वकप खेल्दै १० वर्षपछि नेपाल विश्व मञ्चमा फर्कियो तर त्यो विश्वकपको चारै खेलमा नेपाल जितविहीन बन्न पुग्यो। अहिलेसम्म पाँच खेलमा नेपालले जित निकाल्न सकेको छैन। जुन जितविहीनको यात्रा बिहीबार टुङ्ग्याउने लक्ष्यमा नेपाली टोली हुनेछ। रोचक तथ्य के छ भने नेपाल तीन पटक टेस्ट राष्ट्रलाई पराजित गर्ने निकै नजिक पुगेको थियो।
अन्ततः हार बेहोर्न बाध्य भयो। सन् २०२४ मा नेपाल दक्षिण अफ्रिकासँग मात्र १ रनले पराजित भएको थियो भने बंगलादेशसँग २१ रनको हार बेहोरेको थियो। बंगलादेशलाई १०६ रनमा अलआउट गरेर पनि नेपाली टोली जित निकाल्न चुकेको थियो। त्यही सफलतानजिक यस संस्करणमा पनि पुग्यो। तर, फेरि एकपल्ट असफल भयो। साहसिक प्रदर्शनले नेपाली टोलीलाई विश्व क्रिकेटको केन्द्रमा ल्याइदिएको छ। नेपाली क्रिकेटप्रति ठूलो उत्साह सिर्जना गरेको छ। सीमित अन्तर्राष्ट्रिय अवसरका बाबजुद रोमाञ्चक फरम्याटमा आफूलाई प्रमाणित गर्ने प्रयासमा छ। इङ्ल्यान्डविरुद्ध आफ्नो क्षमता निखारेको नेपालले अद्भुत जुझारुपन देखाएको छ।
तीन वटा विश्वकपमा गरेर सात खेल मात्र खेले पनि नेपालले दुई पटकको विश्व च्याम्पियन इङ्ल्यान्डविरुद्ध प्रायः सबै पक्षमा बराबरीको प्रतिस्पर्धा गर्यो। विश्व मञ्चको भव्य माहोलमा दबाबमा परेन। न त अपेक्षाको भारले उनीहरूलाई कमजोर नै बनायो।
गत खेलमा १९ हजार तीन सय ६९ दर्शक वाङ्खेडे स्टेडियममा उपस्थित थिए। जसमा अधिकांश गाढा नीलो र रातो रङको जर्सीमा चन्द्र सूर्य झन्डा अंकित जर्सीको बाहुल्यता थियो। त्यो, पनि क्रिकेटको जन्मदाताविरुद्धको खेलमा। दर्शकको बलियो उपस्थित नेपाली टोलीका लागि १२औं खेलाडी हो। त्यसले इटालीमाथि पनि दबाब बढ्ने आशा गरिएको छ। तर, इटालीका प्रशिक्षक म्याडिसनले अत्यधिक दर्शकका बीच खेल्ने बानी भएकाले खासै असर नपर्ने दाबी गरेका छन्।
साथै इटालीसँग नेपालविरुद्ध कप्तान वायन म्याडसेन हुने छैनन्। उनको स्थानमा ह्यारी मान्नेटीले कप्तानी गर्नेछन्। नेपालले पहिलो खेलको टोलीलाई नै निरन्तरता दिने सक्नेछ। इटालीले पनि कप्तानको स्थानमा बाहेक त्यही टोलीलाई निरन्तरता दिन सक्छ। किनकि इटालीले हारका बावजुद पहिलो खेलमा सन्तोषजन प्रदर्शन गरेको छ।
मध्य क्रमका ब्याटिङ गर्ने बेन मान्नेटी सबैभन्दा आक्रामक ब्याटिङ गर्न सक्ने खेलाडीको रूपमा चिनिन्छन्। ह्यारी र बेन दाजुभाइ पनि हुन्। नेपाल र इटालीबीच पछिल्लो सन् २०१३ मा डिभिजन चारमा भेट भएको थियो। जहाँ नेपाली टोलीले जित रच्यो। त्यसअघि दुई भेट (सन् २००५ र सन् २०१०) मा पनि नेपाली टोलीले जित निकालेको थियो। १३ वर्षपछि भेट हुँदा नेपाली टोली जित निकाल्ने लक्ष्यमा छ।
कुशल भुर्तेल नेपालका आक्रामक ओपनर हुन्। जसले तीव्र सुरुआत दिलाउन सक्छन्। दीपेन्द्रसिंह ऐरी, कप्तान रोहित पौडेल र आरिफ शेखले मध्यक्रमबाट टोलीलाई राम्रो साथ दिने आशा गरिएको छ। लोकश बमले इङ्ल्यान्डविरुद्ध गरेजस्तै आक्रामक ब्याटिङ दोहोर्याउन आशामा समर्थक छन्।
जोफ्रा आर्चर र आदिल रासिदजस्ता बलरलाई ठूला सट हिर्काउँदै उनको आत्मबल बलियो भएको छ। यद्यपि, नेपालको समस्या डेथ ओभरमा महँगो बलिङ हो। जुन पक्षमा नेपालले धेरै सुधार गर्नुपर्ने हुन्छ। इङ्ल्यान्डसँग मध्य ओभरहरूमा पर्याप्त बाउन्ड्री निकाल्न सकेन। विकेटबीच दौडमा पनि सुधार आवश्यक देखिन्थ्यो।
बलिङमा इङ्ल्यान्डविरुद्ध अधिकांश समय नेपालले नियन्त्रणमा रहेर बलिङ गर्यो तर अन्तिम ओभरहरूमा धेरै रन खर्चिन पुग्यो। त्यो नै नेपालका लागि घातकमध्ये एक रह्यो। इटालीले स्कटल्यान्डसँग सात बलिङ विकल्प प्रयोग गरे पनि राम्रो तयारी बिना आएको स्कटल्यान्डलाई रोक्न सकेन। विशाल लक्ष्य (२०८ रन) पछ्याउने क्रममा उनीहरूको प्रदर्शन कमजोर रह्यो। ६ जना ब्याटर एक अंकमा आउट भए भने तीन जना डकआउट हुन पुगे। बेन मानेन्टीको अर्धशतक र ह्यारीका ठूला सटहरू इटालीको महत्त्वपूर्ण पक्ष रह्यो , जुन नेपालसँग पनि दोहोरिने इटालीको आशा छ।
प्रकाशित: २९ माघ २०८२ ०६:३६ बिहीबार





