१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
खेल

स्ट्याग च्याम्पियन्स लिग–३ मा आयोजक र एभिएमको अग्रता

एभिएम टेबल टेनिस क्लबले जारी स्ट्याग ग्लोबल च्याम्पियन्स लिग सिजन–३ मा सोमबार दोस्रो चरणको समाप्तिमा पनि अग्रता लिएको छ ।

सोमबार सम्पन्न दोस्रो चरणको समाप्तीमा एभिएम र आयोजक स्ट्याग च्याम्पियन्स एकेडेमीले संयुक्त अग्रता लिएका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा एभिएम र स्ट्याग च्याम्पियन्स एकेडेमीले समान १८ अंक बटुल्दै शीर्ष स्थानमा अग्रता बनाएका छन् । समान १० खेलमा यी दुवैले समान ६ जित निकालेका छन् । यसमध्ये ३० सेटमध्ये दुवैले समान १८ सेट जित्दै समान अंक बटुलेका हुन् । टप स्पिन टेबल टेनिस गुड्स नेपाल र द ड्य्रागन्स टेबल टेनिस क्लबले १७ अंक जोड्दै उनीहरूलाई पछ्याएका छन् । दुई चरणको समाप्तीमा दुईले पनि समान ६ जित निकाले । तर, १७ सेट मात्र जितेपछि टप स्पिन र द ड्य्रागन पछि परेका हुन् ।

त्यस्तै नेपाल टेबल टेनिस संघको तत्वावधन र स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीको आयोजनामा भएको च्याम्पियन्स लिगमा कीर्तिपुर नगरपालिकाले पनि ६ जित आत्मसात् गरेको छ । तर, कुल १० खेलमा १६ सेट मात्र जितेपछि कीर्तिपुर पाँचौं स्थानमा सीमित छ । खोल्छा पुखु खेलकुद समितिले पनि समान १६ अंक जोडेको छ । दुई चरणको समाप्तीमा खोल्छाले १० मध्ये चार खेल जितेको छ । टेबल टेनिसको शक्ति राष्ट्र चीनका साथै भारत, पाकिस्तान र चाइनिज ताइपेईका खेलाडीले विभिन्न क्लबमा आबद्ध रहेर प्रतिस्पर्धा गरिरहेका छन् । हरेक टोलीमा एक महिला र पुरुष विदेशी खेलाडी छन् ।  

होप्स टेबल टेनिस एकेडेमीले १३ अंक जोड्दा भोर्टेक्स नेपाल टेबल टेनिस क्लब र वल्ड हाउस रेस्ट्रोले समान १२ अंक बटुलेका छन् । चार नै खेल जिते पनि याला टेबल टेनिसको ११ अंक छ । यालाले ११ सेट मात्र आफ्नो बनाउन सफल भयो ।  नेपाली टेबलटेनिसकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगितामा १० टोली सहभागी छन् ।

प्रकाशित: २ भाद्र २०८२ १८:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App