फिफा विश्वकपमा आइतबार न्युयोर्कमा तय फाइनलको हाफ टाइम सामान्य खेलभन्दा लामो हुने आकलन गरिएको छ।
अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा हुने फाइनलमा हाफ टाइम करिब २० देखि २५ मिनेटसम्म रहने सम्भावना छ। उत्तरी अमेरिकी राष्ट्र (अमेरिका, क्यानडा र मेक्सिको) मा भएको विश्वकपको फाइनल भने न्युयोर्कमा तय छ। उक्त फाइनलको हाफ टाइममा सुपर बाउल शैलीको ११ मिनेट लामो सांगीतिक कार्यक्रम आयोजना गरिन सक्ने आकलन छ।
यस कार्यक्रममा पप स्टार म्याडोना, कोलम्बियन गायिका शकिरा र दक्षिण कोरियाली केपप समूह बिटिएसजस्ता कलाकारका रूपमा प्रस्तुति दिनेछन्। विश्वकप आयोजक फिफासँग आबद्ध स्रोतहरूका अनुसार मध्यविराम करिब २० मिनेटको हुने सम्भावना छ।
अर्को विकल्पका रूपमा खेलको नियमित १५ मिनेटको हाफ टाइमपछि थप ११ मिनेटको सांगीतिक कार्यक्रम सञ्चालन गर्ने विषयमा पनि छलफल भइरहेको छ। विश्व फुटबलका नियम बनाउने संस्था इन्टरनेसनल फुटबल एसोसिएसन बोर्ड (आइएफएबी) को नियमअनुसार खेलाडीहरूले १५ मिनेटभन्दा बढी नहुने हाफ टाइम विश्राम पाउने व्यवस्था छ।
गत वर्ष पनि फिफाले आयोजना गरेको क्लब विश्वकप फाइनल न्यु जर्सीमै भएको थियो। त्यस अवसरमा कोल्डप्ले, जे बाल्भिन, डोजा क्याट, टेम्स र इम्यानुएल केलीको प्रस्तुति समावेश गरिएकाले हाफ टाइम कुल २४ मिनेट लामो भएको थियो। यसपटक भने चर्चित गायक जस्टिन बिबरलाई पनि अन्तिम समयमा सांगीतिक कार्यक्रममा समावेश गरिएको छ।
मुख्य कलाकार म्याडोना, शकिरा र बिटिएससँगै बर्ना ब्वाय, गुस्ताभो डुडामेल तथा पिएस २२ कोरस (कोल्डप्लेसहित) ले पनि प्रस्तुति दिने कार्यक्रम छ। सम्पूर्ण सांगीतिक कार्यक्रमको संयोजन भने कोल्डप्लेका मुख्य गायक क्रिस मार्टिनले गरेका छन्।
प्रकाशित: ३२ असार २०८३ ०६:५५ बिहीबार





