पोर्चुगलमा सम्पन्न युरोपस्तरीय ‘एनआरएनए टी-१० क्रिकेट प्रतियोगिता-२०२६’को उपाधि गोरखा ११ क्रिकेट क्लब पोर्चुगलले जितेको छ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलको आयोजनामा सान्तारेमस्थित क्रिकेट मैदानमा बिहीबार भएको फाइनलमा गोरखा ११ ले जिजिरा युनाइटेड क्रिकेट क्लब माल्टालाई पराजित गर्दै उपाधि जितेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको जिजिरा युनाइटेडले निर्धारित १० ओभरमा छ विकेट गुमाएर ९२ रन बनाएको थियो । ९३ रनको लक्ष्य पछ्याएको गोरखा ११ ले ८.३ ओभरमा लक्ष्य पूरा गरेको हो।
उपाधिसँगै गोरखा ११ ले पाँच हजार ५५५ युरो नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता जिजिराले दुई हजार ५५५ युरो नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। एनएससीए जर्मनी तेस्रो भएको छ।
जिजिरा माल्टाका मेहबुब अली प्रतियोगिताको उत्कृष्ट खेलाडी तथा सोही टोलीका सुरज दरैमगर उत्कृष्ट ब्याट्सम्यान घोषित भए। एनआरएनए जर्मनीका आशिष निरौला उत्कृष्ट बलर घोषित भए।
प्रकाशित: २ आश्विन २०८३ ०९:३६ शुक्रबार





