१३ श्रावण २०८३ बुधबार
image/svg+xml
खेल

घरेलु समर्थकमाझ च्याम्पियन बन्ने लक्ष्य

नेपालले तेस्रोपल्ट देशमा भएको काभा महिला भलिबल च्याम्पियनसिपमा घरेलु समर्थकको बलियो साथमा च्याम्पियन हुने लक्ष्य राखेको छ।

नेपाल भलिबल संघ (एनभिए) को आयोजनामा काठमाडौंमा शुक्रबारदेखि जेठ १५ गतेसम्म काभा महिला भलिबल च्याम्पियनसिप हुँदै छ । आठ राष्ट्रले प्रतिस्पर्धा गर्ने च्याम्पियनसिपमा युवा र नयाँ खेलाडीको बाहुल्य रहेको नेपाल उपाधि जित्ने आशा छ । कप्तानसहित नेपाली टोलीमा नयाँ खेलाडीको बाहुल्य छ । नियमित कप्तान अरुणा शाही विदेश पलायन भएपछि उनको स्थानमा निरुता ठगुन्नाले नेपालीको नेतृत्व गर्दै छिन् । केही वर्षयता टोलीको सदस्य नै रहेकी निरुता र नेपाली टोली मुख्य प्रशिक्षक जगदीश भट्ट यही टोलीले घरेलु कोर्टमा सुखद नतिजा ल्याउनेमा आशावादी छन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार कप्तानहरूसँग भएको पत्रकार सम्मेलनमा नेपाली टोलीकी कप्तान निरुताले युवा र पुराना खेलाडी सम्मिलित टोलीबाट राम्रो नतिजा आउने अपेक्षा गरेकी हुन् । ‘टोलीमा नयाँ मात्र होइन क्षमतावान् खेलाडी पनि छौं । लामो समयदेखि खेल्दै आएका खेलाडी पनि छन् । हामीले एकअर्काका बारेमा राम्ररी बुझेका छौं । बिनादबाब खेल्नेछौं,’ कप्तान निरुताले भनिन् । घरेलु समर्थकको साथमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्नेमा उनी आशावादी छन् । ‘समर्थकको हौसला महŒवपूर्ण पक्ष हो । बाँकी हामीले राम्रो खेल्यौं भने नतिजा आउँछ । त्यो नतिजा निकाल्न सबैले आफ्नो उत्कृष्ट दिनेछौं,’ उनको लक्ष्य छ । उक्त च्याम्पियनसिपमा नेपालसहित आठ राष्ट्रले चुनौती प्रस्तुत गर्दै छन्।

यी सबैभन्दा बलियो टोली भारत हो । निरुताले भारत नै आपूmहरूको प्रमुख टार्गेट हुने बताएकी छन् । ‘यसअघि समूहचरणमा भारतलाई हराएका थियौं । फाइनलमा हा¥यौं । जितले उत्साहित भएर हारेका थिएनौं । राम्रो खेल्दाखेल्दै हारेका हौं । यसपल्ट अझ राम्रो गर्ने प्रयास हुनेछ,’ निरुताले भनेकी छन् । यस संस्करणमा श्रीलंका, बंगलादेश, किर्गिस्तान, भारत, इरान, काजकिस्तान र माल्दिभ्सले चुनौती प्रस्तुत गर्नेछन् । सातै राष्ट्रका कप्तानले उत्कृष्ट प्रदर्शन गर्दै रोमाञ्चक खेल प्रस्तुत गर्ने आशा व्यक्त गरेका छन् । डिफेन्डिङ च्याम्पियन भारतकी कप्तान नन्दनीले तयारी छोटो भए पनि राम्रो खेल प्रदर्शन गर्ने आशा व्यक्त गरिन् । माल्दिसबाहेक सबै टोलीले छोटो समयको तयारीबाट यो च्याम्पियनसिप खेल्न आएको बताए । माल्दिसले भने चार महिनाको तयारी गरेको उल्लेख गरेको छ।

राखेपको कभर्डहलमा खेल हुनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक नेपालसँगै भारत, किर्गिस्तान र माल्दिभ्स छन् । समूह ‘बी’ मा इरान, काजकिस्तान, श्रीलंका र बंगलादेशले प्रतिस्पर्धा गर्नेछन् । यस प्रतियोगितालाई लक्षित गर्दै भलिबल संघले २० खेलाडीलाई समेटेर बन्द प्रशिक्षण सुरु गरेको थियो । उक्त प्रशिक्षण गत चैत ५ गतेदेखि प्रशिक्षण सुरु भएको हो । यस च्याम्पियनसिप खेल्ने १४ सदस्यीय अन्तिम टोली छनोट भइसकेको छ । नेपालमा तेस्रो पटक हुँदै छ । नेपालले पाँच पटक सहभागिता जनाएको छ ।  नेपाल दुईपल्टको च्याम्पियन हो।

नेपाली टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले यसपल्ट पनि च्याम्पियन हुने लक्ष्यसहित तयारी गरिएको बताएका छन् । उनले टोलीमा पुराना र नयाँ युवा खेलाडीको समिश्रण रहेको उल्लेख गरेका छन् । अनुभवी र युवा जोसले भरिएको टोलीबाट राम्रो नतिजा निकाल्ने उनको आशा छ । नियमित कप्तानसँगै अनुभवी सेटर अरुणा शाही टोलीमा छैनन् । अरुणा नेपाली भलिबलमा फर्किने या नफर्किने भन्नेबारे अहिलेसम्म संघले र उनले पनि खुलाएका छैनन् । उनको स्थानमा प्रगति नाथले सेटरको भूमिका निभाउनेछिन् । अरुणासँगै अर्का महŒवपूर्ण र अनुभवी खेलाडी पुनम चन्द पनि टोलीमा छैनन् । दुवै हाल अस्ट्रेलियामा छन्। नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग खेल्दै यस च्याम्पियनसिपको यात्रा सुरु गर्नेछ।

नवनियुक्त कप्तान निरुताले भारतविरुद्ध यसअघिको जस्तै जोसिलो प्रदर्शन गर्ने आशा व्यक्त गरेकी छिन् । नयाँ जिम्मेवारीले आफूमा कुनै दबाब नभएको उनको विश्वास छ । पहिलो दिन नै किर्गिस्तान र माल्दिभ्सबिच तथा इरान र बंगलादेशबिच प्रतिस्पर्धा हुने तालिका छ । दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगिताको फाइनल खेल जेठ १५ गते आयोजना हुनेछ । यस प्रतियोगिताको नतिजा अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभिबी) को विश्व वरीयतामा समेत समावेश हुने बताइएको छ । यस प्रतियोगितालाई लक्षित गरी टोलीको प्रारम्भिक चरणमा २० जना खेलाडीलाई प्रशिक्षणमा बोलाइएको थियो । प्रारम्भिक चरणको प्रशिक्षणपछि मुख्य प्रशिक्षक जगदीश भट्टलगायतको टोलीले चार जना खेलाडीलाई बाहिर राख्यो।

त्यसपछि बन्द प्रशिक्षणबाट १६ खेलाडी छनोट भए । केही दिनअघि मात्र दुई खेलाडीलाई बाहिर राख्दै नेपालको १४ सदस्यीय अन्तिम टोली छनोट गरिएको हो । टोलीमा केही नयाँ खेलाडीले समेत स्थान बनाएका छन् । गत संस्करण नेपालले समूहचरणमा भारतलाई हराएको थियो तर त्यही भारतसँग फाइनलमा पराजित हुँदा नेपाली टोली उपाधिबाट वञ्चित हुन पुग्यो । त्यति बेलाका अधिकांश खेलाडी अहिले टोलीमा छैनन् । अहिले टोलीमा युवा खेलाडीको बाहुल्य छ । नेपाली टोलीको अन्य सदस्यमा उषा भण्डारी, वसन्ती साउद, मीना सुनार, सलिना बुढामगर, कामना विष्ट, रिमा कुँवर, सलिना श्रेष्ठ (लिबेरो), सुमित्रा रेग्मी, सुनीता खत्री, एलिसा मानन्धर, प्रगति नाथ, जसना महतो र शान्तिकला तामाङ (लिबेरो) छन्। यद्यपि, टोलीमा क्षमतावान् युवा खेलाडी रहेकाले घरेलु कोर्टमा सुखद नतिजा आउने विश्वास नेपाली समर्थकको छ।

प्रकाशित: ८ जेष्ठ २०८३ ०६:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App