१५ चैत्र २०८२ आइतबार
image/svg+xml
खेल

घले हार्भेस्टिङ कालिका कप भलिबलको फाइनलमा

फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दै घले हार्भेस्टिङ र गौंडाकोट भलिबलका खेलाडी ।

घले हार्भेस्टिङ अस्ट्रेलिया कालिका कप खुला पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । ऐतिहासिक चैत्राष्टमी मेला २०८२ को मुख्य आकर्षणका रूपमा रहेको पुरुष भलिबलतर्फ शनिबार भएको सेमिफाइनल खेलमा गौंडाकोट युथ क्लबलाई सोझो सेटमा पराजित गर्दै घले हार्भेस्टिङ फाइनलमा पुगेको हो ।

राष्ट्रिय खेलाडी रेशम छन्त्यालको कप्तानीमा रहेको घले हार्भेस्टिङले ३–० को सोझो सेटमा जित निकाल्दै उपाधि होडमा एक कदम नजिक पुगेको हो । नेपाल पुलिस क्लबबाट व्यावसायिक खेल खेल्ने खेलाडीहरूको बाहुल्य रहेको टोलीले पहिलो सेट २५–११, दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–१६ ले जित्दै फाइनल यात्रा तय गरेको हो । टोलीमा कोशी प्रदेशका कप्तान विष्णु बस्नेतसमेत सहभागी छन् ।

अब आइतबार हुने दोस्रो सेमिफाइनल खेलका विजेतासँग घले हार्भेस्टिङले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनलमा सिद्धार्थ चश्मा घर बागलुङ र आदित्य होल्डिङ तित्याङबीच प्रतिस्पर्धा हुनेछ । सिद्धार्थ चश्मा घरले गण्डकी प्रदेशको सेट टोली उतारेको छ भने आदित्य होल्डिङ तित्याङमा एपिएफका सुरेन्द्र केसीलगायतका खेलाडी सहभागी छन् । सेमिफाइनलमा पराजित टोलीले गौंडाकोट भलिबलसँग तेस्रो स्थानका लागि खेल्नेछ ।

प्रतियोगिताको विजेताले नगद ३ लाख रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले १ लाख ५० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् भने तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । विधागत उत्कृष्ट खेलाडीलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

महिलातर्फ शान्ता मावि र इलाइट भलिबलबीच उपाधि भिडन्त

चैत्राष्टमी मेलाअन्तर्गत आयोजित खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा शान्ता मावि पोखरा र इलाइट भलिबल एकेडेमी पोखरा पुगेका छन् । शनिबार भएका सेमिफाइनल खेलमा दुबै टोलीले आ–आफ्ना प्रतिस्पर्धीलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।

पहिलो सेमिफाइनलमा शान्ता माविले सृष्टि फर्निचर धौलागिरि विरेन्द्र माविलाई ३–२ को सेटमा हराउँदै फाइनल यात्रा तय गर्‍यो । २–० ले पछि परेको अवस्था उल्टाउँदै शान्ताले उत्कृष्ट पुनरागमन गरेको हो । पहिलो सेट २५–१५ र दोस्रो सेट २६–२४ ले गुमाएको शान्ताले तेस्रो सेट २५–११, चौथो सेट २५–२२ र निर्णायक पाँचौं सेट १५–१० ले जित्दै फाइनलमा स्थान बनाएको हो ।

दोस्रो सेमिफाइनलमा इलाइट भलिबल एकेडेमी पोखराले जैमिनी नगरपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै शान्तासँगको उपाधि भिडन्त तय गर्‍यो । इलाइटले २५–१६, २५–११ र २५–२१ ले खेल आफ्नो पक्षमा पार्‍यो ।

सेमिफाइनलमा पराजित भएका जैमिनी नगरपालिका र सृष्टि फर्निचर धौलागिरि विरेन्द्र माविबीच आइतबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।

महिला भलिबलतर्फ विजेताले १ लाख रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले ५० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् भने तेस्रो हुने टोलीले २५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उत्कृष्ट खेलाडीलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङको आयोजनामा भइरहेको मेलामा जिल्ला खेलकुद विकास समिति बागलुङ र जिल्ला भलिबल संघ बागलुङले व्यवस्थापनमा सहकार्य गरेका छन् । शनिबार सक्ने योजना रहेको मेला भलिबल प्रतियोगिता बाँकी रहेपछि एक दिन लम्बिएको आयोजक मूल समिति संयोजक भूपेन्द्र खड्काले जानकारी दिए ।

प्रकाशित: १४ चैत्र २०८२ २०:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App