मुगुको सोरु गाउँपालिका भिइमा आयोजना गरिएको फुटबल खेलको सुरुआतमै आपसी कुटाकुट हुँदा चार जना घाइते भएका छन् । घाइते भएका तीन जनालाई हेलिकप्टरमार्फत प्रदेश अस्पताल कालागाउँ लगिएको प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले जानकारी दिए ।
बडादशैंका अवसरमा अलस्टार युवा क्लबद्वारा आयोजित फुटबल प्रतियोगिताको औपचारिक कार्यक्रमको सुरुमै आपसी झडप भएको थियो । सोरु गाउँपालिका–३ का पवन कार्कीलगायतको टिमले धारिलो हतियार प्रहार गर्दा सोही वडाका प्रकाश धामी, प्रकाश कार्की, जीवन धामी र हिक्मतजङ्ग धामीलाई गम्भीर चोट लागेको थियो ।
झडपमा परी गम्भीर घाइते भएकामध्ये तीन जनालाई गाउँपालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले हेलिकप्टरमार्फत उपचारका लागि प्रदेश अस्पताल पुर्याएको प्रजिअ खत्रीले बताए ।
यो घटनाबारे वडाध्यक्ष सिंहबहादुर धामीले घटनास्थलमा आफू नभएकाले खासै जानकारी नभएको बताए । तर गत वर्षको पुरस्कार नदिएको भन्दै यसअघि खेलाडीहरू रिसाएकाले कुटाकुट भएको भन्ने आफूले सुनेको उनले बताए ।
यता घटनाको मुचुल्का गर्न पुगेका सोरुबर्मा प्रहरी चौकी इन्चार्ज देबबहादुर खड्काको टोली घटनास्थल पुगेको छ । तत्काल घटनाको यथार्थबारे केही भन्न नसकिने अवस्था रहेको इन्चार्ज खड्काले बताए । रासस
प्रकाशित: १० आश्विन २०८२ २१:१९ शुक्रबार





