२ वैशाख २०८३ बुधबार
image/svg+xml
खेल

‘फोर ब्रदर्स एफसी’ प्रथम खजुरा गोल्डकपको सेमिफाइनलमा

सेमिफाइनलमा प्रवेश गरेको नवलपरासीस्थित ‘फोर ब्रदर्स एफसी’ टिम। तस्बिर: अर्जुन ओली/नागरिक

कर्णाली प्रदेशको काँक्रेबिहार स्पोर्ट्स क्लबलाई ४–२ गोलले हराउँदै नवलपरासीको ‘फोर ब्रदर्स एफसी’ एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

बाँकेको खजुरा गाउँपालिका–४ डिगाउँस्थित मिनी रंगशालामा मंगलबार भएको खेलमा फोर ब्रदर्स एफसीका कप्तान नवीन महत्तो एक्लैले ४ गोल गर्दै टिमलाई सेमिफाइनलमा पुर्‍याएका हुन्। काँक्रेबिहारका तर्फबाट गणेश पुलामी मगर र सन्दीप देवुवाले १/१ गोल गरेका थिए।

खेलमा फोर ब्रदर्स एफसीका नवीन महत्तो ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका गोल्डकपका प्रचार संयोजक खगेन्द्र दाहालले जानकारी दिए। प्रतियोगितामा बुधबार आयोजक टिम न्यू डाँफे स्पोर्ट्स क्लब खजुरा बाँके र भारत लखनउको जेबिएम फुटबल एकेडेमीबीच खेल हुने आयोजकले जनाएको छ।

न्यू डाँफे स्पोर्ट्स क्लबको आयोजना तथा खजुरा गाउँपालिकाको संरक्षणमा सोमबारदेखि प्रतियोगिता चैत ३० गतेबाट सुरु भएको हो। प्रतियोगितामा कुल ८ वटा टिम सहभागी भएका छन्। नकआउट आधारमा खेलाइने उक्त प्रतियोगिता वैशाख ६ गतेसम्म चल्ने बताइएको छ।

प्रतियोगिताका विजेता टिमले नगद ७ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टिमले नगद ४ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै विभिन्न विधागत उत्कृष्ट खेलाडीलाई नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। 

प्रतियोगितामा प्रथम हुने टिमलाई प्रदान गरिने पुरस्कार राशिलाई अमेरिकामा रहेका खजुरावासी लीलबहादुर थापाले सहयोग गरेका छन्।

प्रकाशित: १ वैशाख २०८३ १९:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App