इंग्ल्यान्डका पूर्व धावक तथा प्रशिक्षक लियोन बाप्टिस्ट नाबालिगमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा दोषी ठहरिएपछि मोरक्कोमा जेल सजाय भोगिरहेको खुलेको छ।
४१ वर्षीय बाप्टिस्टलाई मे महिनामा माराकेशमा पक्राउ गरिएको थियो। मोरक्कोको न्याय मन्त्रालयका एक स्रोतका अनुसार अदालतले उनलाई सुरुमा १० महिनाको जेल सजाय सुनाएको थियो, जुन पुनरावेदनपछि घटाएर आठ महिना कायम गरिएको हो। उनी हाल अल-उदाया जेलमा सजाय भोगिरहेका छन्।
बाप्टिस्ट २०१० को कमनवेल्थ गेम्सका २०० मिटरका स्वर्णपदक विजेता हुन्। पछिल्लो समय उनी बेलायतका शीर्ष धावकहरूलाई प्रशिक्षण दिँदै आएका थिए र यूके एथलेटिक्सका लागि सल्लाहकार स्प्रिन्ट प्रशिक्षकका रूपमा पनि काम गरिरहेका थिए।
तर तीन महिनाभन्दा बढी समयदेखि उनी सम्पर्कविहीन भएपछि उनका खेलाडी र यूके एथलेटिक्ससमेत उनको अवस्थाबारे अनभिज्ञ थिए। मे महिनामा उनले आफू केही समय प्रशिक्षणमा उपस्थित हुन नसक्ने छोटो सन्देश खेलाडीहरूलाई पठाएका थिए।
यसैबीच, उनलाई मोरक्कोमा ‘हराइरहेको’ भन्दै समाचार सार्वजनिक भएपछि मंगलबार उनका प्रशिक्षार्थीहरूलाई उनको तर्फबाट राजीनामाको इमेल पठाइएको थियो। इमेलमा स्वास्थ्य समस्याका कारण पदबाट हटेको उल्लेख गरिएको थियो। मोरक्कोको न्याय मन्त्रालयका स्रोतले भने बाप्टिस्ट हराएका नभई अदालतबाट दोषी ठहरिएपछि जेलमा रहेको स्पष्ट पारेको छ।
प्रकाशित: ४ भाद्र २०८३ १०:१६ बिहीबार





