४ भाद्र २०८३ बिहीबार
image/svg+xml
स्वास्थ्य

आश्चर्यमा आँखासँगै खुल्छ मस्तिष्क

कुनै आश्चर्यजनक कुरा सुन्दा र देख्दा आँखा ठुलो पार्नुलाई हामी सामान्य ठान्छौं तर नयाँ अनुसन्धानले यस्तो प्रतिक्रियाले मानिसलाई परिस्थितिअनुसार आफूलाई ढाल्न, छिटो सिक्न र पूर्वाग्रह घटाउन मद्दत गर्ने देखाएको छ।

अनुसन्धानअनुसार कुनै अप्रत्यासित घटना हुँदा मानिसको ध्यान त्यसतर्फ तानिने मात्र होइन, मस्तिष्कमा तीव्र परिवर्तनसमेत हुन्छ। यसले मानिसलाई परिवर्तित परिस्थितिमा ढाल्न मद्दत गर्छ।

‘आँखाको नानी फैलिनु उत्तेजना बढेको संकेत हो। हाम्रो अध्ययनले उत्तेजनामा हुने तीव्र उतारचढावले मस्तिष्कमा उपयोगी काम गरिरहेको देखिन्छ,’ अध्ययनका लेखक तथा ब्राउन विश्वविद्यालयका स्नायु विज्ञान, संज्ञानात्मक तथा मनोवैज्ञानिक विषयका सहप्राध्यापक म्याट नासारलाई उद्धृत गर्दै विश्वविद्यालयद्वारा जारी विज्ञप्तिमा लेखिएको छ।

‘नेचर ह्युमन बिहेभियर’ नामक वैज्ञानिक जर्नलमा प्रकाशित उक्त अध्ययनअनुसार आश्चर्यले मस्तिष्कलाई पुराना अडानबाट केही हदसम्म मुक्त गर्छ र परिस्थितिमा परिवर्तन आउँदा मानिसलाई अझ सही ढंगले प्रतिक्रिया दिन मद्दत गर्छ। ब्राउन विश्वविद्यालयअन्तर्गतको कार्ने इन्स्टिच्युट फर ब्रेन साइन्सका अनुसन्धानकर्ताको नेतृत्वमा गरिएको अध्ययनले सतर्कतामा आउने छोटा तर तीव्र परिवर्तनले मस्तिष्कलाई आफ्ना पुराना अपेक्षा पुनः समायोजन गर्न सहयोग गर्ने देखाएको छ। यसले मानिसलाई नयाँ सूचनाबाट सिक्न र पुराना धारणाबाट गलत दिशामा जानबाट जोगिन मद्दत गर्छ।

जब कुनै अप्रत्याशित घटना हुन्छ तब मानव शरीरले लगभग तुरुन्तै प्रतिक्रिया दिन्छ। आँखाको नानी फैलिन्छ, मस्तिष्कको गतिविधिमा परिवर्तन आउँछ र मस्तिष्कमा ‘नोरेपाइनफ्राइन’ नामक रासायनिक सन्देशवाहकको मात्रा बढ्छ। नोरेपाइनफ्राइन शरीरमा संकटसँग लडने अथवा भाग्न प्रतिक्रिया दिन सक्रिय रासायनिक सन्देशवाहक हो। यो प्रतिक्रिया मस्तिष्कको एउटा सानो भाग ‘लोकस कोरुलियस’बाट सुरु हुन्छ। आकारमा निकै सानो भए पनि यसले मस्तिष्कका धेरै भागमा संकेत पठाउँछ। यी संकेत सतर्कता र शरीरको तनाव प्रतिक्रियासँग सम्बन्धित छन्।

सहप्राध्यापक नासारका अनुसार मस्तिष्कले कुनै निश्चित परिस्थितिको मानसिक सन्दर्भलाई स्मृतिमा राख्छ। जब मस्तिष्कले आफू नयाँ परिस्थितिमा पुगेको महसुस गर्छ तब पुरानो सन्दर्भलाई नयाँ सन्दर्भले प्रतिस्थापन गर्छ। आँखाको नानीको आकारमा आउने परिवर्तन तथा मस्तिष्कको गतिविधि मापन गर्ने इलेक्ट्रोइन्सेफालोग्राफी (इइजी) मा देखिने निश्चित संकेतहरूले मस्तिष्कले नयाँ सन्दर्भ ग्रहण गरिरहेको देखाउँछन्। यसले पुरानो परिस्थितिको प्रभावलाई कम गर्छ र पुराना अपेक्षाबाट मुक्त एउटा नयाँ मानसिक अवस्था बनाउँछ। त्यसैले मानिसले नयाँ विषय अझै छिटो सिक्न सक्छ।

मस्तिष्कले कसरी आफूलाई अनुकूल बनाउँछ?

यो प्रक्रिया बुझ्न अनुसन्धानकर्ताले सरल तरिकाले दृश्य परीक्षण गरे। ६३ जना सहभागीलाई कम्प्युटरको स्क्रिनमा विभिन्न रङका वर्ग (स्क्वायर) देखाइयो र अर्को पटक कुन रङ देखिन सक्छ भनेर पटकपटक अनुमान गर्न लगाइयो।

हरेक चरणपछि उनीहरूले आफूले देखेको कुरा बताए र त्यसका आधारमा आफ्नो अपेक्षा परिवर्तन गरे। परीक्षणभर अनुसन्धानकर्ताले सहभागीको आँखाको नानीको आकार मापन गरे र इइजी प्रयोग गरेर मस्तिष्कको गतिविधि रेकर्ड गरे।

अध्ययनका सहलेखक ह्यारिसन मार्बलका अनुसार अनुसन्धानकर्ताले उत्तेजना प्रणालीले व्यवहारमा पार्ने दुई मुख्य प्रभावलाई अध्ययन गर्न खोजेका थिए, जसमा एउटा सिकाइसँग र अर्को धारणासम्बन्धी पूर्वाग्रहसँग सम्बन्धित थियो। अन्ततः ५७ वटा इइजी डाटासेट र ६० वटा आँखाको नानीसम्बन्धी मापनबाट प्राप्त तथ्यांकले मानिस आश्चर्यचकित हुँदा मस्तिष्कले कसरी प्रतिक्रिया जनाउँछ भन्ने विस्तृत चित्र प्रस्तुत गर्‍यो।

अपेक्षा गलत हुँदा मस्तिष्कमा के हुन्छ?

अनुसन्धानमा स्पष्ट र समान प्रकारको ढाँचा देखियो। अध्ययनमा सहभागी अपेक्षाअनुसारकै रङ देख्दा आफ्नै अपेक्षामाथि धेरै निर्भर रहे। अर्थात् उनीहरूको धारणा आफूले पहिले सोचेक कुरातर्फ बढी देखियो। तर अपेक्षा गरिएभन्दा फरक रङ देखिएपछि अवस्था परिवर्तन भयो। आँखाको नानी फैलियो र मस्तिष्कका केही विद्युतीय तरंग बलिया भए। यी संकेतले मस्तिष्कको सूचना प्रशोधन तरिकामा परिवर्तन आएको देखाए।

अध्ययनतमा सहभागी आफ्ना पुराना अपेक्षाबाट कम प्रभावित भए र वास्तवमा आँखाले देखेको कुरामा बढी भर पर्न थाले। साथै भविष्यमा के हुन सक्छ भन्ने आफ्नो अनुमान पनि उनीहरूले अझै प्रभावकारी ढंगले समायोजन गरे। अर्थात् आश्चर्यले मानिसलाई वास्तविकता अझ स्पष्ट रूपमा बुझ्न र नयाँ कुरा छिटो सिक्न मद्दत गर्‍यो।

मस्तिष्कको स्वचालित ‘रिसेट’ प्रणाली

अनुसन्धानकर्ताले यो प्रक्रियालाई एक प्रकारको ‘मानसिक रिसेट’ का रूपमा व्याख्या गरेका छन्। जब मस्तिष्कले आफूले अपेक्षा गरेको कुरा र वास्तविकताबिच फरक पाउँछ, त्यतिबेला उसले विगतको सूचनाको प्रभाव कम गर्छ। यसले नयाँ सूचनालाई प्राथमिकता दिन सम्भव बनाउँछ। पुरानो र अब उपयोगी नरहेको धारणामा अडिग रहँदा हुने गल्तीबाट पनि यसले जोगाउँछ।

तर यो रिसेटले सधैं सिकाइको मात्रा बढाउँछ भन्ने होइन। बरु परिस्थितिअनुसार सिकाइको गति परिवर्तन गर्छ। जहाँ निरन्तर परिवर्तन हुने सम्भावना हुन्छ, त्यहाँ मस्तिष्कले नयाँ सूचनाबाट बढी सिक्छ तर वातावरण स्थिर छ भने उसले सावधानी अपनाउँछ र प्रत्येक सानो वा आकस्मिक परिवर्तनमा अत्यधिक प्रतिक्रिया दिँदैन। यस्तो लचकदार प्रणालीले तीव्र रूपमा परिवर्तन भइरहने जटिल वातावरणमा मानिसलाई अनुकूल हुन मद्दत गर्छ।

धारणालाई आकार दिने संकेत

अध्ययनले मानिसले कुनै कुरा कसरी बुझ्छ र त्यसबाट कसरी सिक्छ भन्ने दुई प्रक्रिया एकआपसमा नजिकबाट जोडिएको देखाएको छ।

पूर्वाग्रह घटाउने उत्तेजनाका संकेतहरूले नै मानिसले आफ्ना पुराना विश्वास वा अपेक्षालाई कति परिवर्तन गर्ने भन्ने कुरामा पनि प्रभाव पार्छन्। जब उत्तेजनाका संकेत बलिया हुन्छन् तब मानिस पुरानो अपेक्षामा कम र आफ्ना इन्द्रियले प्राप्त गरेको वास्तविक सूचनामा बढी निर्भर हुन्छ। परिस्थितिमा परिवर्तन आएको अवस्थामा यसले उसको सही निर्णय गर्ने क्षमता बढाउँछ। यसरी मस्तिष्कले एउटा सन्तुलन कायम गर्छ– हरेक सानो परिवर्तनमा आफ्नो धारणा बदलिरहनु पर्दैन तर अर्थपूर्ण परिवर्तन आएमा त्यसलाई तुरुन्तै पहिचान गर्न सकिन्छ।

पर्दापछाडि चल्ने प्रणाली

अनुसन्धानको सबैभन्दा रोचक पक्षमध्ये एउटा के हो भने यो प्रक्रिया मानिसको सचेत प्रयासबिना हुन्छ। सहभागीलाई आफ्ना आँखाका नानी वा मस्तिष्कको गतिविधिमा भइरहेको परिवर्तनबारे जानकारी थिएन तर यी संकेतले उनीहरूले सूचना कसरी बुझ्ने र त्यसबाट कसरी सिक्ने भन्ने कुरालाई प्रभावित गरिरहेका थिए। अनुसन्धानकर्ताले मस्तिष्कले आफैं पनि यस्ता संकेत उत्पन्न गर्न सक्ने प्रमाण पाए। कतिपय अवस्थामा नयाँ दृश्य उत्तेजना नहुँदा पनि आँखाको नानी फैलिएको थियो। यसले मस्तिष्कले परिस्थितिमा परिवर्तन आएको महसुस गर्दा बाह्य घटना नहुँदा पनि आफैंलाई ‘रिसेट’ गर्न सक्ने सम्भावना देखाउँछ।

व्यक्तिअनुसार फरक तर एउटै आधारभूत प्रणाली

अध्ययनमा सबै सहभागीले एउटै ढंगले प्रतिक्रिया दिएनन्। केहीमा उत्तेजनाका संकेत र व्यवहारबिचको सम्बन्ध अरूको तुलनामा बलियो थियो। तर एउटा स्पष्ट समानता देखियो। जसमा यस्ता संकेतले उनीहरूको धारणामाथि बलियो प्रभाव पारेका थिए, सिकाइमा पनि त्यस्तै बलियो प्रभाव परेको देखियो। यसले धारणा र सिकाइ दुवैलाई एउटै आधारभूत मस्तिष्क प्रणालीले निर्देशित गर्ने सम्भावना देखाउँछ। अर्थात्, मानिसले आफ्नो सोचाइ र धारणालाई परिस्थितिअनुसार कसरी परिवर्तन गर्छ भन्ने प्रक्रियाका पछाडि एउटै साझा संयन्त्र हुन सक्छ।

मस्तिष्क बुझ्ने नयाँ दृष्टिकोण

अध्ययनले परिवर्तनसँग मस्तिष्कले आफूलाई कसरी अनुकूल बनाउँछ भन्नेबारे नयाँ दृष्टिकोण प्रस्तुत गरेको छ। मस्तिष्क घटनापछि मात्र प्रतिक्रिया दिने अंग होइन। यसले निरन्तर वरपरका घटनाका ढाँचालाई पहिचान गर्छ र संसारबारे आफ्नो आन्तरिक बुझाइलाई अद्यावधिक गरिरहन्छ।

उत्तेजनाका संकेतले धारणा र सिकाइबिच पुलको काम गर्छन्। तिनले मस्तिष्कलाई विगतको अनुभवमा कहिले भरोसा गर्ने र कहिले त्यसलाई छाड्ने भन्ने निर्णय गर्न मद्दत गर्छन्। सायद यही कारणले आश्चर्य आफैंमा यति धेरै शक्तिशाली अनुभव हुन्छ। यसले केही महत्त्वपूर्ण परिवर्तन भएको संकेत गर्छ र हाम्रो ध्यान त्यसतर्फ खिच्छ।

व्यावहारिक महत्त्व

अनुसन्धानले शिक्षा, निर्णय क्षमता र मानसिक स्वास्थ्यसम्बन्धी अनुसन्धानमा महत्त्वपूर्ण प्रभाव पार्न सक्छ। मस्तिष्कले नयाँ सूचनासँग आफूलाई कसरी समायोजन गर्छ भन्ने बुझेर वैज्ञानिकले सिकाइ सुधार्न नयाँ उपाय विकास गर्न सक्छन्। कक्षाकोठामा शिक्षकले पूर्ण रूपमा पूर्वानुमान गर्न सकिने पाठसँगै केही अप्रत्याशित वा आश्चर्यजनक तत्व समावेश गरी पाठ योजना बनाउन सक्छन्। यसले विद्यार्थीको ध्यान र सिकाइलाई प्रभावकारी बनाउन सक्छ। निर्णय प्रक्रियामा पनि यसले उपयोगी संकेत दिन सक्छ।

कुनै कुरा हाम्रो अपेक्षाभन्दा फरक हुँदा उत्पन्न हुने आश्चर्यलाई आफ्ना पूर्वधारणा पुनःजाँच गर्ने अवसरका रूपमा प्रयोग गर्न सकिन्छ। यसले अझ राम्रो निर्णय लिन मद्दत गर्न सक्छ। अध्ययनले समग्रमा बदलिँदो संसारमा मानिसले आफूलाई कसरी अनुकूल बनाउँछ भन्ने हाम्रो बुझाइलाई थप गहिरो बनाउने वैज्ञानिक अपेक्षा छ। अनिश्चित परिस्थितिमा सफल हुन मानिसको सोचाइ र धारणामा लचकता कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरा पनि यसले देखाएको अनुसन्धानकर्ताको दाबी छ।

(ब्राउन विश्वविद्यालयको विज्ञप्ति र विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय समाचारमा आधारित)

प्रकाशित: ४ भाद्र २०८३ १०:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App