करिब पाँच हजार धावकले प्रतिस्पर्धा गर्ने काठमाडौं म्याराथनको १७औं संस्करण आगामी कात्तिकमा हुने भएको छ।
एनआरएस स्पोटर्स फाउन्डेसनले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै काठमाडौं म्यारानको आगामी संस्करणको कात्तिक १ गते हुने जनाएको हो। नेपालको सबैभन्दा पुरानो काठमाडौं म्याराथन सन् २००७ देखि सुरु भएको थियो।
उक्त पत्रकार सम्मेलनमा काठमाडौं म्याराथन र मुख्य प्रायोजक सिद्धार्थ बैंकबीच सहकार्यका लागि सम्झौता भएको छ। एनआरएस स्पोटर्स फाउन्डेसनका अध्यक्ष नीलेन्द्रराज श्रेष्ठ र सिद्धार्थ बैंकको मार्केटिङ प्रमुख सुरेशराज महर्जनबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ। यो सम्झौता तीन वर्षका लागि भए पनि सहकार्यको अविधि बढ्न सक्ने बताइएको छ।
एनआरएस स्पोटर्स फाउन्डेसनका अध्यक्ष नीलेन्द्रराज श्रेष्ठ यस संस्करणको म्याराथनबारे जानकारी दिएका दिए। उनले म्याराथन आयोजना गर्नका लागि धेरै कठिन भएको र यस किसिमको आयोजनाले नेपालको पर्यटनमा समेत ठूलो सहयोग पुग्ने बताए।
नेपाल पर्यटन बोर्डका निर्देशक सुनील शर्माले काठमाडौं म्याराथन जस्ता आयोजनालाई विश्व व्यापी बनाउन सहयोग गर्नुपर्ने औंल्याउँदै यस किसिमका म्याराथनले पर्यटन विकासमा पनि ठूलो टेवा पुर्याउने आशा व्यक्त गरेका छन्।
उक्त पत्रकार सम्मेलनमा नेपाल एथ्लेटिक्स संघका महासचिव सञ्जीव तुलाधार, म्याराथन धाविका सन्तोषी श्रेष्ठ, प्रशिक्षक र विभिन्न कर्पोरेट हाउसका प्रतिनिधि उपस्थिति थिए।
१७ औं संस्करणमा कुल १३ वटा फरकफरक विधामा प्रतिस्पर्धा हुने भएका छन्। मुख्य विधाका विजेताहरूले पुरस्कार पनि पाउनेछन्। यसपल्ट करिब पाँच हजार धावक काठमाडौं म्याराथनमा दौडिने आयोजकको अपेक्षा छ। तीमध्ये दुई सय जना अन्तर्राष्ट्रिय धावकले यस म्याराथनमा प्रतिस्पर्धा गर्न सक्ने आयोजकको विश्वास छ। यस प्रतियोगिताले स्वास्थ्यप्रति जागरण, खेल पर्यटनको प्रवर्धन र नेपाली धावकलाई घरेलु भूमिमा नै अन्तर्राष्ट्रिय स्तरमा एक्सपोजर लगायत प्रदान गरेको छ। गत वर्ष देशमा आएको अत्याधिक वर्षाका कारण काठमाडौं म्याराथनको रुटका साथै देशभर नै असर परेको थियो।
यो वर्षाले मानवीय र ठूलो मात्रामा भौतिक क्षतिमा पनि पुर्याएको थियो तर म्याराथनको रुटमा बाधा र भारी वर्षाका बीचले धावकले सक्रियतापूर्वक सहभागिता जनाएका थिए। नेपाल फर नेपाली रिलेसन फरएभर भन्ने नाराका साथ सुरु भएको यस म्याराथनमा दशरथ रंगशालाबाट सुरु भई विभिन्न स्थानको परिक्रमा गराएर त्यही अन्त्य हुनेछ। उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थान परिक्रमा हुँदै यो म्याराथन सञ्चालन गरिँदैछ। काठमाडौं म्याराथनको सुरुआतपछि नै देशमा विभिन्न किसिमका छोटो दूरीको म्याराथन आयोजना हुन थालेको आयोजकको विश्वास छ।
प्रकाशित: १० आश्विन २०८२ ०७:०२ शुक्रबार





