विश्वकप २०२६ को समूह चरणमा रेफ्री र भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) का केही निर्णयले ठूलो विवाद सिर्जना गरेका छन्। कतिपय टोलीले यस्ता निर्णयका कारण जित वा नकआउट चरणमा पुग्ने अवसर गुमाएका छन्।
समूह चरणका पाँच चर्चित विवादास्पद निर्णय यस्ता छन् :
१. इरानको अन्तिम समयमा गोल रद्द
समूह चरणअन्तर्गत शनिबार इरान र इजिप्टको १–१ को बराबरी खेले। जसमा रेफ्रीको सबैभन्दा विवादास्पद निर्णय आयो। स्टपेज टाइमको तेस्रो मिनेटमा वैकल्पिक खेलाडी शोजा खलिलजादेहको गोल भिएआर जाँच पछि अफसाइड ठहर गर्दै रद्द गरियो।
डिफेन्डर खलिलजादेहले नजिकबाट शानदार रूपमा बललाई नेटमा प्रहार गरेपछि सियाटल स्टेडियममा उत्सव सुरु भयो। तर इरानी खुशी चाँडै नै हृदयविदारकमा परिणत भयो जब भिएआरले खलिलजादेहलाई अफसाइड भएको बताए। रिप्लेमा खलिलजादेह मुश्किलले एक मिलिमिटर अफसाइड देखिएका थिए। यो निर्णयसँगै इरान नकआउट चरणमा पुग्ने अवसरबाट वञ्चित भयो।
.jpg)
२. कोलम्बियाको विजयी गोल पनि अफसाइड
आइतबार मियामीमा भएको एक रोमाञ्चक प्रतिस्पर्धामा पोर्चुगलविरुद्ध डेभिन्सन सान्चेजले अन्तिम समयमा गरेको हेडर गोल अफसाइडका कारण मान्यता पाएन।
उनले जुआन क्विन्टेरोको क्रसलाई हेड गरेका थिए। त्यतिबेला मैदानमा पोर्चुगलमाथि जितको उत्सव सुरु भएको थियो। तर सान्चेजले उत्सव मनाउन नभ्याउँदै लाइन्सम्यानले अफसाइडको लागि झण्डा उठाए।
रिप्लेमा उनको औंला मात्र अगाडि देखिएपछि गोल रद्द गरिएको थियो। यसले कोलम्बियालाई महत्वपूर्ण जितबाट वञ्चित गरायो।
.jpg)
३. घानाले पाएन पेनाल्टी
इङ्ग्ल्यान्डसँग ०–० को बराबरी खेलमा घानाले पेनाल्टी नपाएको भन्दै असन्तुष्टि जनाएको थियो। बोस्टनमा भएको खेलको ७९ औं मिनेटमा इङ्गल्याण्डका एज्री कोन्साले लङ्गिङ ट्याकलले प्रिन्स क्वाबेना अडुलाई तल झार्न खोजे।
बलसँग कुनै सम्पर्क नभएको अवस्थामा डिफेन्डर कोन्साले फरवार्ड अडुलाई घुँडामा समातेर हाने। तर रेफ्रीले पेनाल्टी दिएनन् र भिएआरले पनि हस्तक्षेप गरेन। जुन निर्णयले घानालाई अग्रता लिने मौका दिन सक्थ्यो।
४. भिनिसियस जुनियरको गोल रद्द
स्कटल्यान्डविरुद्ध ब्राजिलका भिनिसियस जुनियरले गरेको गोल रद्द गरियो।
२२ औं मिनेटमा जुनियरले स्कटल्याण्ड विरुद्ध ब्राजिलको अग्रता दोब्बर बनाएका थिए। तर, भिएआर समीक्षा पछि फाउल भएको भन्दै रद्द गरियो। निर्णय विवादास्पद बनेपछि ब्राजिल फुटबल महासंघले भिएआर प्रयोगको मापदण्डबारे फिफासँग स्पष्टता मागेको थियो।
५. जर्मनीको गोलअघि फाउल भएको दाबी
.jpg)
इक्वेडरविरुद्ध जर्मनीका लेरोय सानेले गरेको गोलअघि अलेक्जान्डर पाभलोभिकले विपक्षी खेलाडीमाथि फाउल गरेको भन्दै इक्वेडरले विरोध जनाएको थियो।
किकअफ भएको दुई मिनेट भित्रै सानेले फ्लोरियन विर्ट्जकोले अफबाट दिएको बलमा गोल गरे। तर इक्वेडरले यसअघि फाउल नगरिएकोमा आक्रोशित भयो। गोल अघि अलेक्जान्डर पाभलोभिकले हाई बुटले पेड्रो भिटको टाउको हानेको स्पष्ट देखिन्थो। तर भिएआर ले हस्तक्षेप नगरेपछि गोल कायम रह्यो।
विश्वकप २०२६ को समूह चरणमा भिएआरले धेरै निर्णयलाई स्पष्ट बनाउन सहयोग गरे पनि केही निर्णयले समर्थक, खेलाडी र प्रशिक्षकबीच अझै पनि बहस र विवादलाई निरन्तरता दिएको छ।
प्रकाशित: १५ असार २०८३ १२:१३ सोमबार





