फिफा विश्वकप २०२६ अन्तर्गत नकआउट चरणमा युरोपका दुई बलिया टोली पोर्चुगल र क्रोएसिया भिड्दैछन्। टोरन्टो स्टेडियममा हुन लागेको खेल नेपाली समयअनुसार शुक्रबार बिहान ४ः४५ बजेबाट सुरु हुनेछ।
दुवै टोली अन्तिम १६ मा पुग्ने लक्ष्यका साथ मैदान उत्रने भएकाले खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।
रोबर्टो मार्टिनेजको प्रशिक्षणमा रहेको पोर्चुगल समूह चरणमा पाँच अंकसहित आफ्नो समूहको दोस्रो स्थानमा रह्यो। टोलीले एक जित र दुई बराबरी खेल्यो। टोलीले ६ गोल गर्यो भने केवल एक गोल मात्र खायो। पछिल्लो खेलमा पोर्चुगलले कोलम्बियासँग गोलरहित बराबरी खेलेको थियो।
यता ज्लाट्को डालिचको नेतृत्वमा रहेको क्रोएसियाले समूह चरणमा ६ अंक जोड्दै नकआउटमा स्थान सुरक्षित गर्यो। सुरुआती हारपछि टोलीले लगातार दुई खेल जितेर नकआउट चरणमा स्थान बनाएको हो। समूह चरणमा क्रोएसियाले पाँच गोल गर्यो भने पाँच गोल नै बेहोर्यो।
रोनाल्डोका लागि निर्णायक परीक्षा
विश्व फुटबलमा पछिल्लो चरणका सर्वाधिक चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डो लगातार छैटौं विश्वकप खेलिरहेका छन्। तर उनको करियरमा उनले अहिलेसम्म नकआउट चरणमा कुनै गोल वा असिस्ट गर्न सकेका छैनन्।
समूह चरणमा उज्बेकिस्तानविरुद्ध दुई गोल गरे पनि कंगो डीआर र कोलम्बियाविरुद्ध उनी प्रभावशाली देखिन सकेनन्। तीनै खेलको पूरा समय मैदानमा बिताएका रोनाल्डोमाथि अहिले थप दबाब छ।
यदि उनले क्रोएसियाविरुद्ध गोल गर्दै टोलीलाई जित दिलाउन सके आलोचनाको स्वर कमजोर बन्नेछ। तर त्यसो हुन नसके विश्वकप उपाधि जित्ने उनको सम्भावित अन्तिम अवसर थप कठिन बन्न सक्छ।
पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेज पनि दबाबमा छन्। बुढो हुँदै गएका रोनाल्डोमाथिको अत्यधिक निर्भरता तथा बलियो मिडफिल्ड स्रोतको प्रभावकारी उपयोग गर्न नसकेको भन्दै उनको आलोचना भइरहेको छ। क्रोएसियाविरुद्धको खेलले उनको रणनीतिक क्षमताको पनि कडा परीक्षा लिने अपेक्षा गरिएको छ।
नकआउट चरणको अनुभवी टोली क्रोएसिया
क्रोएसिया पछिल्लो एक दशकदेखि प्रमुख प्रतियोगिताको नकआउट चरणमा सबैभन्दा कठिन प्रतिद्वन्द्वीमध्ये एक मानिन्छ। २०१८ विश्वकपमा फाइनल र २०२२ विश्वकपमा सेमिफाइनलसम्मको यात्रामा उनीहरूले पेनाल्टी सुटआउट र एक गोलको अन्तरका जितमार्फत् आफ्नो मानसिक मजबुती प्रमाणित गरेका थिए।
लुका मोड्रिचको अनुभवसहितको टोलीले खेलको गति नियन्त्रण गर्ने, विपक्षीलाई अवसर नदिने र आवश्यक पर्दा खेललाई पेनाल्टीसम्म पुर्याउने क्षमता राख्छ। समूह चरणमा पनि पनामा र घानाविरुद्ध एक–एक गोलको कठिन जित निकालेका थिए।यद्यपि टोलीमा केही अनुभवी खेलाडी उमेरका कारण चुनौतीमा छन्। प्रशिक्षक ज्लाट्को डालिकले केही युवा प्रतिभालाई अवसर दिँदै टोलीमा नयाँ ऊर्जा थपेका छन्। त्यसैले पोर्चुगलविरुद्ध पनि क्रोएसिया सजिलै हार मान्ने पक्षमा देखिँदैन।
दुवै टोलीका लागि सुखद पक्ष भनेको हालसम्म कुनै प्रमुख खेलाडी चोट वा निलम्बनका कारण बाहिर छैनन्। पोर्चुगलमा कप्तान क्रिस्टियानो रोनाल्डोसँगै ब्रुनो फर्नान्डेस, बर्नार्डो सिल्भा र गोन्कालो रामोस उपलब्ध छन्। क्रोएसियाले पनि आफ्नो बलियो टोली मैदानमा उतार्ने तयारी गरेको छ।
पछिल्ला पाँच खेलमा पोर्चुगलले दुई जित, दुई बराबरी र एक हार बेहोरेको छ। क्रोएसियाले भने तीन जित र दुई हारको नतिजा निकालेको छ।
हेड–टु–हेडमा भने पोर्चुगल केही अगाडि देखिन्छ। पछिल्ला पाँच भेटमध्ये पोर्चुगलले तीन खेल जितेको छ। क्रोएसियाले एक खेल जितेको छ भने एक खेल बराबरीमा सकिएको छ। दुई टोलीबीचको पछिल्लो भेट २०२४ नोभेम्बरमा १–१ को बराबरीमा टुंगिएको थियो।
रोमाञ्चक प्रतिस्पर्धाको अपेक्षा
रोनाल्डो र मोड्रिचजस्ता विश्व फुटबलका दुई महान् खेलाडी सम्भवतः आफ्नो अन्तिम विश्वकप यात्रामा छन्। त्यसैले यो खेल केवल अन्तिम १६ प्रवेशको लडाइँ मात्र नभई दुई अनुभवी स्टारका लागि पनि महत्वपूर्ण परीक्षा हुनेछ।
पोर्चुगल आफ्नो आक्रमणबाट दबाब सिर्जना गर्न चाहन्छ भने क्रोएसिया आफ्नो परम्परागत अनुशासित र संयमित खेलमार्फत अर्को नकआउट सफलता दोहोर्याउने लक्ष्यमा हुनेछ।
प्रकाशित: १८ असार २०८३ १६:५४ बिहीबार





