फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ अन्तर्गत सिएटलमा भइरहेको खेलमा बेल्जियमले पुनः अग्रता लिएको छ।
खेलको ५७ औं मिनेटमा हान्स भानकेनले गरेको गोलका कारण बेल्जियमले अमेरिकाविरुद्ध ३-१ को अग्रतम बढाएको हो।
यसअघि, खेलको ३२औं मिनेटमा चार्ल्स डी केटलेरेले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई २-१ को स्थितिमा पुर्याएका थिए। खेलको नवौं मिनेटमा पनि केटलेरेले नै गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए।
यस्तै, खेलको ३१औं मिनेटमा अमेरिकाका मलिक टिलम्यानले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका थिए। टिलम्यानको प्रहारमा हान्स भनाकेनले हेड गर्दा बलले दिशा परिवर्तन गरी बेल्जियमका गोलरक्षक थिबाउट कोर्टुआलाई झुक्याउँदै जाली चुमेको थियो।
तर, बराबरीको केही क्षणमै बेल्जियमले उत्कृष्ट जवाफ फर्कायो। लेन्ड्रो ट्रोसार्डले बाँया भागबाट दिएको क्रसमा डी केटलेरेले रिचर्ड्स र रिमभन्दा माथि उफ्रेर उत्कृष्ट हेडरमार्फत गोल गर्दै बेल्जियमलाई पुनः अग्रता दिलाएका हुन्।
प्रकाशित: २३ असार २०८३ ०७:०७ मंगलबार





