२ असार २०८३ मंगलबार
image/svg+xml
खेल

फिफा विश्वकप २०२६ : ‘हाइड्रेसन ब्रेक’ले नयाँ बहस सिर्जना

फिफा विश्वकप २०२६ का खेलमा अनिवार्य रूपमा भइरहेको ‘हाइड्रेसन ब्रेक’ (पानी पिउने विश्राम) ले नयाँ बहस सिर्जना गरेको छ।

उत्तरी अमेरिकामा जारी विश्वकपअन्तर्गत दुवै हाफको प्रत्येक खेलमा २२औं मिनेटमा ‘हाइड्रेसन ब्रेक’ भइरहेका छन्। तर, हाइड्रेसन ब्रेकबारे केही आलोचना हुन सुरु भएको छ। खेलाडीहरूको स्वास्थ्य र अत्यधिक गर्मीबाट जोगाउन यसको सुरु भएको हो। केही प्रशिक्षक र पूर्वखेलाडीहरूले भने यो ब्रेक खेलको लय बिगार्ने माध्यमका बनिरहेको भन्दै आलोचना गरेका छन्। अमेरिका, मेक्सिको र क्यानडामा भइरहेको विश्वकपका सबै १०४ खेलमा तीन मिनेटको हाइड्रेसन ब्रेक अनिवार्य गरिएको छ। फिफाले उच्च तापक्रम र हुमिडिटीबाट खेलाडीलाई सुरक्षित राख्न यो नियम राखेको हो। 

तर तापक्रम नियन्त्रण हुने र छाना बन्द गर्न मिल्ने रंगशालामा समेत यो नियम लागू गरिएपछि प्रश्न उठ्न थालेका छन्। सह-आयोजक अमेरिकाका प्रशिक्षक मौरिसियो पोचेटिनोले सामान्य मौसममा यस्तो व्यवस्था आवश्यक नभएको बताएका छन्। ‘अत्यधिक गर्मी भएको अवस्थामा मात्र यो उचित हो। मौसम राम्रो हुँदा खेल रोक्नु आवश्यक देख्दिनँ,’उनले भने। विश्वकपको सुरुआती खेलहरूमा हाइड्रेसन ब्रेकपछि खेलको दिशा नै परिवर्तन भएका उदाहरणहरू देखिएका छन्। मोरक्कोविरुद्धको खेलमा ब्राजिल पहिलो हाफमा १-० ले पछाडि परेको थियो। यस्तो अवस्थामा हाइड्रेसन ब्रेकपछि ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोट्टीले रणनीतिक परिवर्तन गरे।

त्यसको केही मिनेटमै ब्राजिलले बराबरी गोल फर्कायो। ब्रेकका क्रममा एन्सेलोटीले खेलाडीलाई समस्या बुझाउने र रणनीति परिमार्जन गर्ने अवसर मिल्ने उल्लेख गरे। ‘तपाईंले खेलाडीलाई समस्या के हो भनेर बुझाउन सक्नुहुन्छ। आवश्यक परे रणनीतिक समायोजन पनि गर्न सकिन्छ,’ उनले भने। इङ्ल्यान्ड महिला टोलीकी प्रशिक्षक एमा हेजले भने यसलाई ‘मोमेन्टम ब्रेक’ को संज्ञा दिएकी छन्। अग्रता लिइरहेको टोलीको लय तोड्ने र दबाबमा रहेको टोलीलाई पुन: संगठित हुने मौका दिने काम यस्तो ब्रेकले गरेको उनको भनाइ छ। 

सन् २०१० विश्वकप विजेता स्पेनी पूर्वमिडफिल्डर हुवा माटाले पनि खेलाडीको दृष्टिकोणबाट यस्तो व्यवस्था उपयुक्त नलाग्ने धारणा राखेका छन्। ‘तपाईं पछाडि हुँदा गोल फर्काउन हतार हुन्छ। अगाडि हुनुहुन्छ भने खेल नियन्त्रण गर्न चाहनुहुन्छ। यस्तो अवस्थामा खेल रोकिनु राम्रो होइन,’ उनले भने। कतिपय खेलमा हाइड्रेसन ब्रेकपछि नतिजा नै उल्टिएको देखिएको छ। जर्मनीविरुद्ध बराबरीमा पुगेको विश्वकप डेब्युटेन्ट कुरासाओ ब्रेकपछि धरासयी बन्यो। अन्तत: कुरासाओ ७-१ ले पराजित भयो। दक्षिण कोरियाविरुद्ध उत्कृष्ट खेलिरहेको चेकिया पनि ब्रेकपछि लय पुग्यो र २-१ को हार बेहोर्‍यो। नेदरल्यान्ड्सले जापानविरुद्ध २-१ को अग्रता लिएको थियो।

दोस्रो हाफको हाइड्रेसन ब्रेकपछि डच टोलीले २-२ को बराबरी नतिजा सामना गर्‍यो। इङ्ल्यान्ड तथा आर्सनलका पूर्वस्टार इयान राइटले हाइड्रेसन ब्रेकको उद्देश्यबारे नै शंका व्यक्त गरेका छन्। उनले अमेरिकी ब्रोडकास्टरलाई अतिरिक्त विज्ञापन समय उपलब्ध गराउने यसको सुरु गरिएको आरोप लगाए। ‘यो विज्ञापन थप्ने अर्को उपाय मात्र हो। खेलाडीको हितका लागि भनिए पनि वास्तविकता त्यस्तो देखिँदैन,’ उनले टिप्पणी गरे। यद्यपि सबैले यसको विरोध गरेका छैनन्। स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्टेले खेलाडीको स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। ‘सधैं खेलाडीको स्वास्थ्यबारे सोच्ने गर्छु। केही समय विश्राम लिएर पानी पिउनु र फेरि खेलमा फर्किनु उचित कदम हो,’ उनले भने। बिबिसी

प्रकाशित: २ असार २०८३ ०९:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App