नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई बिदाई गरेको छ।
एसियन गेम्स महिला क्वालिफायर र एसीसी महिला प्रिमियर कपको लागि क्यानले आइतबार टोलीको बिदाई गरेको हो। जसमा, तीन खेलाडी परिवर्तन गरिएको छ।
रचना चौधरी, रोमा थापा र सुमन विष्टलाई हटाएर सीता रानामगर, सोनी पाखरिन र सिमा केसीलाई टोलीमा राखिएको हो। टोलीमा कप्तान इन्दु बर्मा र उपकप्तान पूजा महतोलाई निरन्तरता दिइएको छ।
यसका साथ विन्दु रावल, सम्झना खड्का, रुबि पोद्दार, कविता कुँवर, कविता जोशी, रिया शर्मा, अनु कडायत, मनिषा उपाध्याय र रुबिना क्षेत्री टोलीमा यथावत रहेका छन्। वैकल्पिक खेलाडीमा सावित्री धामी, सोमु बिस्ट, सना परवीन र लक्ष्मी साउदलाई राखिएको छ।
एसियन गेम्स क्वालिफायर मे २३ देखि ३१ सम्म र प्रिमियर कप जुन १ देखि १३ सन्म हुनेछ। दुवै प्रतियोगिता मलेसियामा हुनेछ। एसियन गेम्सका लागि ८ टोलीले प्रतिस्पर्धा गर्नेमा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश पहिल्यै छनोट भइसकेका छन्।
बाँकी ४ टोली छनोट हुन बाँकी छ। यसैको लागि नेपालले छनोट प्रतियोगिता खेल्न लागेको हो।
प्रकाशित: ३ जेष्ठ २०८३ १७:३८ आइतबार





