२ मंसिर २०८३ बुधबार
image/svg+xml
खेल

लुम्बिनीका लागि फेरि सहज बन्यो सुदूरपश्चिम

उपाधि रक्षा गर्ने अभियानमा रहेको लुम्बिनी लायन्सका लागि सुदूरपश्चिम रोयल्स फेरि सहज प्रतिद्वन्द्वी बन्यो। नेपाल प्रिमियर लिगको तेस्रो सिजनमा पनि लुम्बिनी फाइनलमा पुगेको छ।

यसै सिजनमा सुदूरपश्चिमलाई दोस्रोपल्ट हराउँदै लुम्बिनी अर्को उपाधिनजिक छ। सुदूरपश्चिमको बलियो पक्ष बलिङ र फिल्डिङ हो। यसैको साहारा पनि टोली लिगको दोस्रो स्थानमा रह्यो। त्यसैले यसअघि उसले सामान्य योगफल पनि जोगाउँदै आएको थियो। लुम्बिनीविरुद्ध उसको ब्याटिङ लगातार कमजोर बन्दै आएको छ।

कीर्तिपुरमा मंगलबार भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिमले लुम्बिनीसँग ६ विकेटको हार बेहोर्‍यो। यो यस सिजनमा लुम्बिनीसँग उसको दोस्रो हार हो। फाइनलमा पुग्न सके सुदूरपश्चिमले तेस्रोपल्ट लुम्बिनीसँग खेल्नेछ। कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकसमेत टोलीलाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्‍याउन पर्याप्त भएन। डिफेन्डिङ च्याम्पियन लुम्बिनीले लगातार दोस्रो सिजन फाइनलमा स्थान सुरक्षित गर्‍यो।

त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले १०६ रनको सामान्य लक्ष्य दियो। लुम्बिनीले १६.४ ओभरमै चार विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। विकेटकिपर निरोशन डिकवेलाको अविजित अर्धशतक लुम्बिनीको जितमा निर्णायक बन्यो।

गत सिजनको फाइनलमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले नै हराउँदै उपाधि जितेको थियो। यस सिजनको उद्घाटन खेलमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई सात विकेटले पराजित गरेको थियो। पहिलो क्वालिफायरको नतिजाले लुम्बिनीविरुद्ध सुदूरपश्चिमको कमजोर प्रदर्शनलाई फेरि निरन्तरता दिएको छ। यस सिजन दुई भेटमा सुदूरपश्चिमले एउटै क्षेत्रमा सुधार गर्न सकेन ब्याटिङ। समग्रमा एनपिएलमा यी दुई टोलीबीच पाँच भेट भएको छ। सुदूरपश्चिमको यो तेस्रो हार हो।

पहिलो सिजनको लिगमा सुदूरपश्चिमले लुम्बिनीलाई ४५ रनले हराएको थियो। दोस्रो सिजनमा सात विकेटको जित निकालेको थियो। त्यसयता भने लुम्बिनीले सुदूरपश्चिममाथि लगातार तीन खेलमा आफ्नो वर्चस्व कायम गरेको छ।

गत सिजनको फाइनलमा उपाधि गुमाएको सुदूरपश्चिम यसपटक पनि लुम्बिनीलाई रोक्न असफल रह्यो। सुदूरपश्चिम लुम्बिनीसँग गत सिजनको फाइनलमा ८५ रन र यसपल्ट उद्घाटन खेलमा ८७ रनमा अलआउट भएको थियो। पहिलो क्वालिफायरमा पनि राम्रो ब्याटिङ गर्न सकेन। १०६ रनको लक्ष्य पछ्याएको लुम्बिनीको सुरुआत पनि सहज थिएन। ओपनर डार्सी सट खाता नखोल्दै स्कट कुग्गेलिनको बलमा बोल्ड भए। अर्का ओपनर आसिफ शेखलाई पनि चार रनभन्दा अघि बढ्न दिइएन।

हेमन्त धामीको बलमा आसिफलाई कप्तान दीपेन्द्रले क्याच गरेपछि लुम्बिनी दबाबमा परेको थियो। तर डिकवेलाले संयमित र आक्रामक ब्याटिङको संयोजन गर्दै इनिङ सम्हाले। उनले कप्तान रोहित पौडेलसँग तेस्रो विकेटका लागि ३८ रनको साझेदारी गरे।

रोहितले २८ बलमा एक चौकासहित २१ रन जोडे। रोहित ९.३ ओभरमा आउट भए। सन्दीप जोरा १३.३ ओभरमा आठ रनमा पभेलियन फर्किए। त्यसपछि पनि डिकवेलाले आफ्नो लय कायम राखे। उनले ३७ बलमा सात चौका र एक छक्का प्रहार गरे। डिवकेलाले अविजित ५९ रन बनाए। दुई क्याचसमेत लिएका उनी म्यान अफ दी म्याच भए। उनको ब्याटिङले लुम्बिनीलाई सहज जित दिलायो।

सुदूरपश्चिमका थरिन्दु रत्नायकेले दुई तथा हेमन्त र स्कटले समान एक विकेट लिए। तर बलिङमा विकेट लिन सके पनि फिल्डिङमा कमजोरीले सुदूरपश्चिमले यसपल्ट भने झिनो लक्ष्य जोगाउन सकेन। यसअघिको दुई खेलमा उसले १२५ रनभन्दा कमको लक्ष्य जोगाएको थियो।

टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १०५ रन मात्र बनाएको थियो। कप्तान दीपेन्द्रको अर्धशतक र ईशान पाण्डेको २७ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। लुम्बिनीका तीव्र गतिका बलर रुबेन ट्रम्पलमेनले सुरुमै सुदूरपश्चिमलाई दबाबमा राखे। पहिलो विकेटका रूपमा जर्ज मुन्से खाता नखोली आउट भए।

तेस्रो ओभरमा थानुका डाबरे तीन रनमा पभेलियन फर्किए। ट्रम्पलमेनले दुवै विकेट लिएपछि सुदूरपश्चिम २.५ ओभरमा आठ रन जोड्दा दुई विकेट गुमाएर संकटमा परेको थियो। कप्तान रोहितले चौथो ओभरमै युवा स्पिनर अभिषेक गौतमलाई बलिङमा ल्याए।

अभिषेकले पहिलो बलमै विकेट लिए। उनले विकेटकिपर विनोद भण्डारीलाई तीन रनमा आउट गरेपछि सुदूरपश्चिम ८ रनमै तीन विकेट गुमाउने अवस्थामा पुग्यो। त्यसपछि कप्तान दीपेन्द्र र ईशानले जिम्मेवारीपूर्वक ब्याटिङ गर्दै टोलीलाई सम्हाले। पावरप्लेमा २० रन मात्र जोडेको सुदूरपश्चिमका लागि यी दुईको साझेदारी महत्त्वपूर्ण बन्यो। चौथो विकेटका लागि दीपेन्द्र र ईशानले ६४ रन जोडे। तर १४.१ ओभरमा ईशान रनआउट भएपछि साझेदारी टुट्यो। ईशानले २७ रन बनाए। ईशान आउट भएपछि सुदूरपश्चिमको ब्याटिङ फेरि सम्हालिन सकेन।

थप ३३ रन जोड्दा टोलीले चार विकेट गुमायो। १८ ओभरमा ९४ रन बनाएको सुदूरपश्चिमले अन्तिम दुई ओभरमा राम्रो योगफल बनाउने अपेक्षा गरेको थियो। क्रिजमा कप्तान दीपेन्द्र रहेकाले टोलीलाई अन्तिम ओभरमा आक्रामक ब्याटिङको आशा थियो। तर किशोर महतोले अन्तिम ओभरमा तीन रन मात्र खर्चिए।

दोस्रो बलमै दीपेन्द्र आउट भएपछि सुदूरपश्चिमको इनिङ १०५ रनमै सीमित भयो। उनले ५२ रन बनाए। लुम्बिनीका ट्रम्पलमेन र शेर मल्लले समान दुई विकेट लिए। किशोर र अभिषेकले समान एक विकेट हात पारे। ट्रम्पलमेनले चार ओभरमा १४ रन मात्र खर्चिए। अभिषेकले ११ र किशोरले १९ रन दिए। लुम्बिनीको कसिलो बलिङले सुदूरपश्चिमलाई सुरुदेखि अन्त्यसम्म खुलेर खेल्न दिएन।

ब्याटर चल्न नसक्दा हार्‍यौं: टमटा

पहिलो क्वालिफायरमा पराजित भएपछि सुदूरपश्चिमका निर्देशक जगत टमटाले ब्याटरले अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्नु नै हारको मुख्य कारण रहेको बताए। उनका अनुसार टोलीले १३० रनसम्मको लक्ष्य दिन सकेको भए खेलको नतिजा फरक हुन सक्थ्यो। ‘ब्याटर पूर्ण रूपमा चल्न सकेनन्। साना साझेदारीसमेत बन्न सकेनन्। १३० रनसम्म बनाउन सकेको भए नतिजा फरक हुन सक्थ्यो,’ टमटाले खेलपछि पत्रकार सम्मेलनमा भने।

उनले टस हार्नु पनि हारको एउटा कारण भएको उल्लेख गरे। दुई नयाँ विदेशी ब्याटर जर्ज मुन्से र थानुका डाबरेलाई टोलीमा ल्याए। तर उनीहरूले अपेक्षित प्रदर्शन गर्न नसकेको टमटाको भनाइ थियो। सिजनको अवधि लामो हुँदा विदेशी खेलाडीलाई पूरै सिजन राख्न नसक्नु पनि टोलीका लागि चुनौती बनेको उनले बताए।

त्रिवि मैदानको पिचमा समस्या रहेको उल्लेख गर्दै उनले ग्राउन्ड्समेनले सुधारका लागि मेहनत गरिरहेको पनि बताए। टमटाले कठिन अवस्थामा दीपेन्द्र र ईशानले गरेको साझेदारीको भने प्रशंसा गरे।

नेपाली ब्याटरले दबाबमा जिम्मेवारीपूर्वक खेल्नु नेपाली क्रिकेटका लागि सकारात्मक पक्ष भएको उनको भनाइ थियो। बलिङमा राम्रो गरिरहेका हेमन्त धामीले आगामी दिनमा राष्ट्रिय टोलीमा पुनरागमन गर्न सक्ने सम्भावना पनि उनले औंल्याए।

लुम्बिनीसँग लगातार हार बेहोर्नुको कारण आत्मविश्वासको कमी नभएको स्पष्ट पार्दै टमटाले आगामी खेलमा राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे। लुम्बिनीको प्रदर्शनको प्रशंसा गर्दै उनले रुबेन ट्रम्पलमेनसहितका खेलाडीले गत सिजनकै लय कायम राखेको बताए।

अब उसले उपाधिका लागि दोस्रो क्वालिफायरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। बुधबार हुने इलिमिनेटरमा काठमान्डु गोर्खाज र चितवन राइनोज भिड्नेछन्। त्यस खेलको विजेताले दोस्रो क्वालिफायरमा सुदूरपश्चिमसँग खेल्नेछ। दोस्रो क्वालिफायर जित्ने टोली शनिबार हुने फाइनलमा लुम्बिनीसँग आमनेसामने हुनेछ।

प्रकाशित: २ मंसिर २०८३ ०६:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App