फेरिल्यान्ड इन्टरनेसनल स्कुलको आयोजनामा दोस्रो फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ।
प्रतियोगितामा जुनियर ब्वाइज र जुनियर गर्ल्समा समान १२/१२ गरी २४ टोलीको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा फेरिल्यान्डका प्रिन्सिपल विष्णुचन्द्र अधिकारीले जानकारी गराए।
दुवै समूहमा सहभागी टोलीलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा खेलाइनेछ। जुनियर ब्वाइजको समूह ‘ए’ मा न्युटन, ज्ञानभूमि र गोल्डेनपिक तथा समूह ‘बी’ मा ज्ञान संस्कार, एन्जल्स हार्ट र बसुन्धरा नेसनल एकेडेमी (बिएनए) रहेका छन्। जेबी स्कुल, ग्रिनल्यान्ड र भक्ति समूह ‘सी’ तथा फेरिल्यान्ड, बिएमसिए र हिमशिला समूह ‘डी’ मा छन्।
सिनियर गर्ल्सको समूह ‘ए’ मा फेरिल्यान्ड ‘ए’, सेन्ट जोसेफ र भ्याली पब्लिक तथा समूह ‘बी’ मा न्युटन, बिएनए र मन्जरी रहेका छन्। लोयल्टी एकेडेमी, भक्ति र जेबी स्कुल समूह ‘सी’ तथा फेरिल्यान्ड ‘बी’, एनसिसिएस र हिमशिला समूह ‘डी’ मा छन्।
प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने फेरिल्यान्डका निर्देशक विनोद अधिकारीले बताए। जुनियर ब्वाइजमा किङ्डम हिमालयन र जुनियर गर्ल्समा फेरिल्यान्ड ‘ए’ डिफेन्डिङ च्याम्पियन हुन्।
फेरिल्यान्डका बास्केटबल प्रशिक्षक नारायण खवासका अनुसार किङ्डम हिमालयन यस पटक सहभागी छैन। माघ १६ गतेसम्म चल्ने प्रतियोगिताका खेल कपनस्थित आयोजककै कोर्टमा खेलाइनेछ।
प्रकाशित: ९ माघ २०८२ ०७:१३ शुक्रबार


-600x400.jpg)


