२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
अर्थ

सहरी विकासमन्त्रीद्वारा नयाँ संसद् भवनमा आकस्मिक छड्के

सहरी विकासमन्त्री कुमार इङ्नामले सिंहदरबार परिसरभित्र निर्माण भइरहेको नयाँ संसद् भवनबारे चासो राखेका छन्। निर्माण भइरहेको भवन परिसरमा मन्त्री इङनाम गत मंगलबार आकस्मिक छड्के गरेका हुन्।

छड्केको  क्रममा उनले ठेकदारलाई बोलाएर समयमै निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन्। मन्त्रालय स्रोतका अनुसार मन्त्री इङ्नामले भवन निर्माणमा भइरहेको प्रगतिबारे प्रत्येक दिन कार्यतालिका बनाई जानकारी गराउन मन्त्रालय मातहतको सहरी विकास तथा भवन निर्माण विभागलाई निर्देशन दिएका छन्।

विभागले चैत पहिलो सातासम्म फागुनभित्र नयाँ संसद् भवनको बैठक कक्ष र भिआइपी कक्ष तयार हुने जानकारी मुख्य सचिव र संसद् सचिवलायलाई गराएको छ। अघिल्लो साता संसद् सचिवालयले २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनपछि तत्काल बैठक सञ्चालन गर्न संसद् भवन तथा अन्य आवश्यक व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका मुख्यसचिवलाई चिठी पठाएको थियो। त्यसपछि प्रधानमन्त्रीको कार्यालयले सहरी विकास मन्त्रालयका अधिकारीहरूसँग सोधपुछ गरेको थियो। जवाफमा विभागले सचिवालय र मुख्यसचिवलाई चैत पहिलो सातासम्म संसद् बैठक बोलाउन एउटा मुख्य कक्ष र भिआइपी कक्ष तयार हुने औपचारिक जानकारी गराएको हो।

‘संसद्को बैठक बोलाउन एउटा मुख्य हल, प्रधानमन्त्री, सभामुख, उपसभामुख, विपक्षी दलका नेतालगायतका भिआइपीहरूको कार्यकक्ष राख्ने कक्ष चैत पहिलो सातासम्म जसरी पनि तयार गर्छौं भनी आश्वासन दिएका छौं’, विभागका महानिर्देशक रविन्द्र बोहराले भने, ‘ठेकेदार कम्पनीले यतिबेला रातमा समेत काम गरिरहेको छ। हामीले पनि चाँडो गर्न ताकेता गरिरहेका छौं।’

उनका अनुसार हलका लागि आवश्यक साउन्ड सिस्टम तयार गर्ने सामान आइसककेका छन्। कुर्सी ल्याउने काम भइरहेको छ। ‘अब एक डेढ महिनाभित्र सबै काम सकिन्छ’, उनले भने।

नयाँ बानेश्वरस्थित पुरानो संसद् भवन गत भदौ २३ र २४ गतेको जेन - जी आन्दोलनका क्रममा जलाइएका कारण क्षतिग्रस्त भएको छ। नयाँ संसद् भवन बनिरहेका बेला संसद् सचिवलायले भवनको विषयमा गम्भीर चासो राखेको छ।

फागुन २१ गते हुने निर्वाचनपछि संसद्को पहिलो बैठक चैत पहिलो सातासम्म बस्ने सम्भावना छ। त्यतिबेलासम्म नयाँ संसद् भवन र अन्य आवश्यक तयारी पूरा हुन्छ कि हुँदैन भन्ने विषयमा सचिवालयका कर्मचारीहरू चिन्तित छन्।

‘आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनपछि तत्काल बैठक सञ्चालन गर्न संघीय संसद् सचिवालयसँग आवश्यक सभाहल, पदाधिकारी र सचिवालयका कर्मचारीको कार्यकक्ष, संसदीय दलका कार्यालय, सभा सञ्चालन गर्न आवश्यक अडियो, भिडियो रेकर्डिङ, प्रत्यक्ष प्रसारण, श्रव्यदृश्य र सूचना प्रविधिसम्बन्धी उपकरण लगायतका भौतिक संरचनासहितको पूर्वाधार नभएकाले सोको आवश्यक व्यवस्था मिलाइदिनुहुन अनुरोध गर्छु’, संसद् सचिवालयकी सहसचिव बबिता मिश्रले मुख्य सचिवलाई पठाएको पत्रमा भनिएको छ।

प्रकाशित: ७ फाल्गुन २०८२ ०९:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App