जेन-जी आन्दोलनका कारण बीचमै रोकिएको दोस्रो संस्करणको वात्सल्य एभरेस्ट महिला भलिबल लिग (ईडब्लुभीएल) रोकिएकै खेलबाट पुनः सुरु हुने भएको छ।
आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले आइतबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगितालाई नयाँ मिति तय गरेर पूर्णता दिइने स्पष्ट पारेको छ।
आयोजकका अनुसार, प्रतियोगिताका १६ मध्ये ९ वटा खेल सम्पन्न भइसकेका छन् र बाँकी रहेका ७ वटा खेल नयाँ तालिकाअनुसार सञ्चालन गरिनेछ।
प्रतियोगिता पुनः सुरु गर्ने नयाँ मिति नेपाल भलिबल संघ, सहभागी ६ वटै फ्रेन्चाइज टोली र प्रायोजकहरूसँगको संयुक्त छलफलपछि तय गरिनेछ आयोजकले जनाएको छ।
साथै, लिगमा सहभागी हुन आएका विदेशी खेलाडीसहित सबै टोलीका सदस्यहरू भने हाललाई आ-आफ्नो घर फर्किसकेका छन्। प्रतियोगिता रोकिनुअघि कर्णाली यल्लो प्यानथर्स (यशविस) र ललितपुर क्विन्स अपराजित रहँदै उत्कृष्ट प्रदर्शन गरिरहेका थिए।
लिगको फाइनल खेल भदौ २८ गतेका लागि तय गरिएको थियो। तर, देशव्यापी आन्दोलन र त्यसपछिको परिस्थितिका कारण प्रतियोगिता अनिश्चितकालका लागि रोकिएको हो।
प्रकाशित: २९ भाद्र २०८२ १९:१५ आइतबार





