२० पुस २०८२ आइतबार
image/svg+xml
खेल

समस्यामा इमेरी

उनई इमेरीले यस सिजनको युरोपा लिगबाट आफ्नो टोली एस्टन भिल्लालाई नयाँ ऊर्जा प्रदान गर्ने आशा गर्दा नटिङ्घम फरेस्टले पनि ३० वर्षपछि युरोपेली यात्राको थालनी गर्नेछ।

इङ्लिस प्रिमियर लिग क्लब भिल्लाले युरोपा लिगबाट नयाँ ऊर्जा पाउने प्रशिक्षक इमेरीले उल्लेख गरेका हुन्। उनले  इमेरी युरोपा लिगको इतिहासमा सबैभन्दा सफल प्रशिक्षक हुन्। आफ्नो प्रशिक्षण करियरमा सेभियालाई तीनपल्ट र भियारियाललाई एकपल्ट उपाधि दिलाएका छन्। तर, यसपल्ट इमेरीको क्लब भिल्ला यस सिजन समस्यामा देखिएको छ।

 प्रिमियर लिगको पहिलो पाँच खेलमा नै भिल्ला जितविहीन छ। भिल्लाले १० खेलाडीमा सीमित सन्डरल्यान्डसँग आइतबार १–१ को बराबरीको नतिजा सामना गरेको थियो। यसै खेलमा भिल्लाले पहिलोपल्ट यस सिजनमा गोल गर्‍यो। यो नतिजाले इमेरी आफैं पनि निराश र निरुत्साहित छन्। ‘हामीले राम्रोसँग सुरुआत गर्न सकेका छैनौं,’ स्वीकार गर्दै स्पेनिस प्रशिक्षक इमेरीले भने।

उनकै प्रशिक्षणमा आर्सनलले सन् २०१९ को युरोपा लिग फाइनल पनि खेलेको थियो । युरोपा लिगमा अनुभवी प्रशिक्षक इमेरीमाथि यसपल्ट भने ठूलो जिम्मेवारी छ। ‘यसपल्ट धेरै काम गर्नुपर्ने देखिन्छ। केही खेलाडी अझै टोलीमा फिट हुन सकेका छैनन्। हाम्रो रणनीति र योजनाअनुरूप खेल्न सकिरहेका छैनन्,’ उनले भने, ‘अन्य खेलाडीलाई भने कसरी खेल्ने र टिम निर्माण कस्तो अवस्थामा हुन सक्छ भन्ने गत वर्ष नै जानकारी छ। पछिल्ला तीन वर्षमा हामी कसरी सफल भएका हौं भन्नेबारे पनि केही खेलाडीलाई राम्रोसँग थाहा छ,’ उनले भनेका छन्।

गत संस्करण भिल्ला च्याम्पियन्स लिगको पनि क्वार्टरफाइनलसम्म पुगेको थियो तर पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग समग्रमा ५–४ ले पराजित हुँदै बाहिरिन पुग्यो।

गत संस्करण लिगको अन्तिम खेलबाट भिल्ला युरोपको शीर्ष प्रतियोगितामा छनोट हुन सकेन। भिल्लाले आगामी बिहीबार बोलोग्नासँग खेल्दै युरोपा लिगको यात्रा सुरु गर्नेछ। गत वर्ष च्याम्पियन्स लिगमा भिल्लाले इटालियन जायन्ट्सलाई २–० ले हराएको थियो। भिल्ला यसपल्ट पनि यो नतिजा दोहोर्‍याउने लक्ष्यमा छ।

सन् १९७४ पछि पहिलोपल्ट बोलोग्नाले मुख्य प्रतियोगिताको उपाधिका रूपमा इटालियन कप उचालेको छ। यसपल्ट बोलोग्ना त्यो लयलाई  पनि जारी राख्न चाहन्छ। इमेरी जस्तै नटिङ्घम फरेस्टका नयाँ प्रशिक्षक एन्ज पोस्टेकोग्लु पनि युरोपा लिगमा जितको सफलताले नयाँ उत्साह मिल्ने प्रतिक्रिया दिन्छन्। पोस्टेकोग्लु यसै महिनाको सुरुआतमा नै फरेस्टको प्रशिक्षण समाल्न आइपुगेका हुन्।

गत संस्करण फाइनलमा म्यानचेस्टर युनाइटेडलाई हराउँदै उनले टोटेनहमको लामो समयदेखिको उपाधि खडेरी तोडेका थिए। पहिलो दुई खेलमा हार सामना गरेका उनी फरेस्टका लागि पहिलो जितको खोजीमा पनि हुनेछन्। बर्नलीमा लिग कपबाट छिटै बाहिरिएपछि उनी थप दबाबमा पनि देखिन्छन्।

प्रिमियर लिगमा खराब नतिजाका कारण गत जुनमा अस्ट्रेलियन प्रशिक्षक पोस्टेकोग्लुलाई टोटनहमले बर्खास्त गरेको थियो। तर, यता फरेस्टले पनि आफ्ना प्रशिक्षक नुनो स्पिरिटो सान्टोलाई हटाएपछि पोस्टेकोग्लुको इङ्लिस प्रिमियर लिग क्लबमा फर्कने बाटो खुलेको हो। ‘मेरो टोलीले उत्साहपूर्ण फुटबल खेल्नेछ र गोल पनि गर्नेछ भन्नेमा विश्वस्त छु,’ पोस्टेकोग्लुले भने।

फरेस्टले आगामी बुधबार रियाल बेटिसको यात्रा गर्ने तालिका छ । सन् १९९५ को युइएफए कपमा बायर्न म्युनिखसँग क्वार्टरफाइनलमा पराजित भएपछि पहिलोपल्ट फरेस्ट युरोपेली फुटबलमा निस्कन लागेको हो।      

प्रकाशित: ८ आश्विन २०८२ ०६:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App