स्पेनिस ला लिगामा आइतबार राति हुने सिजनको दोस्रो ‘एल क्लासिको’ भिडन्तमा बार्सिलोना आफ्नो चिरपरिचित प्रतिद्वन्द्वी रियल मड्रिडलाई पराजित गर्दै उपाधि पक्का गर्ने दाउमा देखिएको छ।
घरेलु मैदान नाउ क्याम्पमा हुने यस खेलमा जित वा बराबरीले मात्र पनि बार्सिलोनालाई लगातार दोस्रो पटक लिग च्याम्पियन बनाउनेछ।
तालिकामा ११ अंकको स्पष्ट अग्रता बनाएको बार्सिलोनाका लागि यो खेल घरेलु समर्थकमाझ उपाधि उत्सव मनाउने सुनौलो अवसर हो। तर, विपक्षी रियल मड्रिड भने पछिल्लो समय मैदानभित्रको प्रदर्शनभन्दा पनि ड्रेसिङ रुमको विवाद, खेलाडीबीचको मनमुटाव र आन्तरिक अनुशासनको कारबाहीका कारण दबाबमा देखिएको छ।
यस्तो प्रतिकूल अवस्थामा रियल मड्रिडका मुख्य प्रशिक्षक अल्भारो आर्बेलवाका लागि यो खेल आफ्नो छोटो कार्यकालकै सबैभन्दा ठूलो चुनौती सावित हुने देखिएको छ। विभाजित टोलीलाई एकीकृत गर्दै विश्व फुटबलकै ठूलोमध्येको एक प्रतिस्पर्धामा उतार्नुपर्ने दबाब उनीमाथि छ।
अर्कोतर्फ, बार्सिलोनाका प्रशिक्षक हान्सी फ्लिक भने निकै संयमित र आत्मविश्वासका साथ अघि बढेका छन्। यस सिजनको सुरुवाती चरण अर्थात् अक्टोबरमा भएको पहिलो ‘एल क्लासिको’ मा भने रियल मड्रिडले सान्टियागो बर्नाबेउमा २–१ को जित निकालेको थियो।
तर, अहिले परिस्थिति पूर्णतः बदलिएको छ। अक्टोबरको उक्त खेलका बेला रियल मड्रिडको कमान्ड जाबी अलोन्सोको हातमा थियो र उपाधि होड पनि निकै रोमाञ्चक मोडमा थियो।
यसपटक बार्सिलोना ऐतिहासिक सफलताको संघारमा छ भने मड्रिडका लागि बार्सिलोनाको उपाधि यात्रालाई केही समयका लागि ढिला गराउनु नै मुख्य लक्ष्य हुनेछ।
नाउ क्याम्पमा हुने यो भिडन्तमा बार्सिलोनाले आफ्नो प्रभुत्व कायम राख्न खोज्दा रियल मड्रिड आफ्नो साख जोगाउन संघर्षरत रहने देखिन्छ।
प्रकाशित: २७ वैशाख २०८३ १९:१३ आइतबार





