३१ असार २०८३ बुधबार
image/svg+xml
खेल

नकआउट चरणमा इतिहास रच्ने योजनामा इजिप्ट र अस्ट्रेलिया

नकआउट चरणमा इतिहास रच्ने योजनाका साथ इजिप्ट र अस्ट्रेलिया प्रतिस्पर्दामा आमन्नेसामन्ने हुँदैछन्। एसियाली छनौट पारगर्दै विश्वकप पुगेको अस्ट्रेलिया र अफ्रिकी फुटबलको सफल राष्ट्र इजिप्टबीचको खेल नेपाली समय अनुसार आजराति पौने १२ बजे अमेरिकाको डलासमा सुरु हुनेछ ।  

इजिप्टले समूह चरणमा न्युजिल्यान्डलाई ३-१ ले हराउँदै विश्वकप इतिहासकै पहिलो जित दर्ता गरेको थियो। अस्ट्रेलिया भने विश्वकपको नकआउट चरणमा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ।

यी दुई टोलीबीच पछिल्लोपटक सन् २०१० को नोभेम्बरमा भेट हुँदा इजिप्ट ३-० ले विजयी भएको थियो।

अस्ट्रेलियाले पाराग्वेविरुद्ध खेलेको टोलीलाई नै निरन्तरता दिने योजना बुनेको छ भने इजिप्टका लागि सबैभन्दा ठूलो चिन्ता कप्तान मोहम्मद सलाहको फिटनेस हो। ह्यामस्ट्रिङको चोटका कारण उनी खेल्ने नखेल्ने निश्चित छैन। टोलीले उनी समयमै फिट हुने आशा गरे पनि कुनै ग्यारेन्टी छैन।

अस्ट्रेलियाले हालसम्म विश्वकपमा केवल दुई गोल गरेको छ, दुवै गोल टर्कीविरुद्ध आएका थिए। सम्पूर्ण प्रतियोगितामा उसले सिर्जना गरेको ठूला अवसर केवल एक मात्र रहेको छ, जुन प्रतियोगिताकै सबैभन्दा कम हो।

समूह चरणमा टर्कीमाथिको जित निर्णायक बनेपछि अस्ट्रेलिया दोस्रो स्थानमा रहँदै नकआउटमा पुगेको हो। यदि उसले इजिप्टलाई हरायो भने क्वार्टरफाइनल प्रवेशका लागि अर्जेन्टिना वा केप भर्डेसँग खेल्नेछ। इजिप्टले ३ खेलमा ३ गोल  बेहोरे पनि उसको रक्षात्मक प्रदर्शन पूर्ण रूपमा सन्तोषजनक छैन। तर अस्ट्रेलियाले अवसर सिर्जना गर्न संघर्ष गरिरहेकाले यो खेल धेरै गोल हुने सम्भावना कम देखिएको छ।

सलाह खेल्न नसके इजिप्टका लागि अर्को चरण पुग्ने सम्भावना निकै कमजोर हुने विश्लेषण गरिएको छ।

३४ वर्षीय सलाहले क्लब फुटबलजस्तो चम्किलो प्रदर्शन विश्वकपमा नगरे पनि टोलीका सबैभन्दा प्रभावशाली खेलाडी बनेका छन्।

हालसम्म उनले तीन खेलमा तीन गोलमा प्रत्यक्ष योगदान दिएका छन्। विशेषगरी न्युजिल्यान्डविरुद्धको जितमा उनको भूमिका निर्णायक थियो। इजिप्टका लागि उनले ८७ खेलमा ६१ गोल गरिसकेका छन्।

प्रकाशित: १९ असार २०८३ २१:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App