गोर्खामा भएको दोस्रो तान्द्राङ कप खुला पुरुष फुटबल प्रतियोगिताको उपाधि लोकतान्त्रिक क्लबले जितेको छ।
भिमशेन थापा गाउँपालिका ३ मा बिहीबार भएको फाइनल खेलमा लोकतान्त्रिक क्लबले आयोजक तान्द्राङ युवा क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो।
प्रतियोगिताको उपविजेता आयोजक तान्द्राङ युवा क्लब बनेको छ भने सोल्टी युनाइटेडलाई २–० गोल अन्तरले पराजित गर्दै हिमालयन हब काठमाडौंले तेस्रो स्थान हासिल गरेको थियो।
कुल १२ टोलीको सहभागिता रहेको प्रतियोगितामा विजेता लोकतान्त्रिक क्लबले नगद १ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता तान्द्राङ युवा क्लबले नगद ८८ हजार ८ सय ८८ रुपैयाँ तथा तेस्रो स्थान हासिल गरेको हिमालयन हब काठमाडौंले नगद ४४ हजार ४ सय ४४ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।
व्यक्तिगत विधातर्फ हिमालयन हबका सलिल ढकाल सर्वाधिक गोलकर्ता घोषित भए भने लोकतान्त्रिक क्लबका सुरज गुरुङ उत्कृष्ट गोलरक्षक र सुरज मल्ल उत्कृष्ट डिफेन्डर बनेका छन्। तान्द्राङ युवा क्लबका सत्यम ठकुरी उदयीमान खेलाडी घोषित हुँदा अमरदीप फुटबल क्लब अस्राङ अनुशासित टोली बनेको छ। प्रतियोगिताको उत्कृष्ट खेलाडी तान्द्राङ युवा क्लबकै राजकुमार घले घोषित भएका छन्।
व्यक्तिगत विधाका उत्कृष्ट खेलाडीहरूले जनही नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्। उत्कृष्ट गोल तान्द्राङ युवा क्लबका आशिष बानियाले गर्दे उनले नगद ५ हजार रुपैयाँसहित सम्मान प्राप्त गरेका छन्।
प्रकाशित: ३ माघ २०८२ ०९:४९ शनिबार





