१० चैत्र २०८२ मंगलबार
image/svg+xml
खेल

डिफेन्डिङ च्याम्पियन जनकपुर पराजित

शीर्ष क्रममा साथ नहुँदा हार बेहोर्‍यौं : अनिल साह

पहिलोपल्ट फ्लड लाइटमा नेपाली क्रिकेट भएको दिन डिफेन्डिङ च्याम्पियन जनकपुर बोट्ल्सको हारबाट नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण सुरु गरेको छ।

स्तरोन्नति गरिएको त्रिवि क्रिकेट स्टेडियममा पहिलोपल्ट क्रिकेट सुरु हुँदा जनकपुरका लागि सुखद रहेन। उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर सोमबार काठमान्डु गोर्खाजसँग पाँच विकेटले पराजित हुन पुग्यो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा एक वर्षपछि क्रिकेट फर्किएको हो, त्यो पनि पहिलोपल्ट फ्लड लाइटमा।

जुन ऐतिहासिक दिनमा डिफेन्डिङ च्याम्पियनले हार सामना गर्नुपर्‍यो। जनकपुरले खराब ब्याटिङ सामना गर्‍यो। यससँगै जनकपुरले एक सय ३१ रनको सामान्य लक्ष्य दिएको थियो। जबाफमा काठमान्डुले १८औं ओभरमा मात्र पाँच विकेट गुमाएर लक्ष्य भेट्टायो। ओपरद्वय आकाश त्रिपाठी र बेन चाल्र्सवर्थले राम्रो सुरुआत दिलाउँदै काठमान्डुको जितको आधार बनाए।

आकाशले ३९ रन र बेनले ४६ रनको योगदान दिए। आकाशले ३४ बलमा पाँच चौका प्रहार गरे। बेनले २३ बलमा पाँच चौका र ३ छक्का हिर्काए। यो जोडीले पहिलो विकेटका लागि ७० रनको साझेदारी गर्दै जितको आधार बनायो। नवौं ओभरमा बेन लफ्टी इटनबाट कट एन्ड बोल्ड भए। त्यसपछि आएका भीम सार्की तीन रनमै पभेलियन फर्किए। काठमान्डुले १४.५ ओभरमा सय रन जोड्यो। दुई विकेट पतन भएपछि काठमान्डु केही दबाबमा देखिए पनि सहजै लक्ष्य भेट्टायो। मिलिन्द कुमार १९ रन र जन जिम्पसन १३ रन बनाएर आउट भए। तर, त्यसपछि भने काठमान्डुले थप क्षति बेहोर्नुपरेन।

मध्यम लक्ष्य रक्षा गर्न प्रयत्न गरेको जनकपुरले आठ बलर प्रयोग गर्‍यो। तर, हार टार्न भने सकेन। किशोर महतो, अनिल साह, ललित राजवंशी, लफ्टी इटन र सञ्जय कृष्णमूर्तिले समान एक विकेट लिए पनि आफ्नो टोलीको हार टार्न सकेनन्। टस हारेर पहिले ब्याटिङ गर्न आएको जनकपुरको सुरुआत मध्यम भएको थियो।

तर पूरै ओभर खेले पनि जनकपुरले ६ विकेटको क्षतिमा एक सय ३० रनको सामान्य योगफल बनायो। ओपनर आसिफ सेखबाहेक शीर्ष क्रमका पाँच ब्याटर दोहोरो अंकमा रन जोड्न असफल रहे। आसिफले ४१ बलमा ५४ रनको अर्धशतकीय इनिङ खेले। ओपनर लाहिरु मिलन्था ७ रनमा आउट भए। कप्तान अनिल शून्यमा पभेलियन फर्किए। त्यसपछि आएका ब्याटर पनि सस्तैमा आउट भए।

इटन र कृष्णमूर्ति समान दुई रनमा पभेलियन फर्किए। मध्यक्रमका ब्याटर मयन यादवले ३२ र लाहिरु समराकुनले २२ रन जोडे। तर, जनकपुरका लागि पर्याप्त भएन। मयनले २९ बलमा दुई चौका र एक छक्का प्रहार प्रहार गरे। लाहिरुले २१ बलमा दुई छक्का हिर्काए। काठमान्डुका मिलिन्द कुमारले छिट्टै तीन विकेट लिँदै जनकपुरको इनिङलाई झड्का दिए। करण केसी, साहब आलम र सन्तोष यादवले समान एक विकेट लिँदै जनकपुरलाई सस्तैमा रोके।

स्पिनरका लागि सहज देखिएको पिचमा काठमान्डुका ओपनरले राम्रो सुरुआत दिलाए। अघिल्लो सिजन प्लेअफमा पुग्न नसकेको काठमान्डुले यस दोस्रो संस्करणमा राम्रो सुरुआत गरेको छ। त्यसअघि प्रधानमन्त्री सुशीला कार्कीले एनपिएलको दोस्रो संस्करणको उद्घाटन गरेको थिइन्। सो अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङ  र नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द उपस्थित थिए। 

शीर्ष क्रममा साथ नहुँदा हार बेहोर्‍यौं : अनिल साह
जनकपुर रोयल्सका कप्तान अनिल साहले शीर्ष क्रमका ब्याटरले ओपनर आसिफ शेखलाई साथ दिन नसक्दा हार बेहोर्नुपरेको बताएका छन्।

उद्‌घाटन खेलमा सोमबार काठमान्डु गोखार्जसँगको हारबाट जनकपुरले नेपाल प्रिमियर लिगको दोस्रो संस्करण सुरुआत गरेको छ। उक्त हारपछि कप्तान अनिल साहले शीर्ष क्रमका ब्याटरबाट राम्रो साथ नहुँदा हार बेहोरेको बताएका छन्। राम्रो साझेदारी गर्न नसक्दा ब्याटिङ दबाब भएको उनले उल्लेख गरे।

सुरुआत राम्रो हुन नसक्दा एक सय ६० रन बनाउने लक्ष्य पूरा नभएको उनको भनाइ थियो। आफूहरूले दिएको लक्ष्य धेरै न्यून रहेको पनि उनले उल्लेख गरे। निरन्तर विकेट गइरहँदा पनि साझेदारी बन्न नसक्नु खराब पक्ष रहेको उनको भनाइ छ। पिचले स्पिनरलाई केही मद्दत गरेको कप्तान अनिलले बताएका छन्।

डिफेन्डिङ च्याम्पियन भएकाले आफूहरूमा कुनै दबाब नरहेको उनले स्पष्ट पारेका छन्। यद्यपि, उपाधि रक्षा गर्ने तरिकाले बाँकी खेल खेल्ने उनी बताउँछन्। दोस्रो खेलका लागि पनि समय रहेकाले सुधार हुने उनको अपेक्षा छ। पहिलोपल्ट फ्लड लाइटमा क्रिकेट खेल्न पाउँदा धेरै खुसी लागेको उनले उल्लेख गरे।

जितपछि काठमान्डु गुर्खाजका कप्तान करण केसीले समग्र टिम इफोर्ट राम्रो हुँदा सुखद सुरुआत भएको बताएका छन्। उनले टियु मैदानमा पिच बुझ्न गाह्रो हुने पनि उल्लेख गरे। त्यसैले पनि टस जितेपछि बलिङ गर्ने निर्णय गरेको उनले प्रस्ट्याए। पहिलो संस्करण नेट रनरेटका कारण प्लेअफमा पुग्ने नसके पनि यसपल्ट राम्रो गर्दै दोस्रो चरणमा पुग्ने उनको विश्वास छ।

स्पिनरलाई राम्रो साथ नपाउने अनुमान गरे पनि फरक परिस्थिति बनेको उनले उल्लेख गरेका छन्। एक सय ३१ रनको लक्ष्य भेट्टाउनु सहज आकलन गरिए पनि त्यति सहज भने नभएको उनले उल्लेख गरे। पहिलोपल्ट डे/नाइट क्रिकेट सुरु हुनु र त्यसमा जित निकाल्नु सुखद पक्ष रहेको उनको धारणा थियो।

प्रकाशित: २ मंसिर २०८२ ०७:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App