२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

बलात्कार आरोपमा क्रिकेटर अलीमाथि बेलायतमा अनुसन्धान, पीसीबीद्वारा निलम्बन

पाकिस्तानी क्रिकेटर हैदर अलीमाथि बेलायतको ग्रेटर म्यानचेस्टर प्रहरीले बलात्कारको आरोपमा अनुसन्धान गरिरहेको छ। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले उनलाई तत्काल लागू हुनेगरी निलम्बन गरेको छ।  

ग्रेटर म्यानचेस्टर प्रहरीका अनुसार २३ जुलाई २०२५ मा म्यानचेस्टरको एक परिसरमा भएको भनिएको बलात्कारको घटनाको उजुरी ४ अगस्त २०२५ मा प्राप्त भएको थियो। प्रहरीले २४ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेर पछि जमानतमा रिहा गरेको जनाएको छ। बेलायती प्रहरीले सामान्यतया अनुसन्धानको यो चरणमा संदिग्धको नाम उल्लेख गर्दैन। 

पीसीबीले भने यो अनुसन्धान हैदर अलीसँग सम्बन्धित रहेको पुष्टि गरेको छ। 

यो घटना पाकिस्तान शाहीन टोलीको १७ जुलाईदेखि ६ अगस्त २०२५ सम्मको बेलायत भ्रमणका क्रममा भएको बताइएको छ। शाहीन टोलीले दोस्रो श्रेणीको अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानको प्रतिनिधित्व गर्छ। हैदर अली उक्त भ्रमणमा सहभागी थिए। उनले तीन खेलमा १५९ रन बनाएका थिए, जसमा पहिलो खेलमा ७१ र तेस्रो खेलमा अविजित ५५ रन समावेश छ।  

यसबिच पीसीबीले अगस्ट १४ देखि २४ सम्म अष्ट्रेलियाको डार्विनमा हुने आगामी टप एन्ड टी–२० शृंखलाका लागि शाहीनको टोलीमा हैदरलाई हटाएर मोहम्मद फैकलाई खेलाउने भएको छ। 

प्रहरीसँग अलीले बलात्कारको आरोप अस्वीकार गरेका छन्। जियो न्यूजका अनुसार उनका परिवारका सदस्यले ती केटी राम्ररी चिन्ने साथी भएको उल्लेख गरेका छन्। उनीहरूको भेट म्यानचेस्टरको एक स्थानीय होटलमा भएको जियो न्यूजको दाबी छ। उनलाई केन्टको स्पिटफायर काउन्टी क्रिकेट मैदानमा प्लेयर्स क्यान्टिन कार्यालयबाट पक्राउ गरिएको थियो। केन्ट प्रहरी अधिकारीहरूले उनलाई क्यान्टबरी प्रहरी स्टेशन लगेका थिए।

पीसीबीले एक विज्ञप्तिमा भनेको छ, ‘हामीले ग्रेटर म्यानचेस्टर प्रहरीद्वारा हैदर अलीमाथि भइरहेको आपराधिक अनुसन्धानबारे जानकारी प्राप्त गरेका छौं। बेलायतको कानुनी प्रक्रियालाई पूर्ण सम्मान गर्दै अनुसन्धानलाई स्वतन्त्र रूपमा अगाडि बढ्न दिनुपर्ने महत्त्वलाई हामी स्वीकार गर्छौं।’ 

पीसीबीले हैदरलाई अनुसन्धानको नतिजा नआउन्जेल निलम्बन गरेको र उनको कानुनी अधिकार सुरक्षित गर्न उचित कानुनी सहयोग प्रदान गरेको जनाएको छ।  

२४ वर्षीय हैदर अलीले सन् २०२० मा बेलायतमै टी-२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका थिए। उनले हालसम्म पाकिस्तानका लागि २ एकदिवसीय र ३५ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। 

उनी पाकिस्तान सुपर लिगमा नियमित खेलाडी हुन्, विश्वभरका विभिन्न टी-२० लिगमा पनि खेलेका छन्। यसअघि सन् २०२१ मा उनलाई पाकिस्तान सुपर लिगमा कोभिड-१९ प्रोटोकल उल्लंघन गरेकोमा निलम्बन गरिएको थियो। ग्रेटर म्यानचेस्टर प्रहरीले पीडितलाई सहयोग प्रदान गरिरहेको जनाएको छ। एजेन्सी

प्रकाशित: २४ श्रावण २०८२ ०९:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App