९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

बायोमेकानिक परीक्षणबाट क्रिकेट खेलाडी उत्साहित

नेपाली क्रिकेट टोलीका सदस्यहरूले खेलकुद विज्ञान अनुसन्धान केन्द्रबाट पहिलोपल्ट स्पोटर्स बायोमेकानिक परीक्षण गर्न पाउँदा धेरै उत्साहित रहेको र यसबाट प्रदर्शनमा पनि सुधार आउने अपेक्षा गरेका छन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गत असार २४ गते मात्र नेपालमा पहिलोपल्ट खेलकुद विज्ञान अनुसन्धान केन्द्र स्थापना गरेको छ। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा उक्त केन्द्र स्थापना भएको छ।

नेपाली क्रिकेट टोलीका बलर सोमपाल कामीले आफ्नो शरीरमा भएको समस्याको जानकारी अनुसन्धान केन्द्रको परीक्षणबाट पाएको बताए।

खेलकुद विज्ञान अनुसन्धान केन्द्रका प्रमुख लक्ष्मण अधिकारीले हालसम्म ६५ खेलाडी लाभान्वित भएको बताए। पछिल्ला समय विभिन्न राष्ट्रिय टोलीका खेलाडीहरूले परीक्षण गरेका थिए। बिहीबार नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरूले पनि उक्त अनुसन्धान केन्द्रमा परीक्षण गराएका थिए।

नेपाली टोलीका अलराउन्डर नन्दन यादवले मसल्सको कमजोर र मजबुत पक्ष जानकारी लिन पाउँदा खुसी लागेको बताए। यस किसिमको परीक्षणले आफ्नो प्रदर्शनमा पनि सकारात्मक परिवर्तन आउने उनको विश्वास छ।

सो अवसरमा क्रिकेट टोलीका फिजियोथेरापिस्ट लोकेन्द्र कुँवरले यो परीक्षणपछि खेलाडीहरूले रिहाब गर्न सहज हुने बताए। केके पक्षमा समस्या हो भन्ने पक्षमा जानकार हुँदा सहज हुने उनी बताउँछन्।

नेपाल क्रिकेट संघ (क्यान) सचिव तथा पूर्वकप्तान पारस खड्काले कुनै समयमा इन्डोर प्रशिक्षण गरिरहेको स्थानमा अहिले राखेप सदस्यसचिवको पहलमा हाई पर्पmमेन्स सेन्टर र रिसर्च सेन्टरमा खेलाडीको परीक्षण गर्न पाउनु खुसीको कुरो रहेको बताए। एउटा खेलाडीले आफ्नो स्ट्रेन्थ ट्रेनिङ कसरी गर्ने भन्ने विषय अनुसन्धानमा आउनु सकारात्मक पक्ष रहेको उनी बताउँछन्।

राखेपका सदस्यसचिव टंकलाल घिसिङले खेलकुद विज्ञान अनुसन्धान केन्द्रको सदुपयोग गर्न आवश्यक दक्ष जनशक्ति पनि तयार भइरहेको बताएका छन्। अनुसन्धान केन्द्र सञ्चालन गर्नका लागि सामग्री खरिद गर्दा नै उपकरण चलाउन आवश्यक जनशक्ति प्रदान गर्न कम्पनीसँग सहकार्य भएको उनी बताउँछन्।

सदस्यसचिव घिसिङले अस्ट्रेलिया, क्यानडा, कोरिया र अमेरिकालगायत राष्ट्रका उपकरणहरू अनुसन्धान केन्द्रमा प्रयोग भइरहेको र यसलाई चलाउन अहिलेका लागि राखेपसँग भएको जनशक्ति नै परिचालन गरिएको बताए।

सदस्यसचिव घिसिङले खेलाडीहरूका लागि सहजै परीक्षण गर्न सक्ने गरी व्यवस्थापन गरिएको दाबी गरेका छन्। यसबाहेक खेलाडीले एक जनाले तीन हजारका दरले आफ्नो परीक्षण गर्न पाउने जानकारी सदस्यसचिवले दिए। फिजियो र स्ट्रेन्थ एन्ड कन्डिसनिङ कोचसहित अनुधसन्धान केन्द्रमा आउँदा उपयोगी हुने राखेप सदस्यचिव घिसिङ बताउँछन्।

 यहाँ पाएको रिपोर्टअनुरूपमा सुधार गर्नुपर्ने र अनुसन्धान केन्द्रकै सफ्टवेयरले पनि सुधारका लागि आवश्यक प्रक्रिया दिने उनको भनाइ छ। मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारी प्रशिक्षणमा रहेका उसु, कराते, बक्सिङ, कुस्ती, तेक्वान्दो, जुडो र फुटबललगायतका खेलाडीले परीक्षण गरिसकेका छन्। फुटबल खेलाडीको परीक्षण पनि जारी छ।

यस केन्द्रमा बायोमेकानिक्स, कार्डियो भस्कुलर इन्डुरेन्स, मसल्स पावर, आइसोमेटिक स्ट्रेन्थ, शरीरको पोस्टर, शारीरको चालको अवस्था, थकानको मापन, लेक्टिक एसिड टेस्ट, दौड्ने क्षमता, निर्णय गर्ने क्षमता लगायतका विषयमा परीक्षण हुनेछन्।  

प्रकाशित: २३ श्रावण २०८२ ०९:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App