उपाधि दाबेदार पोर्चुगल सन् २०२६ को विश्वकपको आफ्नो पहिलो खेलमै स्तब्ध बनेको छ। उत्कृष्ट प्रदर्शन गरेको प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) ले पोर्चुगललाई १–१ गोलको बराबरीमा रोकेको हो।
खेलको छैटौं मिनेटमै जोआओ नेभेसले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए। नेभेसले हेडरमार्फत गरेको गोलसँगै पोर्चुगल सहज जिततर्फ अघि बढेको देखिएको थियो।
तर, बलियो पुनरागमन गरेको कंगोले पहिलो हाफ समाप्त हुन केही सेकेन्ड बाँकी छँदा खेललाई बराबरीमा ल्यायो।
कंगोका लागि योआने विसाले कर्नरबाट आएको बललाई हेडरमार्फत जाली चुमाएका हुन्। यो गोल कंगोको विश्वकप इतिहासकै पहिलो गोलसमेत बनेको छ।
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोका लागि भने यो खेल चुनौतीपूर्ण रह्यो। आफ्नो छैटौं विश्वकप खेलिरहेका रोनाल्डोले मैदानमा उल्लेख्य प्रभाव छाड्न सकेनन्।
कंगोका डिफेन्डरहरूले उत्कृष्ट रणनीति अपनाउँदा उनी खेलभरि छायामा परेको थिए।
प्रकाशित: ४ असार २०८३ ००:५७ बिहीबार





