रोहन कार्कीको उत्कृष्ट प्रदर्शनमा चर्च ब्वाइज युनाइटेडले जारी एन्फा राष्ट्रिय लिगमा चौथो जित निकालेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा चर्च ब्वाइजले विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि २–१ को संघर्षपूर्ण जित आत्मसात् गर्यो। चर्च ब्वाइजको जितमा रोहन र एबाओमी ओलुवासेनले समान एक गोल गरे। १–० ले पछाडि परेको अवस्थामा नवयुग श्रेष्ठले आर्मीलाई बराबरीमा ल्याएका थिए। तर त्यो बराबरी आर्मीले जोगाउन सकेन। जितसँगै ६ खेलमा १३ अंक जोड्दै चर्च ब्वाइज अंकतालिकाको पाँचौं स्थानमा उक्लिएको छ।
प्लानिङ ब्वाइजको पनि १३ अंक नै छ तर गोलअन्तरको आधारमा चर्च ब्वाइज पाँचौं स्थानमा उक्लियो। आर्मीको यो दोस्रो हार हो। समान खेलमा ११ अंक जोड्दै आर्मी सातौं स्थानमा छ।
पहिलो हाफमा एक गोल भयो तर दोस्रो हाफमा भने दुई गोल निस्किए। पहिलो गोलका लागि खेलको ३२औं मिनेटसम्म कुर्नुपर्यो। विदेशी खेलाडी एबाओमीले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाए। त्यसपछि पहिलो हाफमा थप गोल हुन सकेन र चर्च ब्वाइज १–० ले अगाडि रह्यो। दोस्रो हाफको खेल भने तनावपूर्ण बन्यो। दुवै टोलीले समान एक गोल गरे।
चर्च ब्वाइजका सहायक प्रशिक्षक रमेश दंगाल र खेलाडी जनरञ्जन देवकोटाले रातो कार्ड सामना गरे। दोस्रो हाफको सुरुमै नवयुगको गोलबाट आर्मी खेलमा फर्कियो। ४७औं मिनेटमा नवयुगले गोल गर्दै आर्मीलाई १–१ को बराबरीमा ल्याएका हुन्। खेलको ५२औं मिनेटमा जनरञ्जनले रातो कार्ड खाएपछि चर्च ब्वाइज दबाबमा पर्यो।
६३औं मिनेटमा प्रशिक्षक दंगालले पनि दोहोरो पहेंलोको सामना गरे। त्यसको एक मिनेट नबित्दै रोहनको गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाए। त्यसपछि थप गोल हुन सकेन र चर्च ब्वाइजले महत्त्वपूर्ण तीन अंक प्राप्त गर्यो। एन्फा कम्प्लेक्समा नै चित्लाङ एफसीले फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरीको नतिजामा खेल्यो। दुवैले खेल अवधिभर धेरै अवसर बुने पनि गोल निकाल्न सकेनन्। यो नतिजासँगै चित्लाङले सात खेलबाट चार बराबरी सामना गर्यो। सात अंक जोडेको चित्लाङले एक जित र दुई हार सामना गरेको छ । समान खेलबाट फ्रेन्ड्सले एक जित, दुई बराबरी र चार हारसहित पाँच अंक जोडेको छ।
प्रकाशित: १३ फाल्गुन २०८२ ०६:५३ बुधबार





