सुरुवाती झड्काका बाबजुद रवि बोपाराको उत्कृष्ट अर्धशतकको मद्दतमा चितवन राइनोजले विराटनगर किंग्ससामु जितका लागि १७५ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७४ रनको बलियो योगफल खडा गरेको हो।
चितवनको इनिङ्सको सुरुवात सुखद रहेन। इनिङ्सको दोस्रो ओभरमै ५ रन बनाएका ओपनर दीपक बोहोरा र चौथो ओभरमा १७ रन बनाएका आक्रामक ब्याटर डाविड मलानलाई गुमाउँदा चितवन २४-२ को स्थितिमा खुम्चिएको थियो।
विराटनगरका तीव्र गतिका बलर मार्चन्ट डी लांगेले यी दुवै सुरुवाती विकेट लिएर दबाब सिर्जना गरेका थिए।
सुरुवाती दबाबपछि देव खनाल र सैफ जािबले चितवनको इनिङ्स उकास्ने प्रयास गरे। देव खनालले २२ बलमा ३ चौका र १ छक्कासहित २८ रन बनाए भने सैफ जािबले ३० बलमा ३२ रनको योगदान दिए।
तर, विराटनगरका कप्तान सन्दीप लामिछानेले मध्यक्रममा यी दुवै सेट ब्याटरलाई आउट गर्दै खेलमा नियन्त्रण बनाइराख्ने प्रयास गरे।
मध्यक्रममा धर्मराएको चितवनको इनिङ्सलाई अनुभवी विदेशी खेलाडी रवि बोपाराले उचाइमा पुर्यए। आक्रामक रूपमा प्रस्तुत भएका बोपाराले मात्र २९ बलमा आफ्नो अर्धशतक पूरा गरे।
अन्तिम ओभरको चौथो बलमा आउट हुनुअघि बोपाराले ३८ बलको सामना गर्दै ३ चौका र ४ छक्काको मद्दतमा सर्वाधिक ६५ रन बनाए। उनलाई शुभम रन्जानेले आउट गराए।
अन्तिमतिर कप्तान कुशल मल्लले १४ बलमा १ चौका र १ छक्कासहित अविजित २० रन र अमर रौतेलाले ३ रन जोड्दै टोलीको स्कोर १७४ पुर्याए।
विराटनगर किंग्सका लागि मार्चन्ट डी लांगे र कप्तान सन्दीप लामिछानेले कसिलो बलिङ गर्दै समान २-२ विकेट लिए। शुभम रन्जानेले १ विकेट हात पारे। अन्य बलरहरू भने केही महँगा साबित भए।
अब विराटनगर किंग्सले केही बेरमा १७५ रनको विजय लक्ष्य पछ्याउँदै ब्याटिङ गर्नेछ।
प्रकाशित: १० मंसिर २०८२ १७:३७ बुधबार





