काराबाओ कपअन्तर्गत नर्विच सिटीलाई ५-० ले पराजित गर्दै म्यानचेस्टर सिटीले प्रतियोगिताको अर्को चरणमा स्थान बनाएको छ। प्रशिक्षक एन्जो मारेस्काले सुरुआती टोलीमा १० खेलाडीसम्म परिवर्तन गर्दै एर्लिङ हालान्डलाई आराम दिए पनि सिटीले खेलमा पूर्ण दबदबा कायम राख्दै सहज जित निकालेको हो।
सिटीले सुरुआतदेखि नै खेल आफ्नो नियन्त्रणमा राखेको थियो। लगातार आक्रमण बनाएको सिटीले २९औँ मिनेटमा अग्रता लियो। एलानको पासमा फ्लोयड साम्बाले उत्कृष्ट हेडमार्फत गोल गर्दै पहिलो टोलीका लागि आफ्नो डेब्यु खेललाई स्मरणीय बनाए।
त्यसको केही मिनेटमै सिटीले अग्रता दोब्बर बनायो। अयुब बुआद्दीले दिएको उत्कृष्ट पासलाई रियान चेर्कीले नियन्त्रणमा लिँदै तीव्र गतिमा अघि बढे र गोलरक्षक ड्यानियल ग्रिम्सालाई कुनै अवसर नदिँदै बललाई टाढाको कुनामा प्रहार गरे।
दोस्रो हाफमा पनि खेलको अवस्था परिवर्तन भएन। सिटीले लगातार दबाब कायम राख्दै ४८औँ मिनेटमा तेस्रो गोल गर्यो। नयाँ खेलाडी एलानले व्यक्तिगत कौशल देखाउँदै विपक्षी रक्षापंक्ति छिचोलेपछि उत्कृष्ट कोणबाट प्रहार गर्दै गोल गरे।
त्यसको छ मिनेटपछि साम्बाले व्यक्तिगत दोस्रो गोल पूरा गरे। रियान ऐट-नुरीको पासमा १७ वर्षीय साम्बाले आकर्षक घुमाउरो प्रहार गर्दै बललाई नर्विचको पोस्टमा पुर्याए। उनले डेब्यु खेलमै दुई गोल गर्न सफल भए।
ठूलो अन्तरको अग्रता लिएपछि पनि सिटीले आक्रमण रोकिएन। खेलको ९०औँ मिनेटमा रायन म्याकआइडुले एक टचमै उत्कृष्ट प्रहार गर्दै पाँचौँ गोल थपे।
अन्ततः सिटीले नर्विचलाई ५-० ले हराउँदै काराबाओ कपको यात्रा अघि बढाएको हो। युवा तथा कम अवसर पाएका खेलाडीलाई मैदानमा उतारेको खेलमा सिटीले प्रभावशाली प्रदर्शन गर्दै अर्को चरणमा स्थान बनायो। अब सिटीले काराबाओ कपको अर्को चरणमा ब्राइटनसँग प्रतिस्पर्धा गर्नेछ।
प्रकाशित: २ आश्विन २०८३ ०९:०१ शुक्रबार





