नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई वेस्ट इन्डिजसँगको शृङ्खलाका अन्तिम २ खेलमा निलम्बन गरेको खुलासा गरेको छ। क्यानका सचिव पारस खड्काले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै पहिलो खेल सुरु हुनु ४५ मिनेट अघि मात्रै सन्दीपले खेल्दिनँ भनेर भनेको खुलाएका छन्।
‘टोलीमा समावेश क्रिकेट खेलाडी सन्दीप लामिछानेले उक्त प्रतियोगितामा सहभागी नभएको विषयलाई लिएर विभिन्न चासोका सन्दर्भमा नेपाल र वेस्ट इन्डिजबिचको राष्ट्रिय टोली बिच मिति सेप्टेम्बर २७ तारिखका दिन सञ्चालन गरिएको टी–२० सिरिजको पहिलो खेल सुरु हुनुभन्दा करिब ४५ मिनेट अघि सन्दीप लामिछानेले स्वयं उक्त खेल नखेल्ने निर्णय गरेकामा निजको उक्त निर्णयले टिम म्यानेजमेन्ट, खेलाडी एवं समग्र नेपाली क्रिकेटमै गम्भीर असर पर्न गएको हुँदा टिम म्यानेजमेन्टको सिफारिस अनुसार पहिलो खेल लगत्तै बाँकी २ खेल एवं नेपाल र वेस्ट इन्डिजबिचको टी–२० सिरिज अवधिभर निजलाई निलम्बन गरिएको ब्यहोरा अवगत गराउन चाहन्छु,’ सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
अब ओमानमा हुने टी–२० विश्वकप छनोटका लागि भने उनी टोलीमा समावेश हुनेछन् । नेपाली टोली ओमानका लागि प्रस्थान गरिसकेको छ।
प्रकाशित: १५ आश्विन २०८२ १९:३७ बुधबार





