कसैले पनि खेल्न नचाहेको फिफा विश्वकपको तेस्रो स्थानको खेल अन्ततः सबैले समाप्त नहोस् भन्ने चाहना राखेको खेल बन्यो। अमेरिकाको मियामीमा इङ्ल्यान्ड र फ्रान्सबिचको ‘ब्रन्ज फाइनल’ पूर्ण रूपमा रोमाञ्चक बन्न पुग्यो।
खेलमा कुल १० गोल भए, जसमध्ये ६ गोल इङ्ल्यान्डले गर्यो। अझ गोल संख्या यसभन्दा बढी पनि हुन सक्थ्यो। बुकायो साका विश्वकपको नकआउट चरणमा ह्याट्रिक गर्ने दोस्रो इङ्लिस खेलाडी बने। यसअघि सन् १९६६ को फाइनलमा सर जियोफ हस्र्टले यो उपलब्धि पाएका थिए। विश्वकपमा फ्रान्सविरुद्ध ह्याट्रिक गर्ने अर्को खेलाडी भने सन् १९५८ मा ब्राजिलका महान खेलाडी पेले हुन्।
इङ्ल्यान्डको पुरुष टोलीले सन् १९६६ मा विश्व विजेता बनेयता उत्कृष्ट नतिजा प्राप्त गर्यो। विदेशी भूमिमा भने इङ्लिस टोलीको अहिलेसम्मकै उत्कृष्ट विश्वकप हो। विश्वकप इतिहासकै सर्वाधिक गोल भएको तेस्रो स्थानको खेल पनि बन्यो। यसअघि सन् १९५८ मा फ्रान्सले पश्चिम जर्मनीलाई ६–३ ले हराएको खेलमा सबैभन्दा धेरै गोल भएको थियो।
विश्वकपमा आफूभन्दा माथिल्लो फिफा वरीयताको टोलीलाई पहिलोपल्ट सन् २००२ मा अर्जेन्टिनालाई हराएपछि इङ्ल्यान्डले यो नतिजा दोहोर्याएको हो। अर्जेन्टिनासँग सेमिफाइनलमा पीडादायी हारको इङ्ल्यान्डमा कुनै असर देखिएन। पहिलो हाफमै चार गोलको अग्रता लिँदै उसले सबै निराशाजनक अनुमानलाई उल्ट्याइदियो। १९३० यता फ्रान्स कुनै पनि खेलमा पहिलो हाफमै चार गोलले पछि पर्यो। पहिलो हाफपछि फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्प्सले आफ्ना खेलाडीलाई कडा निर्देशन दिए। यसपछि फ्रान्सको खेलमा सुधार देखियो। फ्रान्सको प्रशिक्षकका रूपमा यो उनको अन्तिम खेल पनि थियो। दोस्रो हाफमा फ्रान्सले केही उत्कृष्ट अवसर सिर्जना गर्यो। किलियन एमबाप्पेले दुई गोल गर्दै विश्वकपमा सबैभन्दा धेरै गोल (२२) गर्ने कीर्तिमानमा लियोनल मेसीलाई पछि पारेका थिए।
८७औं मिनेटमा जेड स्पेन्सलाई मालो गुस्टोले फाउल गरेपछि इङ्ल्यान्डले फ्रान्सको दबाब हटाउन सफल भयो। उक्त पेनाल्टीमा साकाले ह्याट्रिक पूरा गरे। इन्जुरी समयको छैटौं मिनेटमा उसमान डेम्बेलेले उत्कृष्ट कर्लिङ प्रहारमार्फत गोल गर्दै अन्तर ५–४ मा झारे। तर ९८औं मिनेटमा जुड बेलिङ्घमले फ्रान्सको रक्षापंक्ति पार गर्दै गोल गरेपछि इङ्ल्यान्डले ६–४ को अविस्मरणीय जित सुनिश्चित गर्यो। विश्वकप इतिहासमा पहिलोपल्ट एकै खेलमा फ्रान्सले ६ गोल बेहोरेको हो। कुनै खेलमा फ्रान्सले ६ गोल खाएको यो ६६ वर्षयताकै पहिलो घटना हो। बेलिङ्घमले सात गोलसहित विश्वकप समाप्त गरे। एकै संस्करणको विश्वकपमा कुनै पनि इङ्लिस पुरुष खेलाडी सर्वाधिक गोल गर्न सफल भए। ‘यो साँच्चै उत्कृष्ट खेल थियो, ’इङ्लिस पूर्वडिफेन्डर स्टेफन वार्नोकले भने,‘उत्कृष्ट शैलीको फुटबलमध्ये एक देख्यौं।’ पूर्वइङ्लिस मिडफिल्डर ड्यानी मर्फीले पनि मैदानमा असाधारण प्रतिभासँगै खेलमा सबै कुरा भएको प्रतिक्रिया दिए।
कसरी अगाडि बढ्यो यो अविश्वसनीय खेल
कप्तान ह्यारी केन बेन्चमा रहे पनि इङ्ल्यान्डले तेस्रो मिनेटमै गोलको खाता खोल्यो। कप्तानी सम्हालेका डिक्लेन राइसको टोली इङ्ल्यान्ड पहिलो हाफमा फ्रान्समाथि पूर्ण हाबी भयो। दुवै टोलीले रक्षापंक्तिमा प्रशस्त खाली ठाउँ छाडेका थिए।
एमबाप्पेले यस विश्वकपमा आफ्नो दशौं गोल गरे। त्यससँगै उनी गोलकर्ताको सूचीमा मेसीभन्दा अगाडि बढे र विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बने। सन् १९७० मा जर्मनीका गार्ड मुलरपछि पुरुष विश्वकपमा दोहोरो अंक (१०) मा गोल गर्ने उनी पहिलो खेलाडी बने। अर्जेन्टिनाविरुद्ध अग्रता लिएपछि पनि हार हुँदा प्रशिक्षक थोमस टुचेलले रणनीतिको व्यापक आलोचना भएको थियो। उनले यस खेलमा सात परिवर्तन गरे।
केन र बेलिङ्घमलाई बेन्चमा राख्दै विश्वकपभर फिटनेस समस्यासँग जुधेका साकालाई अवसर दिए तर इङ्ल्यान्डले पहिलो हाफमा आकर्षक प्रदर्शन गर्यो। दोस्रो हाफमा भने केही तनाव र कमजोरी देखिए पनि समग्रमा मनोरञ्जनपूर्ण खेल भयो। अर्जेन्टिनाविरुद्ध टुचेलले रक्षात्मक परिवर्तन रोजेका थिए तर यस खेलमा त्यस्तो संकेत देखिएन।
अन्ततः इङ्ल्यान्डले प्रमुख प्रतियोगिताको इतिहासकै सबैभन्दा अनौठो तर अत्यन्त मनोरञ्जनपूर्ण खेलमध्ये एकमा विजय हासिल गर्यो। यस खेलमा कुल ३८ प्रहार भए, जसमध्ये २० प्रहार लक्ष्यमा थिए। विश्वकपमा इङ्ल्यान्डको कुनै पनि खेलमा यसभन्दा बढी गोल भएको छैन।
डेसच्याम्प्स युगको अन्त्य
तेस्रो स्थानको खेल फ्रान्सका प्रशिक्षकका रूपमा डिडियर डेसच्याम्प्सका लागि १८७औं र अन्तिम खेल थियो। कीर्तिमानी २७औं विश्वकप खेलपछि डेसच्याम्सले फ्रान्ससँग लामो यात्रा टुङ्ग्याए। यसबिच उनले सन् २०१८ मा फ्रान्सलाई विश्वकप उपाधि पनि दिलाए।
अन्तिम खेलमा शीर्ष गोलकर्ता एमबाप्पे र सर्वाधिक असिस्टकर्ता माइकल ओलिसेलाई सुरुआती टोलीमा राख्दै डेसच्याम्प्सले सुखद बिदाइ चाहेका थिए। तर, नतिजा भने उनको पक्षमा रहेन। पहिलो हाफको निराशाजनक प्रदर्शनपछि दोस्रो हाफमा सुधार गरे पनि डेसच्याम्प्स हारबाट यात्रा टुङ्ग्याउन बाध्य भए।
सन् १९८२ पछि इङ्ल्यान्डसँग हार सामना गर्दै उनले फ्रान्ससँग सहकार्य पूरा गरे। आक्रमणमा फ्रान्स केही समय निकै खतरनाक देखियो तर इङ्ल्यान्डका गोलकिपर डिन हेन्डरसनले रायान चेर्की, एमबाप्पे र डेम्बेलेका प्रयासहरू उत्कृष्ट बचाए। ओलिसेले दुई अवसर गुमाए र गोलविहीन रहँदै विश्वकप समाप्त गरे। इङ्ल्यान्डलाई दबाबमा पारे पनि फ्रान्स अन्ततः अविश्वसनीय र रोमाञ्चक हार बेहोर्न बाध्य भयो।
विश्वकप इतिहासमा संयुक्त रूपमा पाँचौं सर्वाधिक गोल भएको खेल बन्यो। यसले सन् १९५८ मा फ्रान्सले पाराग्वेलाई ७–३ ले हराएको खेलको बराबरी गर्यो। सन् १९८२ मा हंगेरीले एल साल्भाडोरलाई १०–१ ले हराएयता विश्वकपमा यति धेरै गोल भएको यो पहिलो खेल हो।
प्रकाशित: ४ श्रावण २०८३ ०८:५२ सोमबार





