रौतहटको दुर्गा भगवती गाउँपालिका-३ मा सामाजिक सुरक्षा भत्ता वितरणमा व्यापक भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा अध्यक्ष र तत्कालीन निमित्त कार्यकारी अधिकृतसहित ४२ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
उमेरै नपुगेका व्यक्तिलाई ज्येष्ठ नागरिक र श्रीमान् जीवितै रहेका महिलालाई एकल महिला/विधवा भत्ता बाँडेर सरकारी रकम हिनामिना गरेको पुष्टि भएपछि आयोगले आइतबार आरोपपत्र दायर गरेको हो।
अख्तियारले वडा नं-३ का वडा अध्यक्ष धर्मेन्द्र कुमार झा र वडा सचिव उमेश चौधरीविरुद्ध जनही ३२ लाख २४ हजार १ रुपैयाँ बिगो दाबी गरेको छ।
यस्तै, गाउँपालिकाका तत्कालीन निमित्त कार्यकारी अधिकृत प्रमोद कुमार ठाकुरविरुद्ध २९ लाख ४४ हजार १ रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरिएको छ। अन्य प्रतिवादीहरूमा गैरकानुनी रूपमा भत्ता लिने स्थानीय र तिनका हकवालाहरू रहेका छन्।
अनुसन्धानका क्रममा वडा कार्यालयले बैंकिङ प्रणाली लागू हुनुपूर्व र लागू भएपछि समेत आपसी मिलेमतोमा आवश्यक कागजात बिना नै गैरकानुनी रूपमा जेष्ठ नागरिक र विधवा भत्ता वितरण गरेको पाइएको छ।
आर्थिक वर्ष २०७४/०७५ देखि २०८१/०८२ सम्म योग्यता नपुगेका व्यक्तिहरूलाई सरकारी अभिलेखमा लाभार्थी कायम गरी दोहोरो स्रेस्ता खडा गरेर रकम हिनामिना गरिएको अख्तियारले जनाएको छ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार वडा कार्यालयले नियमविपरीत सामाजिक सुरक्षा भत्ता व्यवस्थापन सूचना प्रणालीमा समेत झुटा विवरण प्रविष्टि गरी कुल ३२ लाख २४ हजार १ रुपैयाँ बराबरको सार्वजनिक सम्पत्ति हानि-नोक्सानी गरेको पुष्टि भएको छ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७, ९ र ११ बमोजिम कसुर पुष्टि भएकाले प्रतिवादीहरूबाट बिगो असुलउपर गरी जरिवाना र कैद सजायको मागदाबीसहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
प्रकाशित: ४ श्रावण २०८३ १९:५० सोमबार





