१८ आश्विन २०८३ आइतबार
image/svg+xml
खेल

भारतमाथि ब्राजिलको ४-० को सानदार जित

फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा विश्वविजेता ब्राजिलले घरेलु टोली भारतमाथि ४-० गोल अन्तरको एकतर्फी र सानदार जित दर्ता गरेको छ।

शनिबार राति कोलकातास्थित साल्ट लेक स्टेडियममा सम्पन्न खेलमा ब्राजिललाई फराकिलो जित दिलाउन दोस्रो हाफमा सामुएल लिनोले दुई गोल गरे।

पहिलो हाफमा २-० को अग्रता लिएको ब्राजिलका लागि ५८औं मिनेटमा सामुएल लिनोले तेस्रो गोल गरेका थिए।

भारतीय डिफेन्डर बिजोय वर्गीसको रक्षात्मक गल्तीको फाइदा उठाउँदै लिनोले सब्सिच्युट गोलकिपर प्रभसुखन गिललाई बिट गर्दै सहज गोल गरे।

त्यसपछि इन्जुरी समयको अन्तिमतिर लिनोले दायाँ खुट्टाले उत्कृष्ट स्क्रिमर प्रहार गर्दै ब्राजिलको ४-० को जित सुनिश्चित गरे।

घरेलु मैदानमा समर्थन पाएको भारतले दोस्रो हाफमा गोल फर्काउने केही राम्रा अवसरहरू सिर्जना गरे पनि फिनिसिङमा चुकेको थियो।

खेलको ६७औं मिनेटमा मनवीर सिंहले काउन्टर अट्याकमा बल अगाडि बढाउँदै रायन विलियम्सलाई उत्कृष्ट पास उपलब्ध गराएका थिए। तर, पेनाल्टी बक्सभित्र अनमार्क रहेका विलियम्सले बललाई पोस्टको दिशा दिन सकेनन्।

यसअघि पनि भारतको एउटा निश्चित गोललाई ब्राजिलियन खेलाडी माउरोले गोललाइनबाट शानदार बचाउ गर्दै घरेलु टोलीलाई निराश पारेका थिए।

खेलको पहिलो हाफमै ब्राजिलले २-० को अग्रता बनाएर भारतलाई दबाबमा राखेको थियो। खेलको २८औं मिनेटमा एस्टेभाओको गोलबाट खाता खोलेको ब्राजिलका लागि पहिलो हाफको अन्त्यतिर पेड्रोले दोस्रो गोल थपेका थिए।

भारतीय टोलीका कप्तान तथा गोलकिपर गुरप्रित सिंह सन्धुको गल्तीको फाइदा उठाउँदै पेड्रोले गोल गरेका थिए।

पहिलो हाफमा फितलो प्रदर्शन गरेपछि दोस्रो हाफमा गोलकिपर गुरप्रितको स्थानमा प्रभसुखन गिल मैदान प्रवेश गरेका थिए।

प्रकाशित: १७ आश्विन २०८३ २१:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App