१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
खेल

विराटनगरको कीर्तिमानी जित, चितवनको उत्कृष्ट पुनरागमन

<br>

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो दिन पनि रोमाञ्चक र कीर्तिमानी खेलहरूसँगै धमाकेदार सुरुवात भयो।

दिनको दोस्रो खेलमा विराटनगर किंग्सले प्रतियोगिताकै इतिहासमा सर्वाधिक ठूलो स्कोर खडा गर्दै सानदार जित दर्ता गर्‍यो भने पहिलो खेलमा चितवन राइनोजले उत्कृष्ट पुनरागमन गर्दै विजयी सुरुवात गर्‍यो।

ब्याट्सम्यानहरूको दबदबा रहेको दिनमा विराटनगरका लोकेश बम र मार्टिन गुप्टिल तथा कर्णालीका प्रियंक पञ्चालले सानदार ब्याटिङ प्रदर्शन गरे।

बाम र गुप्टिलको तुफानमा पोखरा निरीह

दिनको दोस्रो तथा सबैभन्दा चर्चित खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सविरुद्ध २२० रनको विशाल योगफल खडा गर्दै एनपीएलकै इतिहासमा कीर्तिमान रच्यो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै यो विशाल स्कोर तयार पारेको थियो। यो कुनै पनि फ्रेन्चाइज टोलीले बनाएको हालसम्मकै उच्च स्कोर हो।

विराटनगरको इनिङ्सको मुख्य आकर्षण लोकेश बाम र न्युजिल्यान्डका स्टार ब्याट्सम्यान मार्टिन गुप्टिलबीचको विस्फोटक साझेदारी रह्यो।

यी दुईले दोस्रो विकेटका लागि मात्र ७३ बलमा १३२ रनको सानदार साझेदारी गर्दै पोखराका बलरहरूलाई निरीह साबित गरे।

बामले ४८ बलमा ६ चौका र ७ गगनचुम्बी छक्कासहित सर्वाधिक ७२ रन बनाए भने गुप्टिलले मात्र ३५ बलमा ३ चौका र ५ छक्काको मद्दतले ६१ रनको आक्रामक पारी खेले।

उनीहरूको यो साझेदारी तोड्न पोखराका बलरहरूलाई हम्मेहम्मे परेको थियो। गुप्टिल १३.५ ओभरमा आउट हुँदासम्म विराटनगरले खेललाई आफ्नो पक्षमा पारिसकेको थियो।

त्यसपछि पनि विराटनगरका ब्याट्सम्यानहरू रोकिएनन्। शुभम रन्जानेले अविजित रहँदै मात्र १६ बलमा ३८ रनको विस्फोटक पारी खेल्दै टोलीको स्कोरलाई २२० रनको ऐतिहासिक आँकडामा पुर्‍याए।

खेलपछि संचारकर्मीसँग कुराकानी गर्दै विराटनगरका कप्तान सन्दीप लामिछानेले टस हार्नुका बाबजुद टोलीले उत्कृष्ट प्रदर्शन गरेको सुनाए।

‘आजको खेल निकै चुनौतीपूर्ण थियो, विशेषगरी टस हार्दा त्यसले ठूलो भूमिका खेल्छ। तर, हाम्रा ब्याट्सम्यानहरूले जसरी खेले, त्यो अविश्वसनीय थियो,’ उनले भने।

कुशल भुर्तेलको एक्लो सङ्घर्ष

२२१ रनको असम्भव जस्तै देखिने लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सका लागि कप्तान कुशल भुर्तेलले एक्लो सङ्घर्ष गरे। आक्रामक सुरुवात गर्ने रणनीति बनाएको पोखराले दोस्रो ओभरमै पहिलो विकेट गुमाएको थियो। तर, तेस्रो नम्बरमा क्रिजमा आएका भुर्तेलले विस्फोटक ब्याटिङ गर्दै मात्र ३१ बलमा ४ चौका र ५ छक्कासहित ५९ रन बनाए।

उनले एडम रोसिङ्टनसँग मिलेर पावरप्लेमा राम्रो सुरुवात दिलाएका थिए। ‘हामीले सुरुमा राम्रो गरिरहेका थियौं, एडम र मैले राम्रो सुरुवात दिलाएका थियौं र लक्ष्य पूरा गर्छौं भन्ने सोच थियो,’ कप्तान भुर्तेलले भने, ‘एडमसँगको साझेदारी अझै लामो भएको भए खेल अर्कै मोडमा जान सक्थ्यो।’

तर, एउटा छेउबाट भुर्तेलले रन बनाइरहँदा अर्को छेउबाट नियमित अन्तरालमा विकेट झरिरह्यो। विशेषगरी, विराटनगरका कप्तान सन्दीप लामिछानेले एकै ओभरमा जेम्स नीशम र त्रित राज दासलाई शून्य रनमा पेभेलियन फर्काएपछि पोखरा पूर्ण रूपमा दबाबमा आएको थियो। अन्ततः पोखराको पूरै टोली लक्ष्यभन्दा टाढै रह्यो।

‘आज हाम्रो पहिलो खेल थियो, दर्शकहरूले पनि दरिलो साथ दिनुभयो। पहिलो खेल भएकाले टोली अलिकति नर्भस भयो जस्तो लाग्छ। हामी अर्को खेलमा बलियो पुनरागमन गर्नेछौं,’ भुर्तेलले हारपछि प्रतिक्रिया दिए।

पञ्चालको सानदार ब्याटिङ छायामा, बोपाराको अर्धशतकमा चितवनको विजयी सुरुवात

दिनको पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गर्‍यो। कर्णालीका ओपनर प्रियंक पञ्चालको सानदार ९० रनको पारीका बाबजुद चितवनले रवि बोपाराको अर्धशतकीय पारीको मद्दतले लक्ष्य सहजै पूरा गर्‍यो।

टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा मात्र ३ विकेट गुमाएर १६६ रनको सम्मानजनक योगफल खडा गरेको थियो। उसका लागि पञ्चालले उत्कृष्ट ब्याटिङ गर्दै ९० रन बनाए। तर, अन्य ब्याट्सम्यानबाट अपेक्षित साथ नपाउँदा कर्णालीले विशाल स्कोर बनाउन सकेन।

खेलपछि कर्णालीका कप्तान सोमपाल कामीले ब्याटिङमा करिब २० रन कम भएको स्वीकार गरे। ‘आज हामी ब्याटिङकै कारण हार्न पुग्यौं जस्तो लाग्छ। समग्रमा खेल राम्रै खेलेका थियौं, तर हामीले करिब २० रन जति कम बनायौं,’ उनले भने।

१६७ रनको लक्ष्य पछ्याएको चितवनका लागि अनुभवी अलराउन्डर रवि बोपाराले संयमित र महत्त्वपूर्ण पारी खेले। उनले ३६ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ५२ रन बनाए। दीपक बोहराले पनि ४२ रनको महत्त्वपूर्ण योगदान दिए।

चितवनका मुख्य प्रशिक्षक कलाम अलीले पहिलो खेलमै राम्रो सुरुवात गर्न सकेकोमा खुसी व्यक्त गरे। ‘हाम्रो आज पहिलो खेल थियो र सुरुको खेलमै हामीले राम्रो सुरुवात गर्न सक्यौं,’ उनले भने, ‘लक्ष्य प्रतिस्पर्धी थियो, तर हामीले सफलतापूर्वक पछ्याउन सक्यौं।’

प्रकाशित: २ मंसिर २०८२ २२:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App