नेपाली राष्ट्रिय महिला कबड्डी टोलीकी कप्तान मानमती विष्टले भारतमा हुने दोस्रो महिला कबड्डी विश्वकपमा पदक जितेर फर्कने बताएकी छन्।
हरियाणा सहरस्थित मोरमाजरामा आगामी अगस्ट ३ देखि १० सम्म महिला विश्वकपको दोस्रो संस्करण हुँदै छ। यसै विश्वकपमा पदक जितेर फर्कने नेपाली महिला कबड्डी टोलीकी कप्तान मानमतीले बताएकी हुन्। नेपालले यसै विश्वकपको तयारीका लागि घरेलु भूमिमा बंगलादेशसँग पाँचदिवसीय अभ्यास खेल पनि खेलेको थियो।
उक्त अभ्यास शृंखलामा नेपालले ३–२ ले शृंखला जितेको थियो। त्यसपछि नेपालले इरानको तेहरानमा गत वर्ष फागुनमा छैटौं एसियन महिला कबड्डी च्याम्पियनसिप खेलेको थियो। यस प्रतिस्पर्धामा नेपालले कांस्य पदक जितेको थियो। यी प्रतियोगिताले विश्वकपका लागि राम्रो तयारी मिलेको कप्तान मानमतीले बताइन्।
कप्तान मानमतीले जुनियर र सिनियर खेलाडी दुवै टोलीमा बाहुल्यता रहेको र टोली पनि राम्रो बनेकाले आगामी विश्वकपमा राम्रो प्रदर्शन हुने आशा व्यक्त गरेकी छन्। यसका लागि नेपालले पछिल्लो आठ महिनादेखि तयारी गरिरहेको उनको भनाइ छ। यसबीच मिसन–२०२६ को पनि तयारीमा रहेकाले टोली लयमा रहेको कप्तान मानमतीको विश्वास छ।
एसियाका कुल ४७ राष्ट्रमध्येबाट विश्व वरीयतामा तेस्रो स्थानमा रहेको नेपाल पनि छनोट हुँदै १३ वर्षपछि हुन लागेको महिला विश्वकपमा सहभागी हुन लागेको हो। यस विश्वकपमा नेपालसहित भारत, युगान्डा, जर्मनी, चाइनिज ताइपेई, नेदरल्यान्ड्स, जन्जिबार, इरान, जापान, पोल्यान्ड, केन्या, अर्जेन्टिना र थाइल्यान्ड गरी कुल १३ राष्ट्रले प्रतिस्पर्धा गर्दै छन्।
यसमध्ये सबैभन्दा बलियो टोली भारत रहेको कप्तान मानमतीको भनाइ छ। पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता र घरेलु प्रतियोगिता पनि भएकाले टोलीका सबै खेलाडीहरू राम्रो लयमा रहेको उनी बताउँछिन्। त्यसैले पनि स्वर्ण जित्ने आशासहित विश्वकपमा प्रदर्शन गर्ने कप्तान मानमतीको लक्ष्य छ।
कम्तीमा रजत पदक जितेर फर्कने उनको विश्वास छ। नेपाली टोलीका प्रशिक्षक विष्णुदत्त भट्टले आठ महिनाको बन्द प्रशिक्षणले तयारी राम्रो भएको उल्लेख गर्दै पदक जित्नेमा आशावादी रहेको बताए। विश्वकपमा सहभागी हुन नेपाली टोली शनिबार भारतको हरियाणा जाने भएको छ। यो टोली १४ खेलाडीसहित १८ सदस्यीय छ।
मानमतीको कप्तानीमा रहेको नेपाली टोलीमा जयन्ती बडु (उपकप्तान), मेनुकाकुमारी राजवंशी, रविना चौधरी, मीना नेपाली, गंगा घिमिरे, आशिका कुँवर, सृजनाकुमारी थारु, सृजना धानुक, मनीषा जोशी, उरुषा शाक्य, आस्मा यादव, विनीता पण्डित क्षेत्री र सन्जु थामी रहेका छन्। प्रशिक्षकमा विष्णुदत्त भट्ट र सहायक प्रशिक्षकमा हरिना थापा छन्।
टोलीको व्यवस्थापकमा शरद दर्शनधारी र निर्णायकमा रमेशचन्द्र ओझा छन्। राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापा र राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले शुक्रबार एक कार्यक्रमबीच नेपाली टोलीलाई बिदाइ गरेका थिए।
सो अवसरमा सदस्यसचिव घिसिङले महिला खेलाडीको ग्राफ उकालो लाग्दै गएको उल्लेख गर्दै एसियाली प्रतियोगितामा पनि पदक जित्दै महिला कबड्डी टोली दक्षिण एसियामा मात्र सीमित छ भन्ने भ्रमलाई चिर्न सफल भएको बताए। निर्देशक विष्टले देशका लागि केही गर्छु भन्ने भावनाका साथ प्रतिस्पर्धा गर्ने बताउँदै पदक जितेर आउन शुभकामना दिए। यो विश्वकपअघि नेपाली टोलीले मोरमाजरामै १२ दिनको अवधिमा प्रशिक्षणका साथै स्थानीय पाँच क्लबसँग अभ्यास खेल पनि खेल्नेछ। यो विश्वकपको पहिलो संस्करण सन् २०१२ मा भारतको पटनामा भएको थियो। विश्वकपको दोस्रो संस्करण १३ वर्षपछि हुन लागेको हो।
प्रकाशित: ३ श्रावण २०८२ ०६:४९ शनिबार





