जापानमा अपाङ्गता भएका व्यक्तिको शिविर बाहिर भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते भएको प्रहरीले शुक्रबार जनाएको छ।
उनलाई अचेत अवस्थामा अस्पताल लगिएको छ। हालैको वर्षमा जापानको आवासीय क्षेत्रमा धेरै जङ्गली भालु देखा परेका छन्, जसको परिणामस्वरूप आक्रमण र मृत्युको सङ्ख्या बढ्दै गएको छ।
उत्तरी अकिता क्षेत्रको एक स्थानीय प्रहरी प्रवक्ताले एएफपीसँग भने, ‘बिहीबार राति अस्पतालको प्रवेशद्वारमा ७३ वर्षीया एक महिला टाउकोमा चोट लागेको अवस्थामा फेला परेकी थिइन्।’
आपतकालीन चिकित्सकले ती महिलालाई लागेको चोटको आधारमा भालुको आक्रमण भएको हुन सक्ने प्रहरीलाई बताएका छन्।
सुरक्षा क्यामेराको फुटेजमा भालुजस्तो देखिने जनावरले फोहोरको झोला बोकेर हिँडिरहेकी ती महिलामाथि आक्रमण गरेको देखिएको उनले बताए। चिकित्सकको अनुसार ‘चोटको कारण उनी बोल्न सकिरहेकी थिइनन् र अस्पताल पुर्याउँदा उनी अचेत थिइन्।’
सरकारी तथ्याङ्कअनुसार सन् २०२५ को मार्चमा समाप्त भएको वर्षमा भालुले ८५ जनालाई आक्रमण गरेको थियो जसमा तीन जनाको मृत्यु भएको थियो। अघिल्लो वर्ष २१९ वटा आक्रमणमा छ जनाको मृत्यु भएको थियो।
भालु बस्तीमा बारम्बार देखिन थालेपछि अकिता क्षेत्रले गत हप्ता भालुको आक्रमणको उच्च जोखिम रहेको भन्दै सेप्टेम्बरसम्म भालुबाट सावधानी अपनाउन चेतावनी दिने निर्णय गरेको थियो।
‘कृपया आधारभूत प्रतिकारात्मक उपाय अपनाउनुहोस् र उच्च स्तरको सावधानी राख्नुहोस्,’ अकिताको प्रशासनले बासिन्दालाई सार्वजनिक स्तरमा सूचना जारी गरी चेतावनी दिएको छ।
गत महिना गल्फ प्रतियोगिताको क्रममा भालु देखापरेपछि आयोजकले पहिलो दिनको प्रतियोगिता नै रद्द गरेको थियो। गत जुनमा धावनमार्गमा घुमिरहेको भालुले यामागाटा विमानस्थललाई उडान रद्द गर्न बाध्य बनाएको थियो।
जलवायु परिवर्तनको कारण खाद्य स्रोत र ‘हाइबरनेसन’को समयलाई प्रभावित गर्नुका साथै वृद्ध उमेर समूहको समाजको कारण हुने जनसङ्ख्या ह्रासको कारण भालु सहरमा पस्न थालेको वैज्ञानिकले बताएका छन्। एएफपी
प्रकाशित: १६ श्रावण २०८२ १५:४४ शुक्रबार





